Showing posts with label Earthquak in Kathmandu. Show all posts
Showing posts with label Earthquak in Kathmandu. Show all posts

Friday, May 1, 2015

गत शनिबारको भुकम्पमा परि विश्व सम्पदामा सूचीकृत ९० प्रतिशत सम्पदा ध्वस्त

 महाभूकम्पमा परी विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदामध्ये ९० प्रतिशत ध्वस्त भएका छन्। पुरातत्त्व विभागले गरेको प्रारम्भिक सर्वेक्षणले काठमाडौं उपत्यकाभित्रका यस्ता पुरातात्त्विक सम्पदाहरू ध्वस्त भएको देखाएको हो। विभागका महानिर्देशक भेषनारायण दाहालले शनिबार आएको महाभूकम्पबाट अधिकांश पुरातात्त्विक सम्पदाहरूमा ठूलो असर परेको बताए। 
उनले बिहीबार अन्नपूर्णसँग भने, 'विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा र स्मारकहरू ९० प्रतिशत ध्वस्त भएको प्रारम्भिक सर्वेक्षणले देखाएको छ। सर्वेक्षणले दिएको चर्किएकादेखि पूर्णध्वस्त भएका सबैको विवरण हेर्दा विगतमा गरिएको कल्पनाभन्दा धेरै गुणा बढी क्षति भएको छ।'
 
विश्वकै आकर्षणका रूपमा रहेको नौ तले धरहरा, काष्ठमण्डप, दसैं घरको शिव मन्दिर, बुङमति ललितपुरको रातो मच्छिन्द्रनाथ लगायत छन्। 
हनुमान ढोका दरबार संरक्षित स्मारक क्षेत्रभित्र पूर्णरूपमा भत्किएर ध्वस्त भएका सम्पदाहरूमा नौ तले दरबारको माथिल्लो चार तला, काष्ठमण्डप, माजुदेवल, कृष्ण मन्दिर (च्यासिंगदेग), दस अवतार नाच देखाउने त्रैलोक्यमोहन नारायण मन्दिर, प्रताप मल्लको सालिक (प्रतापध्वज), लक्ष्मीनारायण मन्दिर, विश्वम्भरेश्वर मन्दिर, कागेश्वर मन्दिरको माथिल्लो तला, तलेजु प्रवेशद्धारको शिव मन्दिर, देगुतलेजुको कौसीभन्दा मुनिको भाग, विष्णु मन्दिर, भगवती मन्दिर (वसन्तपुर कालिका मन्दिर), महादेव मन्दिर, दसैंघरको शिव मन्दिर (जसबाट नागपोखरीमा समेत क्षति), ढुकुटीको चारवटा सेन्ट्री, लौहचोकको भक्तपुर टावर रहेका छन्। 
महाभूकम्पमा परी ललितपुरमा हरिशंकर मन्दिर, चारनारायण मन्दिर, मणिमण्डप सोह्रखुट्टे पाटी, योगनरेन्द्र मल्लको सालिक, सोठ टोलमा रहेको राधाकृष्ण मन्दिर र गाबहालको कृष्ण मन्दिर पनि पूर्ण रूपमा ध्वस्त भएका छन्। 
 
भक्तपुरमा भने लौह चोकको भक्तपुर टावर, चाँगुनारायण मन्दिरको किलेश्वर महादेव मन्दिर, सोही स्थानको अमात्य सत्तल र चारैतिरका सत्तल पूर्ण रूपमा ध्वस्त भएका छन्।
 
ऐतिहासिक चाँगुनारायण मन्दिरको चारैतिर चर्केकर भत्कने अवस्थामा पुगेको छ भने वरपरका सबै सत्तल अधिकांश भत्किएका छन्। सत्तल भत्केर छिन्नमस्ता मन्दिरका पुजारी प्रचण्ड कर्माचार्यकी आमा पुरिएर मृत्यु भएको थियो। 'कुनै पनि निकायले मन्दिर र सत्तल भत्केकोबारे चासो देखाएका छैनन्' चाँगुनारायणका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले अन्नपूर्णसित भने।
काठमाडौंमा गद्दी बैठक, नगरा घर, हनुमान ढोका दरबारको पूर्वी र दक्षिण लङ, नौतले दरबारसँगैको भवन, सुन्दरी चोक, मोहनकाली चोकका अधिकांश भागहरू, नासल चोकको पश्चिम दक्षिणको लङ, त्रिभुवन संग्रहालय भवन, पञ्चमुखी हनुमान, आगांछे मन्दिर, मूलचोकको दक्षिणी लङमा आंशिक क्षति भएको छ भने तलेजु मन्दिरको गजुर खसेको छ।
 
पशुपति क्षेत्रका विश्वरूप मन्दिर, सोको पूर्वतिरका पार्टी र उत्तरतर्फका सत्तलहरू, गुहेश्वरी मन्दिर, जयबागेश्वरी मन्दिर, किँरातेश्वर सत्तल, आर्यघाटको सेतो शिवालय, पञ्चदेवल, जितजंग प्रकाशेञ्चरको मन्दिर र सत्तल, शंकराचार्य मन्दिर र आश्रम, महास्नान घर, शंखनारायण सत्तल, मृत्युञ्जय महादेव मन्दिर, ताम्रेश्वर महादेव मन्दिर, गोरखनाथ मन्दिर, भण्डार घर, चन्द्रेश्वर सत्तल, राम मन्दिर, लक्ष्मीनारायण मन्दिर, पुलपारीको घाट पसल भएको सत्तल, अनन्तनारायण मन्दिर र मूर्ति, पञ्चगणेश, भष्मेश्वर चोकका तीन शिवालय र उदासी अखडा आंशिक रूपमा क्षतिग्रस्त भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। 
स्वयम्भूको अनन्तपुर, शान्तिपुर, प्रतापपुरको जग, देवधर्म महाविहार र मुख्य चैत्य चर्किएका छन् भने आसपासका थुप्रै निजी घर ध्वस्त भएका छन्। यसैगरी काठमाडौंकै तलेजु मन्दिर, कुमारी घर, महाविष्णु मन्दिर, शिवपार्वती मन्दिर र कविन्द्रपुर सत्तल पनि चर्किएका छन्।
 
भक्तपुरको चाँगुनारायण मन्दिर चर्किएको छ भने छेउको सेतो गुम्बा ध्वस्त भएको छ। भक्तपुर दरबार क्षेत्रका न्यातपोल मन्दिर, केदारनाथ मन्दिर, बत्सला मन्दिर, केदारनाथ मन्दिर, लालबैठक, हरिशंकर सत्तल र फसिदेग पनि चर्किएका छन्। 
 
ललितपुरस्थित चर्किएका मन्दिर, मठ र सत्तलहरूमा चारनारायण मन्दिर, शंकरनारायण मन्दिर, मूलचोकको तलेजु मन्दिर, सुन्दरी चोक, शंखमूलस्थित जगतनारायण मन्दिर, बागमती किनाराका मन्दिर र सत्तलहरू र थापाथलीस्थित हेमहिरण्य मन्दिर रहेका छन्। 
 
विभागका महानिर्देशक दाहालले विश्व सम्पदामा सूचीकृत भएर पूर्णरूपमा ध्वस्त भएकादेखि चर्किएका सम्मका सबै सम्पदाबारे जानकारी गराइसकिएको बताए। उनले भने, 'युनेस्कोले आवश्यक दक्ष जनशक्तिका साथै आपतकालीन सहयोग सहयोग गर्ने जानकारी दिएको छ।'
 
हनुमानढोका दरबार हेरचाह अड्डाकी प्रमुख सरस्वती सिंहले हनुमानढोका क्षेत्रका सम्पदाहरू कतिपय चिराचिरा परेर पल्टिन लागेको बताइन्।
पल्टिन लागेका र अन्य धराप सम्पदाहरूलाई ढाल्नु पर्ने बताउँदै उनले भनिन्, 'पृथ्वीनारायण शाहले उपत्यका विजय गरिसकेपछि नौ तले दरबार बनाएका थिए, ९० सालको महाभूकम्पमा भत्किएर जुद्ध शमशेरले पुननिर्माण गरेको माथिल्लो चार तला यसपटक खसेको हो।
 
'उनले नासल चोकभित्र जान सकिने अवस्था नरहेको पनि जानकारी दिइन्। विभागले यी सबै संरचना पुन: निर्माण गर्न सातदेखि १० वर्षसम्म लाग्ने जनाएको 
छ I 
(अन्नपुर्ण पोष्टबाट साभार)

लोकप्रिय समाचार