Saturday, July 4, 2015

नेपाली क्रिकेट टिमले ब्याटिङ्मा सुधार गर्नुपर्ने : दासनायाके

आगामी साता सुरु हुने टीट्वेन्टी विश्वकप छनोट क्रिकेटका लागि नेपालको तयारी अन्तिम चरणमा पुगेको छ। उक्त प्रतियोगिता जुलाई ९ देखि आयरल्यान्ड र स्कटल्यान्डमा सुरु हुँदैछ।

प्रतियोगितामा सहभागी हुने १४ टोलीमध्ये ६ टोली आगामी मार्च÷अप्रिलमा भारतमा हुने टीट्वेन्टी विश्वकपमा सहभागी हुनेछन्। नेपालले पनि यो प्रतियोगिता खेल्ने लक्ष्य राखेको छ।

तर छनोट प्रतियोगिताअघि यसमा सहभागी हुनेमध्येको एक नेदरल्यान्ड्ससँग खेलेको चार खेलको टीट्वेन्टी अन्तर्राष्ट्रिय शृंखला नेपालले गुमाएको छ। लगातार तीन खेलमा पराजित भएपछि नेपाली टोलीले एक खेल खेल्न बाँकी रहँदै शृंखला गुमाउने पक्का भएको थियो।

नेपालको हारमा धेरै कमजोर ब्याटिङमै देखियो। कुनै खेलमा टोली सहज स्थितिमा हुँदा पनि ब्याट्सम्यानले आवश्यक प्रहार गर्न सकेनन्। कुनै खेलमा लगातार विकेट गुमाएर टोली दबाबमा आयो। छनोट प्रतियोगिता अघि भएको यो ‘अफिसियल शृंखला’मा भएको प्रदर्शनपछि नेपाली टोलीबाट के आशा राख्ने?

नेपाली टोलीका प्रशिक्षक पुबुदु दासानायके यस विषयमा सकारात्मक छन्। उनी टोलीले सुधार गरिरहेको बताउँछन्। ‘टिमले सुधार गर्दै लगेको छ, यो मुख्य कुरा हो’ अन्नपूर्णसँग भएको कुराकानीमा दासानायकेले भने। तर उनी ढुक्क भने छैनन्।

नेदरल्यान्ड्ससँगको शृंखला हार र यसमा भएको प्रदर्शनले उनले ब्याटिङमा धेरै सुधार गर्नुपर्ने महसुस गरेका छन्। उनी नेपाली ब्याट्सम्यानले आवश्यकता अनुसार खेल्न नसकेको बताए । ब्याट्सम्यानले सम्हालिएर आवश्यकता अनुसार ब्याटिङ गर्नुपर्ने उनले महसुस गरेका छन्। ‘ब्याट्सम्यानले स्थितिअनुसार खेल्न सक्नुपर्छ।

ब्याट्सम्यानमा यही आवश्यकता छ अहिले’, दासानायकेले भने प्रारम्भिक ब्याट््सम्यानले नै राम्रो प्रदर्शन गर्न नसकेको उनको भनाइ छ । ‘प्रारम्भिक जोडीले राम्रो सुरुवात गर्नु आवश्यक छ।

यसमा सुधार गर्नु जरुरी छ’, उनले भने। छनोट प्रतियोगिताअन्तर्गत नेपालले समूहगत चरणमा आयरल्यान्ड, हङकङ, पपुआन्युगिनी, नामिबिया, अमेरिका र जर्सीसँग प्रतिस्पर्धा गर्नेछ। त्यसअघि हुने ‘वार्मअप’ खेलमा नेपालले ओमान र यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टोली व्यवस्थापकविहीन
टीट्वेन्टी विश्वकप छनोटमा टिम व्यवस्थापक कसलाई बनाउने भन्ने विषयमा देखिएको विवादको असर यतिबेला नेपाली टोलीलाई पर्न सक्ने देखिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले टिम व्यवस्थापकका रूपमा सिफारिस गरेका नरेश श्रेष्ठले अझैसम्म प्रवेशाज्ञा पाएका छैनन्। सुरुमा कर्मचारी छुम्मी लामालाई म्यानेजरका रूपमा सिफारिस गरिए पनि अन्तिम समयमा आएर क्यानको साधारणसभाले उनको स्थानमा नरेश श्रेष्ठलाई पठाउने निर्णय गरेको थियो।

छुम्मीको प्रवेशाज्ञा प्रक्रिया अन्तिम अवस्थामा पुगेको बेला एकाएक श्रेष्ठलाई सिफारिस गरिएको थियो। यसपछि इङ्ल्यान्डमा भएको अभ्यास खेल र नेदरल्यान्ड्समा भएको टीट्वेन्टी शृंखलामा नेपाली टोली व्यवस्थापकविहीन रह्यो।

क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्यले श्रेष्ठको प्रवेशाज्ञा कुरेर बसेको बताए। ‘टीट्वेन्टी विश्वकप छनोट सुरु हुन अझै केही दिन बाँकी छ। हामी श्रेष्ठको प्रवेशाज्ञा कुरेर बसेका छौं।

तत्काल अन्य विकल्पबारे सोचिएको छैन’कर्माचार्यले भने। नेदरल्यान्ड्समा टोली व्यवस्थापनमा टेक्निकल एनालिस्टको रूपमा जिम्मा पाएका रमन शिवाकोटीले सहयोग गरेको कर्माचार्यले बताए।
यसैगरी टिम लिडरको रूपमा जाने भनिएका क्यानका कार्यवाहक अध्यक्ष दीपक कोइराला पनि यतिबेला नेपालमै छन्।

स्रोतका अनुसार उनी टीट्वेन्टी विश्वकप छनोटमा सहभागी हुन जानेबारे अन्योल नै छ। यही प्रतियोगितामा जानका लागि उनी महत्वपूर्ण मानिने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को वार्षिक साधारणसभामा समेत सहभागी हुन गएका थिएनन्।


No comments:

Post a Comment

लोकप्रिय समाचार