६ अगस्ट १९४५ का दिन बिहानैदेखि जापानको हिरोशिमा सहरको आकाश सफा थियो । सहरबासीका लागि त्यो बिहानी अन्य दिनकै सरह थियो । मानिसहरु दैनिक कामकाजमा व्यस्त हुँदै थिए । उनीहरुलाई पत्तो थिएन– केही क्षण मै हिरोशिमा र यस सहरका बासिन्दाको अस्तित्व खतरामा पर्दैछ ।
इतिहास लेखिन बाँकी नै थियो तर त्यसको आधार अमेरिकामा तयार भइसकेको थियो । दोस्रो विश्वयुद्धका क्रममा अमेरिकाका तल्कालिन राष्ट्रपति हेरी ट्रुमेनले एउटा गोप्य अभियान अन्तर्गत जापानमा परमाणु बम खसाल्ने अनुमति दिइसकेका थिए ।
बिहान २ः४५ मा अमेरिकी वायुसेनाको बमवर्षक विमान बी–२९ ‘एनोला गे’ ले उडान भर्यो । जापानलाई लक्षित गर्दै सो विमान पश्चिमतर्फ प्रस्थान गर्यो ।
हिसोशिमाका लागि जुन बम पठाइएको थियो, पूर्व अमेरिकी राष्ट्रपति रुजवेल्टको सन्दर्भमा त्यसलाई ‘लिटिल ब्वाय’ का नामले चिनिन्थ्यो ।
‘बी–२९’ मा उक्त बमलाई लोड गर्दा त्यो आफैंमा सक्रिय थिएन । उक्त बममा बारुद भर्न बाँकी नै थियो । बमको सर्किट पनि पुरा भइसकेको थिएन ।
‘एनोला गे’ विमानका चालक दलमा सामेल १२ जनामा पाउल डब्ल्यू तिब्बेत्स, सहचालक थियोडोर, जे वान किर्क र शस्त्र अधिकारी मोरिस जेप्सन पनि थिए ।
जेप्सन ती व्यक्ति हुन्, जसको हातमा ‘लिटिल ब्याय’ अन्तिम अवस्थासम्म थियो । उनले आफ्ना चालक दलका सदस्य डिक पार्सनसँग मिलेर चार ठूला ब्यागमा रहेका बारुद सो बममा भरेका थिए । त्यसपछि जेप्सनले ‘लिटिल ब्वाय’ मा प्लग लगाएर त्यसलाई सक्रिय तुल्याए ।
हिरोशिमा एउटा यस्तो बन्दरगाह थियो जो जापानी सेनाका लागि अत्यावश्यक बस्तु उपलब्ध गराउने केन्द्र बनेको थियो । यो सहर सामरिक दृष्टिले निकै महत्वपूर्ण थियो । यही सहरबाट जापानी सेनाको संचारतन्त्र संचालित थियो ।
हिरोशिमामा बिहानको सवा आठ बजेको थियो । ‘एनोला गे’ ले ‘लिटिल ब्याय’लाई आकाशबाट खसाल्यो । ‘एनोला गे’ का पाइलट तिब्बेत्सले भने, ‘धेरै कुरा यस्तो थियो, जो कि कल्पना पनि गर्न सकिदैंन । बम खसालिसकेपछि केही सेकेन्डमात्र मैले पछाडी फर्किएर हेरेँ, त्यसपछि म आफ्नो बाटो लागेँ ।’
उनका अनुसार धुँवाको बादल र तीब्र गतिमा फैलिदैं गरेको आगोले पुरै सहर ढाकेको दृष्य आकाशबाट प्रष्ट देखिन्थ्यो । यसरी केही मिनेटमै हिरोशिमामा सबैकुरा निर्जन भइसकेको थियो ।
अमेरिकी राष्ट्रपति ट्रुमेनले एक घोषणामा भने, ‘केहीबेर अघि अमेरिकी एउटा विमानले हिरोशिमामा एउटा बम खसालेर दुश्मन पक्षलाई ठूलो क्षति पुर्याएको छ । त्यो बम २० हजार टन टीएनटी क्षमताको थियो र अहिलेसम्म प्रयोगमा ल्याइएको सबैभन्दा ठूलो बमको तुलनामा दुई हजार गुणा अधिक शक्तिशाली थियो ।’
उनले भने, ‘यो बमका रुपमा हामीलाई हतियारको शृंखलामा एउटा नयाँ क्रान्तिकारी विध्वंसक हतियार प्राप्त भएको छ, जसले हाम्रो सेनालाई थप शक्तिशाली बनाएको छ । यतिबेला त्यस्तो बमको उत्पादन भइरहेको छ । साथै योभन्दा पनि बढी खतरनाक बम बनाउने काम भइरहेको छ । यो परमाणु बम हो, जसमा ब्रम्हाण्डको शक्ति छ । यस वैज्ञानिक उपलब्धि हासिल गर्नका लागि हामीले दुई अर्ब डलर खर्च गरेका छौं ।’
जापानी स्कूलकी एक छात्रा जिन्को क्लाइन हिरोशिमाको रेलवे स्टेशनमा आफ्ना केही साथीसँग बसिरहेकी थिइन् । उनी बसेको स्थानको नजिकै परमाणु बम खसेको थियो ।
क्लाइन भन्छिन्, ‘मैले एउटा ठूलो विस्फोटको आवाज सुनेँ, मलाई ठूलो दबाब महसुस भयो । मेरो आँखा पोल्न थाल्यो, केही समयका लागि म बेहोस भएँ । जब मलाई होस आयो, आकाश पुरै कालो भइसकेको थियो । चारैतिरबाट मद्दतका लागि आवाज आइरहेको थियो । मलाई श्वास लिन गाह्रो भइरहेको थियो, म पनि चिच्याउन थालेँ ।’
भाग्दै उनी एउटा पहाडी क्षेत्रमा पुगिन् । त्यहाँ प्रशस्त शव थिए, घाइतेहरु चिच्याइरहेका थिए । घाइते र शवका बिस्कुनबीच उनी भौंतारिइरहेकी थिइन् ।
साँझ करिब पाँच बजे उनी आफ्ना आमाबुवालाई भेट्टाउन सफल भइन् । बाटोभरी जलेका शव, नदीमा पनि शव तैरिइरहेको उनले देखेकी थिइन् । बम खस्दा सहर बाहिर रहेका कारण उनको पिता सकुशल थिए तर आमा पूर्ण रुपमा घाइते थिइन् । केही दिनमै उनको शरीरमा विकिरणको असरले फोका देखिन थाल्यो भने कपाल पनि झर्न थाल्यो ।
६ अगस्ट १९४५ मा हिरोशिमामा जो थिए, उनीहरु या त मरिसकेका थिए भने जो बँचेका थिए, उनीहरुमाथि रेडियो विकिरणको नराम्रो असर परेको थियो । यो एउटा यस्तो असर थियो, जो आगामी पिढीसम्म देखिने निश्चित थियो ।
‘लिटिल ब्वाय’ हिरोशिमाको वायुमण्डलमा विस्फोट हुँदा १३ वर्ग किलोमिटर क्षेत्रलाई ध्वस्त बनाएको थियो । सहरको ६० प्रतिशतभन्दा बढी भवन नष्ट भएका थिए । त्यतिबेला जापानमा यो हमलामा मारिने नागरिकको आधिकारिक संख्या एक लाख १८ हजार ६ सय ६१ बताइएको थियो । तर पछि गरिएको एक अनुमान अनुसार हिरोशिमाको कुल तीन लाख ५० हजार जनसंख्यामध्ये एक लाख ४० हजार मानिसको मृत्यु भएको थियो । धेरै मानिस लामो बिमारी र अपाङ्गताको सिकार पनि भए ।
BBC
No comments:
Post a Comment