Showing posts with label Nepal earthquake. Show all posts
Showing posts with label Nepal earthquake. Show all posts

Monday, May 11, 2015

महानायक राजेश हमालले एक अर्ब ६० करोड रुपैयाँ बराबरको राहत सामाग्री जुटाए

अभिनेता राजेश हमालको पहलमा एक अर्ब ६० करोड रुपैयाँ बराबरको राहत सामाग्री गएराति अमेरिकाबाट नेपाल आइपुगेको छ ।
अमेरिकी संस्था डाइरेक्ट रिफिलले ६० टन औषधी एवं मेडिकल उपकरण फेडएक्स कार्गो जहाजबाट त्रिभुवन विमानस्थल ल्याएको हो । गएराति हमालले ती सामान बुझे । 

नेपालको सामाजिक संस्था पोसिबलको संयोजनमा शनिबार र आइतबार ती सामाग्री नेपाल ल्याइएको हो । राहत बुझ्न हमाल स्वयम विमानस्थल पुगेका थिए । 

डाइरेक्ट रिफिलका अध्यक्ष एवं अध्यक्ष थोमस तिघे आफै नेपाल आएका छन् । पोसिबलका एसके कलौनीका अनुसार दुबै उडानका लागि लागेको सात करोड रुपैयाँ भाडा फेडएक्स नेपालका भुकम्प पीडितका लागि निःशुल्क गरिदिएको हो । 

Wednesday, May 6, 2015

नेपाली आकाशमा बिना अनुमति ड्रोन (मानवरहित विमान) उडान गर्नेलाई कारवाही गरिने

 

भूकम्पले विपत निम्तिएको मौका छोपेर नेपाली आकाशमा बिना अनुमति ड्रोन (मानवरहित विमान) उडान गर्नेलाई कारवाही गरिने भएको छ ।

मानवरहित विमानले नेपालको बहुमूल्य सम्पदाको तस्वीर लिने तथा गलत सन्देश प्रभावित गर्ने गर्ने काम भइरहेको सूचना प्राप्त भएको भन्दै नागरिक उड्डयन प्राधिकरणले ड्रोन उडानमा रोक लगाएको हो ।

भूकम्पले विपत निम्तिएको अवस्थामा केही दिनदेखि नेपाली आकाशमा अनधिकृत रुपमा ड्रोन उडान गराई निषेधित क्षेत्रको सूचना तथा तथ्याङ्क संकलन गर्ने काम गरेको भन्दै नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक सूचनामार्फत ध्यानाकर्षण गराएको छ ।

अध्ययन अनुसन्धान प्रयोजनको लागि नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृतिमा प्राधिकरणबाट उडान अनुमति लिई राज्य राज्यले निषेधित भने तोकेका क्षेत्रबाहेक प्राधिकरणले तोकेको हवाइ क्षेत्र र शर्तहरुका अधीनमा रहेर मात्रै ड्रोन उडान गर्न प्राधिकरणले आग्रह गरेको छ ।

बिनाअनुमति ड्रोन उडान गरे नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा २५ को उपदफा ३ बमोजिम कारबाही हुने प्राधिकरणले जनाएको छ ।


Thursday, April 30, 2015

नेपालमा भुकम्प पिडितहरुको लागि बलिवुड र हलिवुड सेलिब्रेटीहरुको सहयोग

 

बिपत्तिमा परेका बेला सधै ठूलो सहयोग जरुरी पर्दैन् । कहिलेकाहीं मायाका दुई शब्दले पनि मानिसलाई ठूलो राहत महसुस हुन्छ । बलिउड कलाकारहरुले पनि नेपालमा परेको यो बिपत्तिप्रति आ-आफ्नो ठाउँबाट साथ दिने कोसिस गरेका छन् ।

बलिउडकी कान्छी स्टार आलिया भट्टले त यतिबेला सहयोग रकम संकलन अभियान नै थालेकी छिन् । उनले एक लाख भारतीय रुपैयाँ जम्मा गर्ने उद्देश्यसहित सामाजिक संजालमा सहयोग रकम संकलन अभियान थालेकी थिइन्, तर एकै दिन उनले अपेक्षा गरेभन्दा धेरै उठ्यो ।

बलिउड अभिनेता अमिताभ बच्चन र अक्षय कुमारले पनि सहयोगका लागि अग्रसरता देखाएका छन् । अमिताभले ट्वीट गर्दै आफूले सहयोग गर्न चाहेको तर सहयोग रकम जम्मा गर्ने आधिकारिक ठेगाना थाहा नभएको भन्दै सहयोग मागेका छन् ।

अक्षय कुमारले आफ्नो नयाँ फिल्मको पहिलो दिनको कमाई नेपालाई सहयोग गर्ने भन्ने भनाई सत्य नभएको भन्दै यस्तो पवित्र कार्यमा सहयोग गर्न फिल्म रिलिज कुर्नु नपर्ने बताएका छन् ।

आफू निर्माता नभएकाले फिल्मको कमाई दिने निर्णय आफूमा निहित नभएको भन्दै उनले आफू नेपाललाई सहयोग गर्न अग्रसर रहेको बताएका छन् ।

यस्तै प्रियंका चोपडाले नेपालका भूकम्पका तस्वीर हेरेर स्तब्ध भएको भन्दै सहयोगका लागि अपिल गरेकी छिन् ।

बलिउड अभिनेता बरुण धवनले प्रत्येक भूकम्प पीडित वालवालिकालाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

हलिउड अभिनेत्री एवं गायिका सेलेना गोमेजले भूकम्प पीडित नेपाली वालवालिकालाई सहयोग गर्न आग्रह गरेकी छिन् । राष्ट्रसंघीय नियोग युनिसेफको कार्यमा हातेमालो गर्न उनले अपिल गरेकी छिन् ।

गत वर्ष उनी नेपाल आएकी थिईन् । नेपालगञ्ज र दाङ घुमेकी सेलेना वालवालिकाको क्षेत्रमा काम गर्दै आएकी छिन् ।


लोकप्रिय समाचार