Sunday, August 30, 2015

नायिका नम्रता श्रेष्ठको ‘मलाई मनपर्छ/मनपर्दैन’ स्तम्भ

नेपाली चलचित्रमा सफल नायिका मानिन्छिन् नम्रता श्रेष्ठ । चलचित्र ‘सानो संसार’मा नेपाली चलचित्र बजारमा प्रवेश गरेकी यी नायिकाले अनलाइनखबरसँग आफूलाई ‘मनपर्ने र मननपर्ने’ कुरा साटेकी छिन् । अनलाइनखबरले सुरु गरेको ‘मलाई मनपर्छ/मनपर्दैन’ स्तम्भमा रहेर कुरा गर्दै उनले आफ्ना रोजाई साटेकी हुन् । हरेक आइतबार यो स्तभ्म प्रस्तुत हुनेछ :

मलाई मन पर्छ
१. पुस्तक : लाइफसँग जोडिएका सबै
२. खाना : स्पाइसी खाना
३. कलाकार : डेनिल डे लुइस
४. गहना : इयर रिङ
५. पहिरन : क्याजुअल
६. मौसम : चिसो
७. स्थान : लाङटाङ
८. सवारी साधन : बाइक
९. मोबाइल : आइफोन
१०. जनावर : कुकुर
११. बानी : सम्मान गर्ने
१२. चाडपर्व : तिहार
१३. गीत : राइज
१४. चलचित्र : माई लेफ्ट फुड

मलाई मन पर्दैन :
१. पुस्तक : नचाहिने पुस्तक पढ्दिन, त्यसैले छैन
२. खाना : सुप
३. कलाकार : रणवीर सिंह
४. गहना : खासै छैन
५. पहिरन : नसुहाउने
६. मौसम : गर्मी
७. स्थान : सबै मनर्छ, किनकी हरेकमा कथा भेट्छु
८. सवारी साधन : छैन
९. मोबाइल : सोनी
१०. जनावर : सुंगुर
११. बानी : नचाहिदो व्यवहार देखाउने
१२. चाडपर्व : छैन
१३. गीत : खासै छैन
१४. चलचित्र : गुन्डे
 
(अन्लाईन खबर बाट)

Friday, August 28, 2015

क्रिष्टियानो रोनाल्डोलाई पछारेर मेस्सी बने बर्षको उत्कृष्ठ खेलाडी

 

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले आफ्नो लोभलाग्दो फुटबल करियरमा अर्को एउटा सफलता थपेका छन् ।

स्पेनिस क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका मेस्सी यो वर्ष पनि युरोपका उत्कृष्ट फुटबलर घोषित भए । यसअघि सन् २०११ मा पनि उनलाई यो अवार्ड दिइएको थियो ।

बार्सिलोनालाई च्याम्पियन्स लिग, ला लिगा र स्पेनिस किङ्स कपको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका मेस्सीले गत सिजनको उत्कृष्ट फुटबलरको अवार्ड जितेका हुन् ।

गएराती फ्रान्सको मोनाकोमा भएको एक समारोहका बीच मेस्सीलाई उक्त अवार्ड दिइएको हो । मेस्सीले रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो र आफ्नै क्लव बार्सिलोनाका लुइस स्वारेजलाई पछि पारे ।

चार पटकका फिफा वर्ष खेलाडी मेस्सीले गएको सिजनमा कुल ५८ गोल गरेका थिए । रोनाल्डोले गएको सिजन सबै प्रतियोगितामा ६१ गोल गरे पनि रियल मड्रिडलाई उपाधि जिताउन भने सकेका थिएनन् ।

 (एजेन्सी)


Thursday, August 27, 2015

अफगानिस्तानलाई ३-२ को अन्तरले हराएर नेपाल अन्डर १९ च्याम्पियनशिप फुटबलको फाइनलमा

नेपाल पहिलो साफ अण्डर १९ च्याम्पियनसिप फुटवलको फाईनलमा प्रवेश गरेको छ । बलियो प्रतिद्वन्दी अफ्गानिस्तानलाई ३–२ गोल अन्तरले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको पहिलो सेमिफाईनलमा नेपालले उत्कृष्ट खेल पस्किएको थियो । खेलको ३४ औं मिनेटमा सुनिल बलको कर्नर प्रहारमा हेडर मार्फत गोल गर्दै अन्जन बिष्टले नेपाललाई अग्रता दिलाएको थियो । तगत्तै नेपालले पेनाल्टी पायो र अन्जनले नै पोष्टको दिशा दिएपछि नेपाल पहिलो हाफमा २–० को अग्रता लिन सफल भएको थियो ।
 

दोस्रो हाफमा केही आक्रामक रुपमा मैदान उत्रिएको अफ्गानिस्तानले अनन्त तामाङ्गको आत्मघाती गोलबाट ५० औं मिनेटमा खाता खोलेको थियो । तर त्यसको तीन मिनेटपछि डिबक्स नजिक पाएको फ्रिकिकलाई सिधै पोष्टको दिशा दिदै सुनिल बलले नेपाललाई ३–१ को अग्रता दिलाए । ७३ औं मिनेटमा मेहदी रेजाईले नेपाली डिफेन्सको गल्तीको फाईदा उठाउदै गोल गर्न सफल भए । त्यसपछि थप आक्रामक बनेको अफ्गानिस्तानका एकपछि अर्को प्रहार नेपाली गोलकिपर सोजित गुरुङ्ग र डिफेन्स अनन्त तामाङ्गले बिफल बनाएपछि अफ्गानिस्तान सेमिफाईनल चरणबाटै बाहिरियो ।  

नेपालले उपाधिका लागि आजै हुने भारत र बंगलादेशबीचको दोस्रो सेमिफाईनलको विजेतासँग आगामी शनिवार प्रतिस्पर्धा गर्नेछ । भारत र बंगलादेश अपरान्ह साढे ३ बजे एन्फा कम्प्लेक्सको मैदानमा आमने सामने हुनेछन् ।   


Sunday, August 23, 2015

'होस्टेल रिटर्न्स'को आक्रामक शुरुवात

‘होस्टेल रिटर्न्स’ले लगभग सुख्खाजस्तो देखिएको नेपाली बक्सअफिसमा आक्रामक सुरुआत गरेको छ । यो फिल्मले शुक्रबार र शनिबार १ करोड १ लाख रुपैयाँ ग्रस कमायो । निर्माण कम्पनी दुर्गिश रावलका अनुसार मुलुकका ४० पर्दाबाट सिनेमाले यति कमाइ गरेको हो । यो कूल कलेक्सनमा राजधानी र पोखरासहितका मल्टिप्लेक्सको उच्च योगदान छ । शुक्रबार ३१ लाख र शनिबार ७० लाख २५ हजार रुपैयाँ ग्रस कमाइ भएको निर्माता सुनिल रावलले जनाए । मल्टिप्लेक्स संचालकका अनुसार होस्टेल रिटन्र्सले हलिउडको फ्यान्टास्टिक फोर र बलिउडको अल इज वेलको सोज संख्या पनि कटौती गरेको छ । आइतबारको बन्दले फिल्मको बक्सअफिस प्रदर्शनमा आंशिक प्रभाव पारेको छ । ‘होस्टेल रिटर्न्स’को पहिलो साता प्रदर्शनले आउँदो साता रिलिज हुने तयारीमा रहेको ‘रेशम फिलिली’लाई प्रभाव पार्ने अनुमान गरिएको 
छ । 

समाचार मेरो सिनेमा डट कम बाट 

Wednesday, August 19, 2015

प्रथम यू १९ साफ च्याम्पियनशिप फुटबल अन्तर्गत आज नेपाल र भुटान भिड्दै

यू १९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुने भएको छ । केही वर्ष यतादेखि ओरोलो लागीरहेको नेपाली फुटबल फेरी सुधारउन्मुख मार्गमा आइरहेको भनीरहेका बेला आज नेपालले भुटानको सामना गर्दैछ ।

दिउसो साडे ३ बजेबाट एन्फा टेक्नीकल सेन्टरमा हुने प्रतियोगीतामा नेपालले विमल घर्ती मगरको कप्तानीमा खेलाडीलाई मैदानमा उतार्दै छ । प्रतियोगीतामा नेपाल सहित भारत, बंगलादेश, अफगानिस्तान, भुटान र माल्दिभ्स सहभागी छन् ।

प्रतियोगितामा सहभागी टोलीलाई दुई समुहमा विभाजन गरिएको छ । यो प्रतियोगितामा नेपाल, भुटान र बंगलादेश रहेको समूह ए मा छ । समूह बीमा भने भारत, अफगानिस्तान र माल्दिभ्स छन् । प्रतियोगिता भदौ १२ गतेसम्म हुनेछ ।


Tuesday, August 18, 2015

जापानमा अनुभव गर्न पाईने रोचक कुराहरु बुदाँगद रुपमा

पूर्वी एसियाली मुलुक जापानमा धेरै नेपाली बसोबास गर्छन्। पढ्न होस् या काम गर्न नेपालीहरुले जापानलाई रोज्छन्। जापान आउनेहरुको संख्या उल्लेखनीय भएकाले काठमाडौंमा जापनिज भाषा सिकाउने र भिसा प्रोसेसिङ गर्ने कन्सल्ट्यान्सी थुप्रै खुलेका छन्। जापान आउने क्रममा रहेका र जापानबारे चासो राख्नेलाई थाहा नभएका केही रोचक कुरा यहाँ प्रस्तुत गरेकी छु। यी रोचक कुरा जापान आउने र जापानबारे रुचि राख्नेलाई ज्ञानवद्र्धक हुनेछन्। 
 
महँगा फलफुल :- जापानमा  सामान्यतयाः तरकारी वा पकाएका खानेकुरा सस्तै हुन्छन्। तर फलफुलको कुरा गर्ने हो भने जापान घुम्न आएका पर्यटकले फलफुलको भाउ सुनेर एक पटक जिब्रो टोक्छन्।  नेपालमा एक केजी स्याउ आउने पैसाले जापानमा मुस्किलले एक दाना स्याउ आउँछ। त्यस्तै आँप किन्नुपर्यो भने दुईवटा आँपको २ हजार येन अर्थात् लगभग २ हजार नेपाली रुपैयाँ, अनि नेपालमा गर्मी महिनामा धैरैले रुचाउने तरभुजा यहाँ सिंगै किन्ने हो भने १ हजारदेखि ३ हजार येनसम्म पर्छ। अन्य खानेकुराभन्दा फलफुल महंगो भएकै कारण जापानीहरूपनि फलफुल खान त्यत्तिको रुची राख्दैनन्। 
 
टिस्यू पेपर मार्फत विज्ञापन :-आफ्नो संस्थाको प्रभावकारी विज्ञापन तपाईं कसरी गर्नुहुन्छ? पर्चा बाँडेर, ठूलाठूला होर्डिङ बोर्ड राखेर, टेलिभिजन वा पत्रपत्रिकामा  विज्ञापन दिएर। जापानमा विज्ञापन गर्ने धैरै तरिका छन यीमध्ये सस्तो र लोकप्रिय तरिका हो पैदल यात्रीहरुलाई आफ्नो संस्थाको नाम राखेर वितरण गरिने निःशुल्क पकेट टिस्यु पेपर। धेरै काम लाग्ने भएकाले टिस्यु पेपर  धेरैले लिन्छन्। जापानका व्यापारीहरुको व्यापार गर्ने यो गज्जबको काइदा छ।
 
मास्कको अत्यधिक प्रयोग :- हाम्रो देश नेपालमा धुँवाधुलोबाट बच्न मास्क प्रयोग गरिन्छ। तर जापानमा तपाईं कहिँकतै पनि बुङबुङ उडेको धुलो वा सवारी साधनले निकाल्ने धुँवाको मुस्लो देख्नु हुन्न। तर पनि जापनीहरूमास्क प्रयोग गर्न औधि रुचाउँछन्। विशेषगरी जाडो याममा। चाहे बस चढेका यात्रु हुन् या ट्रेन चढेका। ९० प्रतिशत जापानीहरुको मुख मास्कले ढाकिएको हुन्छ। जाडो याममा रुघाखोकी या अन्य सरुवा रोगको संक्रमण नहोस् भन्ने उदेश्यले उनीहरूमास्क लगाउँछन्।
 
पैसाको कारोबार ट्रेबाट :- जापानीहरूयुरोपियन मुलुकका मानिसहरूजस्तो हत्तपत्त एक अर्कालाई अंगालो हाल्ने या हात मिलाइ हाल्ने स्वभावका हुँदैनन्। यही स्वभाव र संस्कृतीकै प्रभावले गर्दा पैसाको कारोबार गर्दा पनि जापानमा एक अर्कालाई पैसा हातमा दिने चलन छैन। जापानका प्रत्येक स–साना कन्भिनेन्ट सपदेखि लिएर ठूलाठूला डिर्पाटमेन्ट स्टोरहरुमा पनि पैसा लिनेदिने दुवै काम ट्रेबाट हुने गर्छ। जापान आएका जो कोही विदेशीले जापानीहरुको यो तरिकालाई अनौठो मानेर हेर्ने गर्छन्।
 
ट्रेनमा मस्तको निन्द्रा :- जापानमा छोटो दुरी होस् या लामो दुरीको यात्रु ट्रेनमा मानिसहरूमस्तसँग निदाइरहेका भेटिन्छन्। कामलाई ठूलो सम्मान गर्ने मिहनेती जापानीहरू२० वर्षका युवादेखि लिएर ६५ वर्षसम्मका वृद्धसमेत दैनिक १६ घण्टासम्म काम गरिरहेका भेटिन्छन्। लगातार परिश्रमका कारण लखतरान परेकाहरुका लागि ट्रेन या बस नै विश्राम गर्ने पहिलो स्थान हुन्छ। एक प्रकारको रामराज्य जस्तै भएको देशमा न त सामान हराउने पीर न त चोरीको डर, त्यही भएर काममा जाँदा आउँदा अधिकांश मानिसहरूट्रेनमा सुत्ने गर्छन्।
 
कन्भिनेन्ट स्टोरहरुमा पोर्न पत्रिकाहरुको खुलेआम बिक्री वितरण :- जापानमा प्रत्येक १० देखि १५ मिनेटको दुरीमा अत्यावशकीय सामान किन्ने खुद्रा किराना पसल अर्थात् कन्भिनेन्ट सप भेट्टिन्छ। यौन आनन्दका लागि राखिएका यस्ता सामाग्रीहरूजो कोहीले किन्न वा हेर्न सक्छन्।  यस्ता सामाग्री खुल्ला रुपमा बिक्री वितरण गर्दा स्कुले विद्यार्थीहरुको मन मस्तिष्कमा नराम्रो असर पर्न सक्ने भन्दै सरकारले यस कर्नरलाई सन् २०२० मा हटाउने सोच बनाएको छ।
 
गर्भवती महिलाको पहिचान किरिङ्गबाट :-जापानका अधिकांश महिलाहरूसानो काँटका हुन्छन्। यही कारणले गर्दा उनीहरुलाई जापानीज गुडिया भन्दा पनि फरक नपर्ला। शाररिक संरचनाकै कारण बुढा हुन या तन्नेरी झट्ट खुट्टयाउन कठिनै हुन्छ विदेशीलाई। शारीरिक संरचनाकै कारण जापानी  महिलाहरू गर्भवती हुन कि होइनन् पेट हेरेर छुट्याउन पनि गाह्रै पर्छ।  गर्भवती महिलाको पहिचान गर्ने सजिलो उपाय हो उनीहरुको ब्यागमा झुण्डीएका आमा र बच्चाको चित्र भएको किरिङ्ग। जापानमा महिला गर्भवती भएको प्रमाणित भए लगतै वडा कार्यालयले गर्भको बच्चाको विमाको साथै प्रत्येक गर्भवती आमाहरुलाई एक एक वटा मातृशिशु चित्र भएको किरिङ्ग प्रदान गर्छ। र अधिकांश गर्भवती महिलाहरुले सो किरिङ्ग आफ्नो ब्यागमा झुण्ड्याउने गरेको पाइन्छ । 
 
तातोपानीमा समय बिताउने संस्कृति :-प्रत्येक दिन राती सुत्नअघि जापानीहरूघरको टबको तातोपानीमा घण्टौं समय बिताउने गर्छन्। जन्मेको बालकदेखि वृद्धसम्म दैनिक तातोपानीमा नुहाउने गर्छन्। यसो गर्दा शरीरको नकरात्मक उर्जा नष्ट हुने र शरीर स्फुर्त हुनुका साथै नशासम्बन्धी समस्या पनि कम हुने जापानीहरू बताउँछन्। यसबाहेक अन्य सार्वजनिक स्थानहरुमा समेत तातो पानीले नुहाउने संस्कृति छ।
 
ट्रेनमा ठूलो स्वरमा बोल्न प्रतिबन्ध :- जापान घुम्न आएका विदेशीलाई ट्रेनमा भएको शुन्यता देखेर अचम्म लाग्न सक्छ। केही छिटफुट बाहेक अधिकांश यात्रु कि त मस्त निन्द्रामा या त शान्त मुद्रामा मोबाइल चलाइरहेका देखिन्छन्। ट्रेनमा मोबाइलमा ठूलो स्वरमा कराउन वा ठूलो रिङ्गटोन राख्न समेत प्रतिबन्ध छ। शान्त वातावरण हुँदा समय समयमा माइक मार्फत ठाउँको जानकारी पनि सजिलै सुनिने भएकोले यात्रुलाई आफू कुन ठाउँमा आइपुगियो भनेर झ्यालबाट हेरिरहनु पनि पर्दैन।
 
तातामी र कोताचु संस्कृति :- जापानका प्रत्येक घरहरुमा कोताचु अर्थात (जापनीज टेबल जसभित्र हिटर जडान हुन्छ) मा बस्ने चलन छ। चाहे जतिसुकै ठूला मान्यजन आउन् वा साथीभाइ जापानीहरूपाहुनालाई सोफाको साटो कोताचुमा राख्न मन पराउँछन्। 
कोताचु पछि जापानको अर्को रोचक संस्कृति हो– परालको गुन्द्री। जसलाई जापानीहरुले तातामी भन्ने गर्छन्। जापानको जतिसुकै आधुनिक घरहरुमा पनि परालको मसिना गुन्द्री (कोताचु) प्रयोग गरिएको हुन्छ। घरका कुनै भागलाई आधुनिक कार्पेटले सजाइएपनि अधिकांश सुत्ने कोठामा भने परालका मसिना गुन्द्रीलाई कार्पेटले छापेजस्तै भूईंमा छाप्ने चलन छ।

(News of  Setopati)


Wednesday, August 12, 2015

यस वर्षको युरोपियन सुपर कप फुटबल प्रतियोगिताको उपाधि बार्सिलोनाले जितेको छ

यस वर्षको युरोपियन सुपर कप फुटबल प्रतियोगिताको उपाधि बार्सिलोनाले जितेको छ ।

गत सिजनको युएफा च्याम्पियन्स लिग विजेता बार्सिलोना र युरोपा लिग विजेता सेभियाबीचको यो भिडन्तमा बार्सिलोना ५–४ ले विजयी भयो ।

खेलको निर्धारित ९० मिनेटसम्म दुबैतर्फबाट ४–४ गोल भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त
समयमा बार्सिलोनाका पेड्रोले निर्णायक गोल गर्दै टोलीलाई सिजनको सुरुआती उपाधि दिलाएका हुन् ।

यसअघि, निर्धारित समयमा बार्सिलोनाका लागि लियोनल मेसीले दुई गोल गरेका थिए भने राफिन्हा र लुइस सुवारेजले एक–एक गोल गरेका थिए । तर, सेभियाका बानेगा, रेयेज, गामेरियो र कोनाप्लिङ्काले एक–एक गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्याएका हुन् । अतिरिक्त समयमा बार्सिलोनाले बाजी मारेको हो ।

जितसँगै बार्सिलोनाले सर्वाधिक ५ पटक युएफा सुपर कप जित्ने इटालियन क्लब एसी मिलानको कीर्तिमानसँग बराबरी गरेको छ । -  

imagekhabar.com

Saturday, August 8, 2015

नेपाल संघिय मुलुक, ६ प्रदेशमा विभाजित

 
प्रमुख राजनीतिक दलहरुबीच संघीय प्रदेशको सिमांकन विवादमा सहमति भएको छ । दलहरुबीच ६ प्रदेश रहने गरी शनिबार राती ११:४० बजे सिमांकनमा सहमति भएको हो ।
सहमतिको प्रतिवेदनमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले हस्ताक्षर गरे ।
दलहरुले नवलपरासी, बाग्लुङ र रुकुम जिल्लालाई विभाजित गरेर अन्यलाई यथावत् राख्दै सबै प्रदेश भारतसँग जोडिने गरी प्रदेश सिमांकनको टुंगो लगाएका हुन् ।
६ प्रदेशको सिमांकनका सम्बन्धमा एकीकृत माओवादी र फोरम लोकतान्त्रिकले फरक मत प्रस्तुत गरेका छन् । कैलालीलाई अखण्ड सुदूरपपिश्चममा समावेश गर्ने विषयमा दुवै दलको फरक मत थियो ।
सिमांकनका विषयमा भएका सहमतिको प्रतिवेदन संवाद समितिमा पेश गर्ने तयारी भए पनि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले असन्तुष्टि जनाउँदै हस्ताक्षर नगरेपछि मध्यरातसम्म कुर्नु परेको थियो ।
तर अन्तिम समयमा आएर गच्छदारले सहमतिमा हस्ताक्षर गरे । हस्ताक्षर पछि विशेष समितिले परिमार्जित प्रतिवेदन राति साढे १२ बजे सैवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पेस गरेको थियो । प्रतिवेदन माथि आइतबार ११ बजे बस्ने समितिको बैठकमा छलफल हुदैछ ।
सहमतिपत्रमा हस्ताक्षरपछि दलका नेताहरुले मुलुकले ठूलो उपलब्धी हासिल गरेको प्रतिक्रिया दिएका छन् । उनीहरुले अब संविधान बन्ने निश्चित भएको बताए ।
एक नम्बर प्रदेशमा मेची र कोसीका सबै जिल्ला तथा सगरमाथाका पहाडि जिल्ला जोडिएको छ । जसमा १३ जिल्ला समेटिएका छन । दोस्रो प्रदेशमा कुनै पनि पहाडी क्षेत्र नजोडिकन सप्तरीदेखि पर्सासम्मको भूभाग रहने छ । जसमा आठवटा जिल्ला छन् ।
त्यसैगरी तीन नम्बर प्रदेशमा जनकपुर अञ्चलका पहाडि जिल्ला, बागमती अञ्चल र नारायणीका मकवानपुर र चितवन रहेका छन् । उक्त प्रदेशमा पनि १३ वटा जिल्ला समेटिएको छ ।
प्रदेश चारमा गण्डकी अञ्चल, बाग्लुङको पश्चिमी भाग बाहेक धौलागिरी अञ्चल, लुम्बिनीको नवलपरासी जिल्लाको पूर्वी भाग गरी १० जिल्ला समेटिएको छ ।
प्रदेश ५ मा नवलपरासीको दाउन्ने पश्चिमको सबै लुम्बिनी, राप्तीमा सल्यानबाहेकका सबै जिल्ला र बाग्लुङको पश्चिम क्षेत्र राखिएको छ । जसमा १३ जिल्लाहरु समावेस छन् ।
त्यसैगरी भेरीको बाँके र बर्दिया बाहेक भेरी, सेती, महाकाली र कर्णाली अञ्चलको भूभागमा क्षेत्र नम्बर ६ प्रदेश फैलिएको छ । यो प्रदेश सबैभन्दा ठूलो बनेको छ । जसमा १७ जिल्ला समेटिएका छन् ।

प्रस्तावित प्रदेशहरु:-

प्रदेश १ : (ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, मोरङ र सुनसरी)
प्रदेश २ : (सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही,  रौतहट, बारा र पर्सा )

प्रदेश ३ : (दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, काठमाडौँ भक्तपुर र ललितपुर)
प्रदेश ४ : (गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङजा, म्याग्दी, बाग्लुङ (पूर्वी भाग) र नवलपरासी(दाउन्ने पूर्व) )

प्रदेश ५ : (नवलपरासी (दाउन्ने पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, बाग्लुङ (पश्चिम भाग), रुकुम, सल्यान, रोल्पा, प्यूठान, दाङ, बाँके, बर्दिया)

प्रदेश नं ६ : (डोल्पा, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलाली)

(ईमेज खबर बाट )

भूकम्पपीडितको सहयोगार्थ ‘ब्याट फर नेपाल’ हुँदै


नेपालका भूकम्पपीडितको सहयोगार्थ मलेसियामा आज 
आइतबार च्यारिटी क्रिकेट खेल ‘ब्याट फर नेपाल’ हुँदैछ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा हुने खेलमा नेपाल क्रिकेट संघ (क्यान–११) र विश्व–११ बीच प्रतिस्पर्धा हुनेछ ।

नेपाली टोलीमा अधिकांश खेलाडी राष्ट्रिय टोलीका छन् । यसैगरी विश्व–११ का तर्फबाट नाम चलेका टेस्ट खेलाडीसहित उत्रनेछन् । नेपाली टोलीको कप्तानी पारस खड्का र विश्व–११ को कप्तानी श्रीलंकाका महान् खेलाडी सनथ जयसूर्याले गर्नेछन् ।

नेपाली टोलीमा पारसबाहेक शरद भेषावकर, महबुब आलम, राजेश पुलामी, सोमपाल कामी, अनिल मण्डल, सिद्धान्त लोहनी, राजु रिजाल, शक्ति गौचन, भुवन कार्की, अविनाश कर्ण, करन केसी छन् ।

महबुब, अविनाश र भुवन भर्खरै सम्पन्न टीट्वेन्टी विश्वकप छनोटमा नेपाली टोलीमा थिएनन् । यू–१९ राष्ट्रिय टोलीका कप्तानसमेत रहेका राजुले टोलीको विकेटकिपिङ गर्नेछन् । नेपाली क्रिकेट टोली एक महिनाभन्दा लामो समय युरोपमा सोमबारमात्र स्वदेश फर्किएको हो ।

युरोपमा नेपालले एक टीट्वेन्टी शृंखला, टीट्वेन्टी विश्वकप छनोटसँगै आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको पहिलो चरणको खेल खेलेर फर्किएको थियो । यी सबै प्रतियोगितामा नेपाली टोलीको प्रदर्शन कमजोर रहेको थियो ।

नेपालका भूकम्पपीडितको सहयोगार्थ हङकङमा पनि च्यारिटी खेल आयोजना हुँदैछ । मलेसिया क्रिकेट संघले घरेलु मैदानमा नेपालका लागि च्यारिटी खेलको आयोजना गरेको हो ।

नेपालमा गत वैशाख १२ मा गएको शक्तिशाली भूकम्पमा करिब नौ हजार मानिसको मृत्यु भएको थियो भने हजारौं घाइते भएका थिए । यता विश्व–११ का तर्फबाट पाकिस्तानका पूर्वविकेटकिपर रसिद लतिफ पनि खेल्दैछन् ।

बंगलादेशका लागि खेलिसकेका सोहाग गाजी र अब्दुर रस्साक पनि टोलीमा छन् । अस्ट्रेलियाका स्टिभ ओकिफे र मार्कस स्टोइनिसले पनि विश्व–११ बाट खेल्नेछन् । ओकिफेले अस्ट्रेलियाका लागि टीट्वेन्टी क्रिकेटमा प्रतिनिधित्व गरेका छन् भने स्टोइनिस प्रथम श्रेणीको क्रिकेट खेल्ने खेलाडी हुन् ।

भारतका लागि एकदिवसीय क्रिकेटमा प्रतिनिधित्व गरेका बेनुगोपाल रावले पनि क्यान–११ विरुद्ध खेल्नेछन् । सिंगापुरका चेतन सूर्यवंशी तथा मलेसियाका सुरेश नवरतनाम र अहमद फैज पनि विश्व–११ टोलीमा छन् । विश्व–११ का कप्तान जयसूर्याले एउटा खेलबाट ठूलो लक्ष्य लिएको बताए ।

समाचार अन्नपुर्णपोष्ट बाट 

Friday, August 7, 2015

बलिवुड फिल्म "दृश्यम"को फिल्म समिक्षा

 भारतको हिन्दी फिल्म उद्योग बलिउडले अमेरिकाको हलिउडजस्तो बन्ने सपना देखेको धेरै वर्ष भइसक्यो। त्यही सपनाका कारण होला, बलिउडले धेरै चीजमा हलिउडको नक्कल गर्छ। यसरी बलिउडले कपी गर्नेमा सबभन्दा पहिलो नम्बरमा पर्छ, हलिउड फिल्मका कथा। पछिल्ला वर्षमा बलिउडले कपी गर्ने चक्रमा भने केही फरक आएको छ। पहिले बलिउडले सोझै हलिउडबाट कपी गर्थ्यो। 

अहिले हलिउडबाट दक्षिण भारतीय फिल्मले कपी गर्छन्, अनि बल्ल त्यो कथा बलिउड आइपुग्छ। यो साताको फिल्म दृश्यम् पनि त्यस्तै हो। सिंघमजस्तै यो पनि संस्कृत नाम भएको दक्षिण भारतीय फिल्मको रिमेक हो। यी दुवैमा नायक अजय देवगन छन्। तर पनि यी दुई फिल्ममा निकै ठूलो फरक छ। सिंघम अजयको स्टारडम र केही एक्सन स्टन्टलाई ग्लोरिफाई गर्ने लाउड फिल्म थियो। दृश्यम् त्यस्तो छैन। 'दृश्यम' चाहिँ हलिउड होइन, जापानी उपन्यास र फिल्म हुँदै भारत आइपुगेको हो। 

फिल्मको मध्यसम्म पुग्दा यसमा कुनै चमत्कार देखिँदैन। न हिरोले केही गरिरहेको जस्तो लाग्छ, न कुनै भिलेनले। यस्तो लाग्छ, एउटा साधारण मानिसको सामान्य दिनचर्यालाई खिचेर देखाइएको छ। तर, तपाईं ढुक्क हुनुहोस्, यो सामान्यपन नै फिल्मको शक्ति हो। जब कथा अप्ठ्यारो घुम्तीमा पुग्छ, अनि पहिलेका यी सबै सामान्य गतिविधिको अर्कै अर्थ आइपुग्छ। 

दृश्यम् थ्रिलर हो, मडर मिस्ट्री। आजसम्म धेरै उपन्यास र फिल्ममा रहस्यमय हत्याको कथा लेखिएको छ। ती प्राय: हत्या कसले गर्यो होला भन्ने प्रश्नमा घुम्छन्। दृश्यममा पनि एउटा रहस्यमय हत्या छ तर यसको प्रश्न हत्यारा को भन्ने होइन। चार कक्षा फेल, सानो केबल टीभी सञ्चालक विजय साड्गावकर यो कथाको हिरो हो। रात–रातभर अफिसमा बसेर टीभीमा फिल्म हेर्ने बानी लागेको यो गवार मान्छेले परेका बेला कसरी आफ्नो दिमाग चलाउँछ भन्ने कुरा फिल्मले देखाउँछ। 

र, सबभन्दा बढीचाहिँ आफ्नो परिवारलाई जोगाउन मानिसले के–केसम्म गर्न सक्छ भन्ने यसले देखाउँछ। साथै आफ्नो हराएको छोराको खोजी गरिरहेका बाबुआमा र प्रहरीको कथा पनि यसमै जोडिन्छ। निसिकान्त कामतको यो फिल्म मलयालममा यसै नाममा बनेको फिल्मको रिमेक हो। थ्रिलरमा जहिले पनि सबभन्दा महत्त्वपूर्ण हुन्छ, लेखन। प्राय: थ्रिलरको हाई प्वाइन्ट कथाको गन्तव्य होइन, त्यहाँसम्म पुग्ने यात्रा हो। 

पात्र कुनै स्थितिमा पुग्नु होइन, कसरी त्यहाँ पुग्छ भन्ने हो। दृश्यम्मा त्यो ट्रिक गजबको छ। तपाईंलाई फिल्मले धेरै ठाउँमा आश्चर्यमा पार्न सक्छ। यस्ता फिल्मको विशेषता दर्शकलाई कथामा अल्झाइराख्नु हो। दर्शकलाई यस्तो लागोस् कि उसले कथा बुझिरहेको छ, यसपछि के हुन्छ भन्ने दर्शकले अनुमान पनि लगाओस्। र, त्यो एउटा विन्दुसम्म मिल्दै जान्छ। तर, अन्तिममा त्यसले सोच्दै नसोचेको ट्वीस्ट लिन्छ। अनि त्यो अचम्म र आश्चर्यले दर्शकलाई रोमाञ्च प्रदान गर्छ। फिल्मले भन्छ, मान्छेको सबभन्दा बलियो सम्झना भनेको दृश्य हो। जे देखियो त्यो कुरा मानिसले प्राय: बिर्सिंदैन। सुनेको कुरा बिर्सिन सकिन्छ, तर देखेको भुल्न गाह्रो हुन्छ, चाहे त्यो गलत होस्, नक्कली होस् वा बनावटी नै किन नहोस्। 

यही सिद्धान्तको भरमा यो फिल्मको पटकथा लेखिएको छ। दर्शकलाई फिल्मको कथा पनि पहिल्यै थाहा हुन्छ। तर, त्यसको अन्त्य कसरी हुन्छ भनेर जिज्ञासु बनाइराख्न यो फिल्म सफल छ। फिल्मको लेखन र निर्देशन सबभन्दा बलियो पक्ष हो। सुरुमा अति सामान्य र पट्यारलाग्दो वर्णनलाई विस्तारै हाई भोल्टेज थ्रिलर बनाउने निर्देशकको खुबी प्रशंसायोग्य छ। तर, यो जापान र मलयालम फिल्म हुँदै आएकाले लेखन निर्देशनका सबल पक्षको जस उता पनि जान्छ। 

बलिउडका दुई शक्तिशाली कलाकार अजय देवगन र तब्बुको अभिनय यसको अर्को विशेषता हो। दुई दशक अगाडि यी दुईले विजयपथमा रोमान्टिक जोडीका रूपमा अभिनय गरेका थिए। तब्बुको पहिलो हिट फिल्म त्यही थियो। त्यसपछि पनि हकिकतदेखि तक्षकसम्म यी जोडी थिए। दृश्यम्मा भने यी आमने–सामने छन्। यी दुईले किशोरकिशोरीका बाबुआमाका रूपमा अभिनय गरेका छन्। 

यी दुईको टकराव हेर्न लायक छ। पछिल्लो समयमा अजय देवगनले खेलेका फिल्मका कारण उनको छवि सिंघम टाइपको एक्सन स्टारको छ। तर, यसमा उनी प्रहरीद्वारा निर्मम ढंगले पिटिने सामान्य मानिसको भूमिकामा छन्। उनको छविका कारण उनी मिसकास्ट लाग्न सक्छन्। धेरै समयपछि इन्टेन्स भूमिकामा देखिएका उनी प्रभावशाली छन्। गोलमाल र सन अफ सरदार टाइपका फिल्मका बीचमा अभिनेता अजय हराएर स्टारको उदय भएको थियो। 

दृश्यम्मा अजय पूरा नै कोट लगाएर फर्किएका छन्। उनको यो रूपमा दर्शकलाई निराश गर्दैन। बलिउडमा कुनै अप्ठ्यारो, अधेड उमेरको, ननग्ल्यामरस भूमिका आइपुग्यो भने त्यसमा सम्झिइने पहिलो अभिनेत्री हुन्, तब्बु। हालैको फिल्म हैदरमा पनि तब्बु अप्ठ्यारो भूमिकामा थिइन्। दृश्यम्मा पनि उनको भूमिका त्यस्तै छ। उनको अभिनय यसमा पनि गजब छ। श्रेया शरणको भूमिका जस्तै अभिनय पनि सामान्य लाग्छ।

-एजेन्सी  

Thursday, August 6, 2015

अन्डर सिक्सटिन नेपाली फुटबल टिमलाई बिदाई

बङ्गलादेशमा सञ्चालन हुने सोह्र वर्षमुनि (यु–१६) उमेर समूहको तेस्रो साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भाग लिन जाने नेपाली टोलीको आज बिदाइ भयो। 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना गरेको बिदाइ कार्यक्रममा सङ्घका अध्यक्ष एवम सभासद् गणेश थापाले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । 

यही साउन २४ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न छ राष्ट्रले भाग लिने भएका छन् । उक्त प्रतियोगितामा सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरेकोमा नेपाल समूह ‘बी’मा परेको छ । 

समूह ‘बी’मा नेपालसहित अफगानिस्तान र माल्दिभ्स छन् । त्यस्तै, समूह ‘ए’ मा भारत, श्रीलङ्का र बङ्गलादेश छन् । प्रतियोगितामा पाकिस्तान र भुटानले भने सहभागिता जनाएका छैनन् । प्रत्येक समूहको शीर्ष दुई÷दुई स्थान हासिल गर्ने टोली सेमिफाइनलमा पुग्नेछन् । 

सन् २०११ मा काठमाडौँमा नै भएको पहिलो साफ च्याम्पियनसिपमा नेपाल तेस्रो भएको थियो । त्यस्तै, सन् २०१३ मा भएको दोस्रो साफ च्याम्पियनसिपमा नेपालले भारतसँग पराजित हुँदै दोस्रो स्थान हासिल गरेको थियो । नेपालले आफ्नो पहिलो खेलमा यही साउन २५ गते माल्दिभ्सको सामना गर्नेछ ।
नेपाली टोलीमा गोलरक्षक अर्पण कार्की, आकाश रानाभाट, सन्देश गुरुङ छन् । त्यस्तै, डिफेन्डरमा रोमन लिम्बू, लक्ष्मण परियार, राजन गुरुङ, पवन कार्की, अनोस मगर, सुमन अर्याल र आशिष केसी छन् । 

मिडफिल्डरमा अभिषेक रिजाल, दिवस उरउ, कप्तान मनिस कार्की, सेसेहाङ आङ्दम्वे, अनिल महर्जन, विकास आले छन् भने फरवार्डमा राजिव लोप्चन, रेजिन सुब्बा, दिनेश हेनजन, प्रिजन तामाङ, राजेश परियार र क्षितिजराज जिटी छन् । 

त्यस्तै, मुख्य प्रशिक्षकमा उपेन्द्रमान सिंह हुनुहुन्छ भने सहायक प्रशिक्षक राजेश मानन्धर हुनुहुन्छ । टोली आज नै त्यसतर्फ प्रस्थान गर्दैछ ।

७० बर्ष अघि आजकै दिन(अगष्ट ६) हिरोशिमा ध्वस्त भएको दिन

६ अगस्ट १९४५ का दिन बिहानैदेखि जापानको हिरोशिमा सहरको आकाश सफा थियो । सहरबासीका लागि त्यो बिहानी अन्य दिनकै सरह थियो । मानिसहरु दैनिक कामकाजमा व्यस्त हुँदै थिए । उनीहरुलाई पत्तो थिएन– केही क्षण मै हिरोशिमा र यस सहरका बासिन्दाको अस्तित्व खतरामा पर्दैछ ।
इतिहास लेखिन बाँकी नै थियो तर त्यसको आधार अमेरिकामा तयार भइसकेको थियो । दोस्रो विश्वयुद्धका क्रममा अमेरिकाका तल्कालिन राष्ट्रपति हेरी ट्रुमेनले एउटा गोप्य अभियान अन्तर्गत जापानमा परमाणु बम खसाल्ने अनुमति दिइसकेका थिए ।
बिहान २ः४५ मा अमेरिकी वायुसेनाको बमवर्षक विमान बी–२९ ‘एनोला गे’ ले उडान भर्यो । जापानलाई लक्षित गर्दै सो विमान पश्चिमतर्फ प्रस्थान गर्यो ।
हिसोशिमाका लागि जुन बम पठाइएको थियो, पूर्व अमेरिकी राष्ट्रपति रुजवेल्टको सन्दर्भमा त्यसलाई ‘लिटिल ब्वाय’ का नामले चिनिन्थ्यो ।
‘बी–२९’ मा उक्त बमलाई लोड गर्दा त्यो आफैंमा सक्रिय थिएन । उक्त बममा बारुद भर्न बाँकी नै थियो । बमको सर्किट पनि पुरा भइसकेको थिएन ।
‘एनोला गे’ विमानका चालक दलमा सामेल १२ जनामा पाउल डब्ल्यू तिब्बेत्स, सहचालक थियोडोर, जे वान किर्क र शस्त्र अधिकारी मोरिस जेप्सन पनि थिए ।
जेप्सन ती व्यक्ति हुन्, जसको हातमा ‘लिटिल ब्याय’ अन्तिम अवस्थासम्म थियो । उनले आफ्ना चालक दलका सदस्य डिक पार्सनसँग मिलेर चार ठूला ब्यागमा रहेका बारुद सो बममा भरेका थिए । त्यसपछि जेप्सनले ‘लिटिल ब्वाय’ मा प्लग लगाएर त्यसलाई सक्रिय तुल्याए ।
हिरोशिमा एउटा यस्तो बन्दरगाह थियो जो जापानी सेनाका लागि अत्यावश्यक बस्तु उपलब्ध गराउने केन्द्र बनेको थियो । यो सहर सामरिक दृष्टिले निकै महत्वपूर्ण थियो । यही सहरबाट जापानी सेनाको संचारतन्त्र संचालित थियो ।

हिरोशिमामा बिहानको सवा आठ बजेको थियो । ‘एनोला गे’ ले ‘लिटिल ब्याय’लाई आकाशबाट खसाल्यो । ‘एनोला गे’ का पाइलट तिब्बेत्सले भने, ‘धेरै कुरा यस्तो थियो, जो कि कल्पना पनि गर्न सकिदैंन । बम खसालिसकेपछि केही सेकेन्डमात्र मैले पछाडी फर्किएर हेरेँ, त्यसपछि म आफ्नो बाटो लागेँ ।’
उनका अनुसार धुँवाको बादल र तीब्र गतिमा फैलिदैं गरेको आगोले पुरै सहर ढाकेको दृष्य आकाशबाट प्रष्ट देखिन्थ्यो । यसरी केही मिनेटमै हिरोशिमामा सबैकुरा निर्जन भइसकेको थियो ।
अमेरिकी राष्ट्रपति ट्रुमेनले एक घोषणामा भने, ‘केहीबेर अघि अमेरिकी एउटा विमानले हिरोशिमामा एउटा बम खसालेर दुश्मन पक्षलाई ठूलो क्षति पुर्याएको छ । त्यो बम २० हजार टन टीएनटी क्षमताको थियो र अहिलेसम्म प्रयोगमा ल्याइएको सबैभन्दा ठूलो बमको तुलनामा दुई हजार गुणा अधिक शक्तिशाली थियो ।’
उनले भने, ‘यो बमका रुपमा हामीलाई हतियारको शृंखलामा एउटा नयाँ क्रान्तिकारी विध्वंसक हतियार प्राप्त भएको छ, जसले हाम्रो सेनालाई थप शक्तिशाली बनाएको छ । यतिबेला त्यस्तो बमको उत्पादन भइरहेको छ । साथै योभन्दा पनि बढी खतरनाक बम बनाउने काम भइरहेको छ । यो परमाणु बम हो, जसमा ब्रम्हाण्डको शक्ति छ । यस वैज्ञानिक उपलब्धि हासिल गर्नका लागि हामीले दुई अर्ब डलर खर्च गरेका छौं ।’
जापानी स्कूलकी एक छात्रा जिन्को क्लाइन हिरोशिमाको रेलवे स्टेशनमा आफ्ना केही साथीसँग बसिरहेकी थिइन् । उनी बसेको स्थानको नजिकै परमाणु बम खसेको थियो ।
क्लाइन भन्छिन्, ‘मैले एउटा ठूलो विस्फोटको आवाज सुनेँ, मलाई ठूलो दबाब महसुस भयो । मेरो आँखा पोल्न थाल्यो, केही समयका लागि म बेहोस भएँ । जब मलाई होस आयो, आकाश पुरै कालो भइसकेको थियो । चारैतिरबाट मद्दतका लागि आवाज आइरहेको थियो । मलाई श्वास लिन गाह्रो भइरहेको थियो, म पनि चिच्याउन थालेँ ।’
भाग्दै उनी एउटा पहाडी क्षेत्रमा पुगिन् । त्यहाँ प्रशस्त शव थिए, घाइतेहरु चिच्याइरहेका थिए । घाइते र शवका बिस्कुनबीच उनी भौंतारिइरहेकी थिइन् ।
साँझ करिब पाँच बजे उनी आफ्ना आमाबुवालाई भेट्टाउन सफल भइन् । बाटोभरी जलेका शव, नदीमा पनि शव तैरिइरहेको उनले देखेकी थिइन् । बम खस्दा सहर बाहिर रहेका कारण उनको पिता सकुशल थिए तर आमा पूर्ण रुपमा घाइते थिइन् । केही दिनमै उनको शरीरमा विकिरणको असरले फोका देखिन थाल्यो भने कपाल पनि झर्न थाल्यो ।

६ अगस्ट १९४५ मा हिरोशिमामा जो थिए, उनीहरु या त मरिसकेका थिए भने जो बँचेका थिए, उनीहरुमाथि रेडियो विकिरणको नराम्रो असर परेको थियो । यो एउटा यस्तो असर थियो, जो आगामी पिढीसम्म देखिने निश्चित थियो ।
‘लिटिल ब्वाय’ हिरोशिमाको वायुमण्डलमा विस्फोट हुँदा १३ वर्ग किलोमिटर क्षेत्रलाई ध्वस्त बनाएको थियो । सहरको ६० प्रतिशतभन्दा बढी भवन नष्ट भएका थिए । त्यतिबेला जापानमा यो हमलामा मारिने नागरिकको आधिकारिक संख्या एक लाख १८ हजार ६ सय ६१ बताइएको थियो । तर पछि गरिएको एक अनुमान अनुसार हिरोशिमाको कुल तीन लाख ५० हजार जनसंख्यामध्ये एक लाख ४० हजार मानिसको मृत्यु भएको थियो । धेरै मानिस लामो बिमारी र अपाङ्गताको सिकार पनि भए । 
             (हालको हिरोशिमा)
BBC


Wednesday, August 5, 2015

क्रिस्टीयानो रोनाल्डोको फरक रुप

फुटबल मैदानमा सधैँ स्टाइलिस फुटबलरका रूपमा प्रस्तुत हुने स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो मंगलबार स्पेनिस राजधानी म्याड्रिडका सडकमा देखिए । रोनाल्डोका लाखौं फ्यान छन् । उनका लागि मरिहत्ते गर्ने लेडिज फ्यानको कमी छैन । तर, मंगलबार उनलाई कसैले पनि चिनेनन् । म्याड्रिडको सडकमा एक सामान्य महिलाले रोनाल्डोलाई आफ्नो फोन नम्बर दिनसमेत मानिनन् । रोनाल्डोले फोन नम्बर माग्दा उनी तर्किएर हिँडिन् । रोनाल्डो सडकमा हिँडिरहेका महिलानजिक पुगेर उनीहरूको फोन नम्बर माग्थे, तर उनीहरू आफ्नो नम्बर दिन अस्वीकार गर्थे । स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर रोनाल्डो फरक गेटअपमा सडकमा निस्किएका थिए । उनी एक व्यापारिक भिडियोका लागि आफ्नो रूप बदलेर सडकमा ओर्लिएका थिए । लामा–लामा दाह्रीजुँगासहित घरविहीन बूढा मान्छेको भेषमा रोनाल्डो म्याड्रिडका सहरमा निस्किएका थिए । 
उनी सडकका खाली ठाउँमा आफ्नो फुटबल कौशल देखाउँदै मानिसहरूसँग नजिकिन खोज्थे । तर, उनलाई देखेर मानिस भाग्थे । अन्त्यमा उनले एक सामान्य बालकलाई अंकमाल गर्दै आफ्नो असली रूप देखाएपछि सबै चकित परेका थिए । रोनाल्डोले आफूले खेलेको बल ती बालकलाई उपहार दिँदै आफ्नो असली रूप सार्वजनिक गरेका थिए । त्यसपछि भने अवस्था फरक बन्यो । उपस्थित सबै रोनाल्डोसँग झुम्मिए । सबै उनीसँग कुरा गर्न नजिकिए । हाल चोटका कारण आराम गरिरहेका रोनाल्डो मंगलबार फरक उद्देश्यका लागि आफ्नो रूप बदलेर सडकमा निस्किएका थिए I 

From jukson.com  

Tuesday, August 4, 2015

ग्लोबल फिल्म फेस्टिभलमा पाँच नेपाली चलचित्र मनोनयनमा

एफ.आइ.एको आयोजनामा अगस्त ७ देखि १६ सम्म सञ्चालन हुने सन फ्रान्सिसिस्को ग्लोबल फिल्म फेस्टिभलमा दुईवटा छोटा चलचित्रसहित पाँच नेपाली चलचित्र मनोनयनमा पर्न सफल भएका छन् । महोत्सवमा नेपालबाट मनोनीत चलचित्रमा विष्णु पाण्डेद्वारा निर्देशित साँघुरो, शंकर घिमिरेको तुलसी, उदय सिजापतिको टाटा वाईवाई रहेको छ भने दुई छोटा चलचित्रअन्तर्गत फूलमान वलको सेलफोन र जसकुमार राईको सेक्रिफाइस नेभर डाई रहेका छन् । 
यो सँगै सान फ्रान्सिसिस्को ग्लोबल फिल्म फेस्टिभलमा चलचित्रकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित पनि गरिने भएको 
छ । सम्मानित हुनेहरूमा हलिउड अभिनेता ज्याकी च्याङ, बलिउड अभिनेत्री रानी मुखर्जी र जुही चाउला एवं नेपालबाट अभिनेता सुनिल थापा रहेका छन् । 

साथै फेस्टिभलमा नेपालबाट सुनिल थापा, नन्दिता केसी, केकी अधिकारी, विल्सन विक्रम राई, राजभल्व कोइराला, निरज बराल, पुजना प्रधान, नरेश देव पन्त, ऋचा घिमिरे, अनुशिल श्रेष्ठ, जस कुमार राई, राजकुमार लामा सहभागी हुने बताइएको छ । संस्थाका ग्लोबल डाइरेक्टर प्रकाश थापाका अनुसार नायिका नन्दिता केसी र केकी अधिकारीले नेपाली सांस्कृतिक झल्किने नृत्य प्रस्तुत गर्नेछन् । फेस्टिभलमा ३० देश का २५० चलचित्रले सहभागिता जनाउनेछन् । 

Sunday, August 2, 2015

जापानको शिनोकोबू फ्लिम फेस्टिवलमा नेपलको वृत्तचित्र फिलिम सुन्काली प्रदर्शन हुने

अगस्ट १७ र १८ तारिक जापानको शिनोकोबू फ्लिम फेस्टिवलमा नेपलको वृत्तचित्र फिलिम सुन्कालीप्रदर्शन हुने भएको छ | नेपलको दुर्गम क्षेत्र मानिने मुगु जिल्लामा रहेका  महिला फूटबल टिममा केन्द्रित रही बनायिएको सो  वृत्तचित्र पत्रकार भोजराज भाट द्वारा निर्देशित वृत्तचित्र फिलिम हो |

सो वृत्तचित्रले १२औ के.आइ.एम.एफ मा दुइ पुरस्कार र छैटौं टोरोन्टो फ्लिम फेस्टिवल मा औडीइन्स अवार्ड प्राप्त गर्न सफल भएको थियो |जापानमा भने सो वृत्तचित्र अगस्ट १७ र १८ तारिक शिनोकोबू फ्लिम फेस्टिवलमा प्रदर्शन हुने भएको छ |
कास्ट

निर्देशक: भोजराज भाट
पटकथा: बिमल सिंह
संगीत: कुटुम्ब
शूटिंग: प्रकाश के.सी., मनोज महर्जन, जीवन  श्रेष्ठ,
सम्पादन: भरत मणि रेग्मी,
सब टाइटल: भोजराज भाट
सब टाइटल  अनुवाद: बिश्नुमान  भट्टराई
कास्ट: सुनकलि बुद्ध
उत्पादन साल: २०१३
देश: नेपाल,
चलचित्र अवदी: ५१ मिनेट

Saturday, August 1, 2015

आउँदो आईतबार टोकियोमा नेपाली चलचित्र "आभाष" प्रदशन हुने

अगस्ट २ तारिक आईतबार टोकियोमा क्रिएटिभ फिल्मसको ब्यानरमा बनेको नेपाली चलचित्र "आभाष" प्रदशन हुने भएको छ I नेपालमा बैशाख १२ गते गएको महाभूकम्पले क्षतिग्रस्त बन्न पुगेको बिद्दालय भवनहरुको पुन निर्माणको लागि सहयोग गर्ने उद्देश्यले उक्त चलचित्र प्रदशन गर्न लागिएको भन्ने कुरा सम्बन्धित पक्षले "सहयात्री जापान"लाई  जानकारी गराए I 

 आइतबार बेलुकी ९ बजे बाट सिन्जुकु स्थित युनिभर्सल सिटि हलमा चलचित्र "आभाष" प्रदशन गरिनेछ I चलचित्र प्रदशन बाट उठेको रकम क्षतिग्रस्त बिद्दालय भवन पुन निर्माणको लागि प्रयोग गरिने भएकोले आफुले सक्दो रकम हस्तान्तरण गरेर सहयोग गरिदिनु हुन भनि सम्पूर्ण जापानबासी नेपालीहरुलाई आयोजक पक्षले बिनम्र अनुरोध गर्नुभयो I तेसैले टिकट दर भने तोकिएको छैन I 

टिनएजरस लभ स्टोरीमा आधारित उक्त चलचित्रमा निशा अधिकारी,संयम पुरी,आश्मा डिसी र सलोन बस्नेतको अभिनय रहेको छ भने चलचित्रको निर्माता मध्ये एक गोबिन्द शाही हाल जापानमै हुनुहुन्छ I 

जापानमै बसोबास गर्ने भवन भट्ट,हरि पाण्डे,मनोज घले,निमा लामा र दिपक शाहीको सक्रियतामा उक्त चलचित्र प्रदशन गर्न लागिएको हो भने अनिल थापा,चन्द्र  उपाध्याय र आशिष रावलले कार्यक्रमको संयोजन गर्नु भएको छ I साथै संयोजन पक्षले उक्त दिन चलचित्र हेर्न आई सहयोग गरिदिनु हुन सम्पूर्ण जापानबासी नेपालीहरुलाई अपिल गरिएको छ I 

लोकप्रिय समाचार