‘बर्ड डिटेक्सन राडार’ भनिने यो प्रविधि विमानस्थलमा जडान गरेपछि चराहरुको गतिविधि पाइलटले सजिलै थाहा पाउँछन् र हवाइ उडान सुरक्षित हुनसक्छ ।
नेपाली आकाश विश्वमै असुरक्षितको सूचीमा परेकोबेला अत्याधुनिक यो प्रविधि खरिदका लागि टेन्डर खोल्ने प्रक्रिया अघि बढाइएको छ ।
‘अहिले डकुमेन्टहरु तयार पार्दैछौं सम्भवतः यही चैत महिना भित्र टेन्डर खुल्छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रवन्धक वीरेन्द्रप्रसाद श्रेष्ठले अनलाइनखबरसँग भने, ‘६-७ महिना भित्र नेपाल ल्याइसक्छौं ।’
के गर्छ यो प्रविधिले ?
यो एक प्रकारको राडार हो । यसमा भर्टिकल र होरिजेन्टल राडार हुन्छ । यसमा क्यामरा पनि जडान गर्न मिल्छ । यसले १० देखि ११ किलोमिटर टाढाका चरालाई ‘डिटेक्ट’ गर्छ र पाइलटलाई जानकारी हुन्छ ।
‘कुन चरा हो, कत्रो छ ? कतातिर फर्केको छ, कहाँ बसेको/उडेको छ भन्ने सबै कुरा यो मेसिनले डिटेक्ट गर्छ,’ श्रेष्ठले भने, ‘अनि पाइलटलाई विमान उडाउन सहज हुन्छ ।’
यस्तो प्रविधि विकसित भनिएका सबै मुलुकका सबै विमानस्थलमा समेत छैन । छिमेकी मुलुक भारतमा सेनाको एयरपोर्टमा प्रयोगमा आएको छ । यसैगरी जापानका तीनवटा विमानस्थलमा यो प्रविधि प्रयोग गरिएको छ ।
९६ पटक ठोक्कियो चरा
विश्वमै चरा ठोक्किनु विमान दुर्घटनाको मुख्य कारण मानिन्छ । २०४६ सालदेखि हालसम्म नेपालमा करिब ९६ पटक चरा ठोक्किएको तथ्यांक नागरिक उड्डयन प्राधिकरणसँग छ । तिमध्ये आधा भन्दा धेरै त्रिभुवन विमानस्थल नजिकै चरा ठोक्किएका छन् ।
पछिल्लोपटक चैत ८ गते थाई एयरको बोइङ ७७७ विमान अवतरणको क्रममा चरा ठोक्किएको थियो । सौभाग्य नै मान्नुपर्छ ठूलो दुर्घटना भने भएन । चरा ठोक्किएर ०६९ असोज १२ गते सबैभन्दा ठूलो दुर्घटना भयो । त्रिभुवन विमानस्थल नजिकै मनोहरा खोला किनारमा चरा ठोक्किएर सिता एयरको विमान दुर्घटना हुँदा १३ विदेशीसहित १९ जनाको मृत्यु भएको थियो ।
यस्ता छन् चरा भगाउने उपाय
त्रिभुवन विमानस्थल वरपर चरा धपाउन छुट्टै कर्मचारीको व्यवस्था गरिएको छ । त्यसबाहेक ५ जना शिकारी परिचालन गरिएको छ । कर्मचारीहरुले टावरबाट हेर्ने र चरा देख्नेबित्तिकै सो ठाउँमा पुगेर धपाउने गर्दछन् । साथै शिकारीले विमानस्थलमा आएका चरालाई बन्दुकले हानेर मार्छन् ।
यी मानवीय साधन बाहेक बिभिन्न प्रविधि पनि प्रयोगमा आएका छन् । वर्ड स्केयरिङ, ‘अल्ट्रासोनिक साउन्ड, एलपी ग्यास क्यानन्स, ‘स्केयर क्रो’, ‘वर्ड गार्ड’लगायतका प्रविधि विमानस्थलमा प्रयोग गरिन्छ ।
‘अल्ट्रासोनिक साउन्ड डिभाइस’ले विभिन्न थरिका आवाज निकाल्छ र ति आवाज सुनेर चरा भाग्छन् । यसले बन्दुक पड्केको जस्तो आवाजसमेत निकाल्छ । यसैगरी एलपी ग्यास क्यानन्समा टाईमिङ सेट गर्न मिल्छ र त्यही समयमा तोप पड्केको जस्तो आवाज निस्किन्छ ।
तर, यो परम्परागत तरिका प्रभावकारी हुन सकेको छैन । ‘यस्तो आवाज सुन्दा सुन्दा चरालाई पनि बानि पर्दोरैछ,’ श्रेष्ठले भने, ‘सर्टेन डेजपछि चराले पचाइसक्छ र भाग्दै भाग्दैन । यस्तो अवस्थामा शिकारी प्रयोग गर्नुको विकल्प हुँदैन ।’
फोहोरले समस्या
नागरिक उड्डयन नियमावली २०५८ मा विमानस्थलबाट ३ किलोमिटर वरपर मासुजन्य पदार्थ किनबेच गर्न, वधशाला खोल्न, मासुजन्य पदार्थ वा फोहोर फाल्न नपाउने स्पष्ट व्यवस्था छ ।
तर, काठमाडौं उपत्यकामा लामो समयसम्म फोहोर उठ्न सक्दैन । त्यतिमात्रै होइन काठमाडौंमा नाम चलेका मःमः र सेकुवा कर्नर बिमानस्थलको गेटै अगाडि खुलेआम चलिरहेका छन् । यसले नियमावलीको खिल्ली उडाएको छ र काठमाडौंको आकाशलाई थप असुरक्षित बनाएको छ ।
No comments:
Post a Comment