भारतको हिन्दी फिल्म उद्योग बलिउडले अमेरिकाको हलिउडजस्तो बन्ने सपना देखेको धेरै वर्ष भइसक्यो। त्यही सपनाका कारण होला, बलिउडले धेरै चीजमा हलिउडको नक्कल गर्छ। यसरी बलिउडले कपी गर्नेमा सबभन्दा पहिलो नम्बरमा पर्छ, हलिउड फिल्मका कथा। पछिल्ला वर्षमा बलिउडले कपी गर्ने चक्रमा भने केही फरक आएको छ। पहिले बलिउडले सोझै हलिउडबाट कपी गर्थ्यो।
अहिले हलिउडबाट दक्षिण भारतीय फिल्मले कपी गर्छन्, अनि बल्ल त्यो कथा बलिउड आइपुग्छ। यो साताको फिल्म दृश्यम् पनि त्यस्तै हो। सिंघमजस्तै यो पनि संस्कृत नाम भएको दक्षिण भारतीय फिल्मको रिमेक हो। यी दुवैमा नायक अजय देवगन छन्। तर पनि यी दुई फिल्ममा निकै ठूलो फरक छ। सिंघम अजयको स्टारडम र केही एक्सन स्टन्टलाई ग्लोरिफाई गर्ने लाउड फिल्म थियो। दृश्यम् त्यस्तो छैन। 'दृश्यम' चाहिँ हलिउड होइन, जापानी उपन्यास र फिल्म हुँदै भारत आइपुगेको हो।
फिल्मको मध्यसम्म पुग्दा यसमा कुनै चमत्कार देखिँदैन। न हिरोले केही गरिरहेको जस्तो लाग्छ, न कुनै भिलेनले। यस्तो लाग्छ, एउटा साधारण मानिसको सामान्य दिनचर्यालाई खिचेर देखाइएको छ। तर, तपाईं ढुक्क हुनुहोस्, यो सामान्यपन नै फिल्मको शक्ति हो। जब कथा अप्ठ्यारो घुम्तीमा पुग्छ, अनि पहिलेका यी सबै सामान्य गतिविधिको अर्कै अर्थ आइपुग्छ।
दृश्यम् थ्रिलर हो, मडर मिस्ट्री। आजसम्म धेरै उपन्यास र फिल्ममा रहस्यमय हत्याको कथा लेखिएको छ। ती प्राय: हत्या कसले गर्यो होला भन्ने प्रश्नमा घुम्छन्। दृश्यममा पनि एउटा रहस्यमय हत्या छ तर यसको प्रश्न हत्यारा को भन्ने होइन। चार कक्षा फेल, सानो केबल टीभी सञ्चालक विजय साड्गावकर यो कथाको हिरो हो। रात–रातभर अफिसमा बसेर टीभीमा फिल्म हेर्ने बानी लागेको यो गवार मान्छेले परेका बेला कसरी आफ्नो दिमाग चलाउँछ भन्ने कुरा फिल्मले देखाउँछ।
र, सबभन्दा बढीचाहिँ आफ्नो परिवारलाई जोगाउन मानिसले के–केसम्म गर्न सक्छ भन्ने यसले देखाउँछ। साथै आफ्नो हराएको छोराको खोजी गरिरहेका बाबुआमा र प्रहरीको कथा पनि यसमै जोडिन्छ। निसिकान्त कामतको यो फिल्म मलयालममा यसै नाममा बनेको फिल्मको रिमेक हो। थ्रिलरमा जहिले पनि सबभन्दा महत्त्वपूर्ण हुन्छ, लेखन। प्राय: थ्रिलरको हाई प्वाइन्ट कथाको गन्तव्य होइन, त्यहाँसम्म पुग्ने यात्रा हो।
पात्र कुनै स्थितिमा पुग्नु होइन, कसरी त्यहाँ पुग्छ भन्ने हो। दृश्यम्मा त्यो ट्रिक गजबको छ। तपाईंलाई फिल्मले धेरै ठाउँमा आश्चर्यमा पार्न सक्छ। यस्ता फिल्मको विशेषता दर्शकलाई कथामा अल्झाइराख्नु हो। दर्शकलाई यस्तो लागोस् कि उसले कथा बुझिरहेको छ, यसपछि के हुन्छ भन्ने दर्शकले अनुमान पनि लगाओस्। र, त्यो एउटा विन्दुसम्म मिल्दै जान्छ। तर, अन्तिममा त्यसले सोच्दै नसोचेको ट्वीस्ट लिन्छ। अनि त्यो अचम्म र आश्चर्यले दर्शकलाई रोमाञ्च प्रदान गर्छ। फिल्मले भन्छ, मान्छेको सबभन्दा बलियो सम्झना भनेको दृश्य हो। जे देखियो त्यो कुरा मानिसले प्राय: बिर्सिंदैन। सुनेको कुरा बिर्सिन सकिन्छ, तर देखेको भुल्न गाह्रो हुन्छ, चाहे त्यो गलत होस्, नक्कली होस् वा बनावटी नै किन नहोस्।
यही सिद्धान्तको भरमा यो फिल्मको पटकथा लेखिएको छ। दर्शकलाई फिल्मको कथा पनि पहिल्यै थाहा हुन्छ। तर, त्यसको अन्त्य कसरी हुन्छ भनेर जिज्ञासु बनाइराख्न यो फिल्म सफल छ। फिल्मको लेखन र निर्देशन सबभन्दा बलियो पक्ष हो। सुरुमा अति सामान्य र पट्यारलाग्दो वर्णनलाई विस्तारै हाई भोल्टेज थ्रिलर बनाउने निर्देशकको खुबी प्रशंसायोग्य छ। तर, यो जापान र मलयालम फिल्म हुँदै आएकाले लेखन निर्देशनका सबल पक्षको जस उता पनि जान्छ।
बलिउडका दुई शक्तिशाली कलाकार अजय देवगन र तब्बुको अभिनय यसको अर्को विशेषता हो। दुई दशक अगाडि यी दुईले विजयपथमा रोमान्टिक जोडीका रूपमा अभिनय गरेका थिए। तब्बुको पहिलो हिट फिल्म त्यही थियो। त्यसपछि पनि हकिकतदेखि तक्षकसम्म यी जोडी थिए। दृश्यम्मा भने यी आमने–सामने छन्। यी दुईले किशोरकिशोरीका बाबुआमाका रूपमा अभिनय गरेका छन्।
यी दुईको टकराव हेर्न लायक छ। पछिल्लो समयमा अजय देवगनले खेलेका फिल्मका कारण उनको छवि सिंघम टाइपको एक्सन स्टारको छ। तर, यसमा उनी प्रहरीद्वारा निर्मम ढंगले पिटिने सामान्य मानिसको भूमिकामा छन्। उनको छविका कारण उनी मिसकास्ट लाग्न सक्छन्। धेरै समयपछि इन्टेन्स भूमिकामा देखिएका उनी प्रभावशाली छन्। गोलमाल र सन अफ सरदार टाइपका फिल्मका बीचमा अभिनेता अजय हराएर स्टारको उदय भएको थियो।
दृश्यम्मा अजय पूरा नै कोट लगाएर फर्किएका छन्। उनको यो रूपमा दर्शकलाई निराश गर्दैन। बलिउडमा कुनै अप्ठ्यारो, अधेड उमेरको, ननग्ल्यामरस भूमिका आइपुग्यो भने त्यसमा सम्झिइने पहिलो अभिनेत्री हुन्, तब्बु। हालैको फिल्म हैदरमा पनि तब्बु अप्ठ्यारो भूमिकामा थिइन्। दृश्यम्मा पनि उनको भूमिका त्यस्तै छ। उनको अभिनय यसमा पनि गजब छ। श्रेया शरणको भूमिका जस्तै अभिनय पनि सामान्य लाग्छ।
-एजेन्सी
No comments:
Post a Comment