अमेरिकी मुक्केबाज फ्लोयड मेवेदर जुनियरले जितेको वेल्टरवेट उपाधि विश्व बक्सिङ संगठन (डब्लूबीओ)ले फिर्ता लिएको छ।
३८ वर्षीय मेवेदरले दुई महिनाअघि फिलिपिन्सका चर्चित मुक्केबाज मानी पाक्विओलाई हराउँदै सो उपाधि हात पारेका थिए। मेवेदरले निर्धारित समयभित्र डब्लूबीसीलाई तोकिएको शुल्क बुझाउन नसकेपछि उपाधि फिर्ता लिइएको जनाइएको छ।
शुल्क बुझाउन मेवेदरलाई गत शुक्रबारसम्मको समय दिइएको थियो। मेवेदरले डब्लूबीओलाई दुई लाख अमेरिकी डलर शुल्क बुझाउनुपर्ने थियो।
गत मे २ मा लस भेगासमा भएको मेदर र मानीबीचको भिडन्तलाई विश्व बक्सिङकै इतिहासमा सर्वाधिक धनराशिको भिडन्तको संज्ञा दिइएको थियो।
उक्त भिडन्तबाट २२ करोड अमेरिकी डलर कमाइ भएको थियो। मेवेदर जुनियर विभिन्न पाँचवटा तौल समूहका विश्व च्याम्पियन हुन्।
उपाधि खोसिएपछि मेवेदरले युवा खेलाडीलाई अवसर दिन आफूले स्थान रिक्त गरिदिएको बताएका छन्।
'नयाँ खेलाडीले पनि अवसर पाउनुपर्छ, त्यसैले मैले युवा पुस्तालाई उपाधि जित्ने मौका दिएको हुँ', उनले भने। मेवेदरको उपाधि खोसिएपछि अब उक्त बेल्ट अर्का अमेरिकी मुक्केबाज टिमोथी ब्राड्लीलाई दिइने भएको छ।
ब्राड्लीले गत जुन २७ मा भएको भिडन्तमा आफ्नै राष्ट्रका जेसी भार्गसलाई हराएका थिए।डब्लूबीओको नियमअनुसार कुनै पनि भिडन्तपछि मुक्केबाजले निश्चित रकम शुल्क तिर्नुपर्ने हुन्छ।
यसैगरी डब्लूबीओ च्याम्पियनले अन्य तौलसमूहको उपाधि पनि राख्न नपाउने प्रावधान छ।
मेवेदरको नाममा अहिले डब्लूबीसी र डब्लूबीएको जुनियर मिडलवेट तथा वेल्टरवेट उपाधि पनि रहेको छ।
'विश्व बक्सिङमा मेवेदर चर्चित नाम हो तर उनले दुई लाख डलर शुल्क बुझाएनन्।
त्यसैले अब उनी डब्लूबीओ च्याम्पियन पनि रहेनन्', डब्लूबीओले भनेको छ ।
(Annapurna Post)
No comments:
Post a Comment