नेपालका भूकम्पपीडितको सहयोगार्थ मलेसियामा आज आइतबार च्यारिटी क्रिकेट खेल ‘ब्याट फर नेपाल’ हुँदैछ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा हुने खेलमा नेपाल क्रिकेट संघ (क्यान–११) र विश्व–११ बीच प्रतिस्पर्धा हुनेछ ।
नेपाली टोलीमा अधिकांश खेलाडी राष्ट्रिय टोलीका छन् । यसैगरी विश्व–११ का तर्फबाट नाम चलेका टेस्ट खेलाडीसहित उत्रनेछन् । नेपाली टोलीको कप्तानी पारस खड्का र विश्व–११ को कप्तानी श्रीलंकाका महान् खेलाडी सनथ जयसूर्याले गर्नेछन् ।
नेपाली टोलीमा पारसबाहेक शरद भेषावकर, महबुब आलम, राजेश पुलामी, सोमपाल कामी, अनिल मण्डल, सिद्धान्त लोहनी, राजु रिजाल, शक्ति गौचन, भुवन कार्की, अविनाश कर्ण, करन केसी छन् ।
महबुब, अविनाश र भुवन भर्खरै सम्पन्न टीट्वेन्टी विश्वकप छनोटमा नेपाली टोलीमा थिएनन् । यू–१९ राष्ट्रिय टोलीका कप्तानसमेत रहेका राजुले टोलीको विकेटकिपिङ गर्नेछन् । नेपाली क्रिकेट टोली एक महिनाभन्दा लामो समय युरोपमा सोमबारमात्र स्वदेश फर्किएको हो ।
युरोपमा नेपालले एक टीट्वेन्टी शृंखला, टीट्वेन्टी विश्वकप छनोटसँगै आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको पहिलो चरणको खेल खेलेर फर्किएको थियो । यी सबै प्रतियोगितामा नेपाली टोलीको प्रदर्शन कमजोर रहेको थियो ।
नेपालका भूकम्पपीडितको सहयोगार्थ हङकङमा पनि च्यारिटी खेल आयोजना हुँदैछ । मलेसिया क्रिकेट संघले घरेलु मैदानमा नेपालका लागि च्यारिटी खेलको आयोजना गरेको हो ।
नेपालमा गत वैशाख १२ मा गएको शक्तिशाली भूकम्पमा करिब नौ हजार मानिसको मृत्यु भएको थियो भने हजारौं घाइते भएका थिए । यता विश्व–११ का तर्फबाट पाकिस्तानका पूर्वविकेटकिपर रसिद लतिफ पनि खेल्दैछन् ।
बंगलादेशका लागि खेलिसकेका सोहाग गाजी र अब्दुर रस्साक पनि टोलीमा छन् । अस्ट्रेलियाका स्टिभ ओकिफे र मार्कस स्टोइनिसले पनि विश्व–११ बाट खेल्नेछन् । ओकिफेले अस्ट्रेलियाका लागि टीट्वेन्टी क्रिकेटमा प्रतिनिधित्व गरेका छन् भने स्टोइनिस प्रथम श्रेणीको क्रिकेट खेल्ने खेलाडी हुन् ।
भारतका लागि एकदिवसीय क्रिकेटमा प्रतिनिधित्व गरेका बेनुगोपाल रावले पनि क्यान–११ विरुद्ध खेल्नेछन् । सिंगापुरका चेतन सूर्यवंशी तथा मलेसियाका सुरेश नवरतनाम र अहमद फैज पनि विश्व–११ टोलीमा छन् । विश्व–११ का कप्तान जयसूर्याले एउटा खेलबाट ठूलो लक्ष्य लिएको बताए ।
समाचार अन्नपुर्णपोष्ट बाट
No comments:
Post a Comment