Showing posts with label Pashupatinath and earthquake. Show all posts
Showing posts with label Pashupatinath and earthquake. Show all posts

Thursday, April 30, 2015

पशुपतिनाथलाई अहिले सम्म आएका ठुला ठुला भुकम्पहरुले असर पुराउन नसक्नुको कारणहरु

शनिबार गएको महाभूकम्पले काठमाडौंसहित करिब आधा नेपाल क्षतविक्षत बनायो । पाँच हजार बढी मानिसले ज्यान गुमाए । १० हजार बढी मानिस घाइते भए । लाखौं मानिस घरबार गुमाउन बाध्य भए ।शनिबार भूकम्पको झट्काले काठमाडौं र पशुपति मन्दिर आसपासमा वितण्डा मच्चाइरहँदा पशुपतिनाथको मन्दिर भने जस्ताको तस्तै खडा थियो । जुन बेला काठमाडौंमा भूकम्पले ताण्डब मच्चायो, सो समयमा पशुपतिनाथ मन्दिर परिसरमा सयौं भक्तजन दर्शन गरिरहेका थिए ।

पशुपतिनाथ परिसरमा रहेका भक्तजनले काठमाडौंको धर्ति काँपिरहँदा भोलेनाथले आफूहरुलार्इ नयाँ जिन्दगी दिएको प्रतिक्रिया दिएका छन् ।भूकम्पबाट पशुपतिनाथ जोगिएको यो पहिलो पटक होइन । वि.स. १९९० सालमा गएको ८.३ म्याग्निच्यूटको भूकम्प जाँदा पनि पशुपतिनाथको मन्दिरमा कुनै असर परेन ।

त्यसभन्दा अघि आएका करिब ४ वटा ठूला भूकम्पले पनि पशुपतिनाथको मन्दिरमा कुनै क्षति गर्न सकेन । वि.सं. १९९० सालको भूकम्पले धरहरासहितका काठमाडौंका अधिकांश मठमन्दिर ढलेका थिए । तर त्यसबेला पनि पशुपतिनाथको मन्दिरमा कुनै क्षति पुगेन ।

भूकम्पले काठमाडौंका देवीदेवताका सयौं मन्दिर र संरचना ध्वस्त भए । तर, काठमाडौंकै पशुपतिनाथको मन्दिरमा भूकम्पले अलिकति पनि क्षति पुर्याउन सकेन । भूकम्पले सुन्धाराको नौतले धरहरा पनि माटोमा मिल्यो । बसन्पुरमा रहेका काष्ठमण्डप, माजुदेवल, जोशीदेवल, कृष्ण मन्दिर, शिव मन्दिर, तलेजु भवानीको मन्दिर, पाटनका मन्दिर र साँखुका सबै मठमन्दिर ध्वस्त हुँदा पनि पशुपतिनाथको मन्दिरमा कुनै क्षति भएन ।

पशुपतिनाथको मन्दिर र केदारनाथको मन्दिर
भगवान पशुपतिनाथको मन्दिरमा सानो क्षति पनि नपुगेको देखेर धेरै मानिस आश्चर्यमा परेका छन् । यसअघि सन् २०१३ मा भारतको उत्तराखण्डमा आएको भीषण बाढी पहिरोमा केदरनाथको मन्दिरलार्इ क्षति नपुर्याएजस्तै यो पटक पशुपतिनाथको मन्दिर पनि त्यसैगरी जोगिएको छ ।

जुन २०१३ मा आएको प्रलयकारी बाढी पहिरोले भारतको उत्तराखण्डस्थित केदारनाथ आसपासको क्षेत्र सबै ध्वस्त भयो । तर, मन्दिरमा कुनै क्षति पुगेन ।

यो पटकको भूकम्पमा पशुपतिनाथसँग भएको यस्तै अद्भुत संयोगबारे सोच्न बाध्य पारेको छ । यी दुबै मन्दिरले यति ठूलो प्राकृतिक विपत्ति कसरी झेल्न सके ? यो प्रश्नको उत्तरको खोजीमा विज्ञहरुसमेत लागेका छन् ।

७.९ म्याग्निच्यूटको भूकम्ले धरहरा र अन्य दरबारसहितका ऐतिहासिक महत्वका संरचना ध्वस्त बनायो । पशुपतिनाथको मन्दिरमा भने कुनै क्षति नपुग्दा यसलार्इ कतिपयले चमत्कारकै रुपमा लिइरहेका छ्न् ।

काठमाडौंकै सबैभन्दा पुरानो मानिने पाँचौ शताब्दीको पशुपतिनाथ मन्दिर भूकम्पपछि पनि जस्ताको तस्तै खडा छ । भूकम्पपछि यो मन्दिरको पटक पटक निरीक्षण गर्दा यसमा कुनै क्षति नभएको पाइयो । आसपासका संरचना भूकम्प र पहिरोले क्षतविक्षत पार्दा यी दुर्इ मन्दिर कसरी जोगिए होलान् ? सबैको जिज्ञासाको विषय बनेको छ । सबैभन्दा पहिले काठमाडौंको पशुपतिनाथको चर्चा गरौं ।

पशुपतिनाथको मन्दिरको गर्भगृह करिब एक मिटर अग्लो पर्खालमाथि बनाइएको छ । मन्दिरको चार सुरको अधिकतम भागको निर्माणमा काठको प्रयोग गरिएको छ । पशुपतिनाथमा चारवटा ढोका रहेका छन् ।

पशुपतिनाथको मन्दिर प्रतस्थापित गरिएको ठाउँमा चुम्बकीय तरंग धेरै घना रहेको छ। शिवलिङ्ग यस्तो स्थानमा राखिएको छ, जहाँ चुम्बकीय तरङ्गको न्यूक्लियर सेन्टर रहेको विज्ञहरुको भनाइ छ ।

पशुपतिनाथको गजुरको केन्द्र शिवलिङ्गको केन्द्रको सिधामाथि पर्ने गरी स्थापित गरिएको छ । यीनै कारणले भूकम्पको असर धेरै कम हुने गरेको छ ।

मन्दिरको मिलेको चौकोस, हलुंगो छत, काठबाट जोडिएको खम्बा र बलियो जोडार्इका कारण यो मन्दिरलार्इ भूकम्पले केही गर्न नसकेको अर्को तर्क छ । मन्दिरको बाहिरी स्वरुप प्राकृतिक विपत्तिले कयौं पटक क्षति गरेपनि यसको गर्भगृह पौराणिक कालदेखि आजसम्म सम्पूर्णरुपमा सुरक्षित रहेको छ ।

यस्तो छ पशुपतिनाथको गर्भगृह
ज्योतिर्लिङ्ग केदारनाथको किम्बदन्ती अनुसार पाण्डवको स्वर्गप्रयाणका क्रममा भगवान शंकरले पाण्डवहरुलार्इ भैंसीको रुप धारण गरेर दर्शन दिएका थिए । त्यसपछि भगवान शंकर धर्तिमा समाहित भएका थिए ।

त्यसक्रममा भीमले उनको पुच्छर पक्रन पुगे । जुन स्थानमा धर्तीबाहिर उनको पुच्छर अड्कियो, सो स्थान केदारनाथका रुपमा कहलियो । अर्कातिर जहाँ धर्तिबाहिर उनको मुख प्रकट भयो, त्यो स्थान पशुपतिनाथका नाममा कहलियो । यो कथाको पुष्टि स्कन्दपुराणले पनि गरेको छ ।

पशुपतिनाथको गर्भगृहमा एक मिटर अग्लो चारमुखी शिव लिङ्ग स्थापित गरिएको छ । शिवलिङ्गको प्रत्येक मुखाकृतिको दायाँ हातमा रुद्राक्षको माला र बायाँ हातमा कमण्डलु बोकिएको छ ।

प्रत्येक मुखले अलग-अलग गुण देखाउँछन् । पहिलो दक्षिण मुखलार्इ अघोर भनिन्छ । दोस्रो पूर्व मुखलार्इ तत्पुरुष भनिन्छ । तेस्रो उत्तर मुखलार्इ अर्धनारिश्वर वा वामदेव भनिन्छ । चौथो पश्चिमी मुखलार्इ साध्योजटाले पुकारिन्छ । माथिल्लो भागको निराकार मुखलार्इ ईशान भनिन्छ ।

मान्यतानुसार पशुपतिनाथ चतुर्मुखी शिवलिङ्गलार्इ चारधाम र चार वेदको प्रतिक मानिन्छ । यहाँ भैंसीको रुप धारण गरेका भगवान शिवको शिरभाग रहेको छ । जसको पुच्छरको भाग भारतको उत्तराखण्डस्थित केदारनाथ मन्दिरमा रहेका छन् ।

काठमाडौंको बागमती नदी किनारमा अवस्थित शुपतिनाथको मन्दिर सनातनधर्मका आठ सर्वाधिक पवित्र स्थलमध्ये एक रहेको छ । नेपाल र भारतका हिन्दू धर्मावलम्बीका लागि पशुपतिनाथ कति धेरै आस्था राख्छन् भन्ने कुराको यहाँ चर्चा गर्नै पर्दैन ।

भूकम्प गएकै दिन पनि धेरै भक्तजन पशुपतिनाथ मन्दिरको दर्शन गर्न पुगेका थिए । अहिले पनि पशुपतिको दर्शन गर्न जाने भक्तजन उत्तिकै छन् ।भूकम्प पीडित नेपालीहरु शक्ति र आशिष माग्दै पशुपतिनाथमा पुग्ने क्रम रोकिएको छैन ।

(अन्नपुर्ण पोष्टबाट साभार)

लोकप्रिय समाचार