पूर्वी एसियाली मुलुक जापानमा धेरै नेपाली बसोबास गर्छन्। पढ्न होस् या काम गर्न नेपालीहरुले जापानलाई रोज्छन्। जापान आउनेहरुको संख्या उल्लेखनीय भएकाले काठमाडौंमा जापनिज भाषा सिकाउने र भिसा प्रोसेसिङ गर्ने कन्सल्ट्यान्सी थुप्रै खुलेका छन्। जापान आउने क्रममा रहेका र जापानबारे चासो राख्नेलाई थाहा नभएका केही रोचक कुरा यहाँ प्रस्तुत गरेकी छु। यी रोचक कुरा जापान आउने र जापानबारे रुचि राख्नेलाई ज्ञानवद्र्धक हुनेछन्।
महँगा फलफुल :- जापानमा सामान्यतयाः तरकारी वा पकाएका खानेकुरा सस्तै हुन्छन्। तर फलफुलको कुरा गर्ने हो भने जापान घुम्न आएका पर्यटकले फलफुलको भाउ सुनेर एक पटक जिब्रो टोक्छन्। नेपालमा एक केजी स्याउ आउने पैसाले जापानमा मुस्किलले एक दाना स्याउ आउँछ। त्यस्तै आँप किन्नुपर्यो भने दुईवटा आँपको २ हजार येन अर्थात् लगभग २ हजार नेपाली रुपैयाँ, अनि नेपालमा गर्मी महिनामा धैरैले रुचाउने तरभुजा यहाँ सिंगै किन्ने हो भने १ हजारदेखि ३ हजार येनसम्म पर्छ। अन्य खानेकुराभन्दा फलफुल महंगो भएकै कारण जापानीहरूपनि फलफुल खान त्यत्तिको रुची राख्दैनन्।
टिस्यू पेपर मार्फत विज्ञापन :-आफ्नो संस्थाको प्रभावकारी विज्ञापन तपाईं कसरी गर्नुहुन्छ? पर्चा बाँडेर, ठूलाठूला होर्डिङ बोर्ड राखेर, टेलिभिजन वा पत्रपत्रिकामा विज्ञापन दिएर। जापानमा विज्ञापन गर्ने धैरै तरिका छन यीमध्ये सस्तो र लोकप्रिय तरिका हो पैदल यात्रीहरुलाई आफ्नो संस्थाको नाम राखेर वितरण गरिने निःशुल्क पकेट टिस्यु पेपर। धेरै काम लाग्ने भएकाले टिस्यु पेपर धेरैले लिन्छन्। जापानका व्यापारीहरुको व्यापार गर्ने यो गज्जबको काइदा छ।
मास्कको अत्यधिक प्रयोग :- हाम्रो देश नेपालमा धुँवाधुलोबाट बच्न मास्क प्रयोग गरिन्छ। तर जापानमा तपाईं कहिँकतै पनि बुङबुङ उडेको धुलो वा सवारी साधनले निकाल्ने धुँवाको मुस्लो देख्नु हुन्न। तर पनि जापनीहरूमास्क प्रयोग गर्न औधि रुचाउँछन्। विशेषगरी जाडो याममा। चाहे बस चढेका यात्रु हुन् या ट्रेन चढेका। ९० प्रतिशत जापानीहरुको मुख मास्कले ढाकिएको हुन्छ। जाडो याममा रुघाखोकी या अन्य सरुवा रोगको संक्रमण नहोस् भन्ने उदेश्यले उनीहरूमास्क लगाउँछन्।
पैसाको कारोबार ट्रेबाट :- जापानीहरूयुरोपियन मुलुकका मानिसहरूजस्तो हत्तपत्त एक अर्कालाई अंगालो हाल्ने या हात मिलाइ हाल्ने स्वभावका हुँदैनन्। यही स्वभाव र संस्कृतीकै प्रभावले गर्दा पैसाको कारोबार गर्दा पनि जापानमा एक अर्कालाई पैसा हातमा दिने चलन छैन। जापानका प्रत्येक स–साना कन्भिनेन्ट सपदेखि लिएर ठूलाठूला डिर्पाटमेन्ट स्टोरहरुमा पनि पैसा लिनेदिने दुवै काम ट्रेबाट हुने गर्छ। जापान आएका जो कोही विदेशीले जापानीहरुको यो तरिकालाई अनौठो मानेर हेर्ने गर्छन्।
ट्रेनमा मस्तको निन्द्रा :- जापानमा छोटो दुरी होस् या लामो दुरीको यात्रु ट्रेनमा मानिसहरूमस्तसँग निदाइरहेका भेटिन्छन्। कामलाई ठूलो सम्मान गर्ने मिहनेती जापानीहरू२० वर्षका युवादेखि लिएर ६५ वर्षसम्मका वृद्धसमेत दैनिक १६ घण्टासम्म काम गरिरहेका भेटिन्छन्। लगातार परिश्रमका कारण लखतरान परेकाहरुका लागि ट्रेन या बस नै विश्राम गर्ने पहिलो स्थान हुन्छ। एक प्रकारको रामराज्य जस्तै भएको देशमा न त सामान हराउने पीर न त चोरीको डर, त्यही भएर काममा जाँदा आउँदा अधिकांश मानिसहरूट्रेनमा सुत्ने गर्छन्।
कन्भिनेन्ट स्टोरहरुमा पोर्न पत्रिकाहरुको खुलेआम बिक्री वितरण :- जापानमा प्रत्येक १० देखि १५ मिनेटको दुरीमा अत्यावशकीय सामान किन्ने खुद्रा किराना पसल अर्थात् कन्भिनेन्ट सप भेट्टिन्छ। यौन आनन्दका लागि राखिएका यस्ता सामाग्रीहरूजो कोहीले किन्न वा हेर्न सक्छन्। यस्ता सामाग्री खुल्ला रुपमा बिक्री वितरण गर्दा स्कुले विद्यार्थीहरुको मन मस्तिष्कमा नराम्रो असर पर्न सक्ने भन्दै सरकारले यस कर्नरलाई सन् २०२० मा हटाउने सोच बनाएको छ।
गर्भवती महिलाको पहिचान किरिङ्गबाट :-जापानका अधिकांश महिलाहरूसानो काँटका हुन्छन्। यही कारणले गर्दा उनीहरुलाई जापानीज गुडिया भन्दा पनि फरक नपर्ला। शाररिक संरचनाकै कारण बुढा हुन या तन्नेरी झट्ट खुट्टयाउन कठिनै हुन्छ विदेशीलाई। शारीरिक संरचनाकै कारण जापानी महिलाहरू गर्भवती हुन कि होइनन् पेट हेरेर छुट्याउन पनि गाह्रै पर्छ। गर्भवती महिलाको पहिचान गर्ने सजिलो उपाय हो उनीहरुको ब्यागमा झुण्डीएका आमा र बच्चाको चित्र भएको किरिङ्ग। जापानमा महिला गर्भवती भएको प्रमाणित भए लगतै वडा कार्यालयले गर्भको बच्चाको विमाको साथै प्रत्येक गर्भवती आमाहरुलाई एक एक वटा मातृशिशु चित्र भएको किरिङ्ग प्रदान गर्छ। र अधिकांश गर्भवती महिलाहरुले सो किरिङ्ग आफ्नो ब्यागमा झुण्ड्याउने गरेको पाइन्छ ।
तातोपानीमा समय बिताउने संस्कृति :-प्रत्येक दिन राती सुत्नअघि जापानीहरूघरको टबको तातोपानीमा घण्टौं समय बिताउने गर्छन्। जन्मेको बालकदेखि वृद्धसम्म दैनिक तातोपानीमा नुहाउने गर्छन्। यसो गर्दा शरीरको नकरात्मक उर्जा नष्ट हुने र शरीर स्फुर्त हुनुका साथै नशासम्बन्धी समस्या पनि कम हुने जापानीहरू बताउँछन्। यसबाहेक अन्य सार्वजनिक स्थानहरुमा समेत तातो पानीले नुहाउने संस्कृति छ।
ट्रेनमा ठूलो स्वरमा बोल्न प्रतिबन्ध :- जापान घुम्न आएका विदेशीलाई ट्रेनमा भएको शुन्यता देखेर अचम्म लाग्न सक्छ। केही छिटफुट बाहेक अधिकांश यात्रु कि त मस्त निन्द्रामा या त शान्त मुद्रामा मोबाइल चलाइरहेका देखिन्छन्। ट्रेनमा मोबाइलमा ठूलो स्वरमा कराउन वा ठूलो रिङ्गटोन राख्न समेत प्रतिबन्ध छ। शान्त वातावरण हुँदा समय समयमा माइक मार्फत ठाउँको जानकारी पनि सजिलै सुनिने भएकोले यात्रुलाई आफू कुन ठाउँमा आइपुगियो भनेर झ्यालबाट हेरिरहनु पनि पर्दैन।
तातामी र कोताचु संस्कृति :- जापानका प्रत्येक घरहरुमा कोताचु अर्थात (जापनीज टेबल जसभित्र हिटर जडान हुन्छ) मा बस्ने चलन छ। चाहे जतिसुकै ठूला मान्यजन आउन् वा साथीभाइ जापानीहरूपाहुनालाई सोफाको साटो कोताचुमा राख्न मन पराउँछन्।
कोताचु पछि जापानको अर्को रोचक संस्कृति हो– परालको गुन्द्री। जसलाई जापानीहरुले तातामी भन्ने गर्छन्। जापानको जतिसुकै आधुनिक घरहरुमा पनि परालको मसिना गुन्द्री (कोताचु) प्रयोग गरिएको हुन्छ। घरका कुनै भागलाई आधुनिक कार्पेटले सजाइएपनि अधिकांश सुत्ने कोठामा भने परालका मसिना गुन्द्रीलाई कार्पेटले छापेजस्तै भूईंमा छाप्ने चलन छ।
(News of Setopati)
No comments:
Post a Comment