Tuesday, March 31, 2015

तिन साताको अन्नपुर्ण ट्रेकिंग रुट अहिले तिन दिनमा I मोटर बाटोले पदयात्रा मार्ग छोट्यायो

कुनै बेला अन्नपूर्ण फेरोको पदयात्रा अवधि करिब तीन साताको थियो। पर्यटकहरू लमजुङ सदरमुकाम बेँसीसहरबाट हिँडेको तीन सातापछि मनाङ, मुस्ताङ र म्याग्दीका विभिन्न ठाउँ पार गर्दै कास्कीको बिरेठाँटी निस्कन्थे। 

मुस्ताङ र मनाङ दुवै जिल्लाबाट मोटरबाटो विस्तारहुँदै गएपछि भने तीन साताको ट्रेकिङ रुट तीन दिनमा झरेको छ। मोटरबाटोले पदयात्रा मार्ग छोट्याएपछि साहसिक पर्यटनका लागि चिनिँदै आएको अन्नपूर्ण फेरोको पहिचान गुम्ने खतरा बढेको सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।


‘मुस्ताङतिरबाट आउँदा मुक्तिनाथसम्म गाडी उक्लेको छ। मनाङमा पनि खाङसारसम्म मोटर पुग्ने भयो,' मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले भने, ‘खाङसारबाट थोराङ्ला भन्ज्याङ (५४१६ मि) पार गरेर मुक्तिनाथ झर्दा बढीमा ३ दिन हिँडे पुग्छ।' गुरुङका अनुसार मनाङ पुगेको पर्यटक अब एक दिनमा याकखर्क, दोस्रो दिन थोराङलाफेदी वा हाइक्याम्प र तेस्रो दिन मुक्तिनाथ निस्कन सक्छ। 
दुई वर्षअघि मनाङ सदरमुकाम चामेसम्म बेसीसहर हुँदै मोटर पुगेको थियो। अहिले चामेबाट माथिल्लो मनाङसम्म जाने मोटरबाटो पनि खुलेको छ। चामे र  भ्राताङमा मर्स्याङ्दी नदीमाथि पुल बनेपछि चामे अब उपल्लो मनाङसँग मोटरबाटोले जोडिएको छ। यसले पदयात्रा अवधि निकै घटाएको गुरुङले बताए।

 
मोटर चल्न थालेपछि चामे–मनाङ ३१ किलोमिटर खण्डको पैदलयात्रा पूरै घट्नेछ। ‘मनाङमा मोटर गुड्न थालेसँगै पदयात्रा अवधि घट्न थालेको थियो। तर, अब त्यो पनि छोटिने भयो,' गुरुङले भने। यसले छोटो अवधि लिएर आउने पर्यटकलाई सहज भए पनि साहसिक पर्यटनका लागि आउनेहरू भने निकै घट्ने उनको गुरुङको भनाइ छ। 
उनका अनुसार चिनियाँ, जापानी, कोरियन पर्यटक छोटो पदयात्रा चाहन्छन्। छोटो बाटो आन्तरिक पर्यटक प्रवर्द्धनमा पनि सहयोगी बन्न सक्छ। ‘पोखराबाट हिँडेको एक सातामा थोराङ्ला भन्ज्याङ पार गरेर पोखरै पुग्न सकिने भयो। कतिपयका लागि सहज भए पनि साहसिक गतिविधि रुचाउने पर्यटक यो रुटमा हिचकिचाउँछन्,' उनले भने। मोटरबाटो विस्तारसँगै तिलिचो तालको पदयात्रा पनि खुम्चिएको उनले बताए। ‘अब ५ दिनको पदयात्रामै तिचिलो र थोराङला भन्ज्याङ पार गर्न पाइने भो,' उनले भने, ‘पदयात्राका भरमा चलेको हिमालपारिको पर्यटन व्यापारका लागि अब वैकल्पिक पदयात्रा रुट चाहिएको छ।'
टे्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल संघका अध्यक्ष रामचन्द्र शर्मा बढ्दो मोटरबाटोले अन्नपूर्ण फेरोेको पदयात्रा पहिचान हराउने जोखिम बढेको बताउँछन्। ‘सबैतिरबाट सडक विस्तार हुँदै जाँदा तीन साताको पदयात्रा तीन दिनमा झरेको छ। मोटरबाटोले पदयात्रा रुचाउने पर्यटकलाई हतोत्साही बनाउँछ,' उनले भने, ‘अन्नपूर्ण फेरोको पहिचान हराउने खतरा बढ्दै गएको छ।'
पोखरा पर्यटन परिषद् अध्यक्ष सोम थापा पनि वैकल्पिक पदमार्ग विस्तार नगरे अन्नपूर्ण फेरोको पदयात्रा व्यापार खस्कने बताए। ‘विकास हुनु नराम्रो होइन तर मोटरबाटोले हिमाली पर्यटनलाई नोक्सान पुर्यारउँछ,' उनले भने, ‘त्यसैले वैकल्पिक मार्ग खोज्नैपर्छ।' 
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का पर्यटन अधिकृत नरेन्द्र लामा तीन साताको पदयात्रा अवधिले नै अन्नपूर्ण फेरोलाई विशिष्ट पहिचान दिएको बताउँछन्। ‘साहसिक पदमार्गका रूपमा चिनिएको थियो। अब तीन दिन हिँडे पुग्छ। यसले अन्नपूर्ण फेरोको पहिचान मेटाउँदै छ,' उनले भने, ‘त्यसैले वैकल्पिक पदमार्ग खोज्ने काम भइरहेको छ।' 
उपल्लो मनाङसम्मै गाडी मर्स्याङ्दी नदीमा दुई पुल बनेपछि अब गाडीमै उपल्लो मनाङ पुग्न सकिने भएको छ। पुल उद्घाटनसँगै सोमबार पहिलोचोटि मनाङ गाउँ (३५३० मिटर) मा गाडी पुगेका छन्। 
सोमबारदेखि मोटरबाटो खुला गरिएको मनाङ प्राविधिक कार्यालयका इन्जिनियर दयाराम अधिकारीले जानकारी दिए। उनका अनुसार सदरमुकाम चामेनजिकै र भ्राताङमा पुल हालिएको हो। ग्रामीण पुनर्निर्माण तथा पुनःस्थापना कार्यक्रम (टि्रपलआर एसडिपी) अन्तर्गत यी दुई पुल बनेका हुन्। ‘अब मनाङको माथिल्लो क्षेत्र सदरमुकाम चामेसँग सडक सञ्जालले जोडिएको छ। यसले उपल्लो क्षेत्रका बासिन्दालाई राहत मिल्नेछ।'
अधिकारीका अनुसार भ्राताङको पुल बनाउन करिब २ करोड ७० लाख र चामेको पुल बनाउन ३ करोड ११ लाख रुपैयाँ खर्च भएको छ। दुवै पुल ३५ मिटर लम्बाइका छन्। ‘अहिलेसम्म बेसीसहरदेखि चामेसम्म (६५ किलोमिटर) मोटर पुगेको थियो। आजै २५ किलोमिटर बाटो थपिएको छ,' उनले भने, ‘मनाङमा अब मोटरबाटो ९० किलोमिटर पुगेको छ।' 
सडक खुलेपछि सोमबार करिब २ दर्जन सवारी सामानसहित माथिल्लो क्षेत्र गएका छन्। उपल्लो क्षेत्रमा मोटर पुगेसँगै साहसिक पदयात्रा रुचाउनेको संख्यामा कमी आउने जोखिम रहे पनि आन्तरिक पर्यटक भने बढ्ने व्यवसायीले आशा गरेका छन्। ‘मनाङमा पछिल्लो समय आन्तरिक पाहुना बढ््न थालेका थिए। माथिसम्म मोटरबाटो पुग्दा अझै बढ्ने आशा छ,' एक व्यवसायीले भने, ‘साहसिक पदयात्रा रुचाउने विदेशी पर्यटक भने मोटरबाटोका कारण हच्किन्छन्।' 

हिउँ हटाएर बाटो खुलाइयो केही दिनअघिको हिमपातले उपल्लो मनाङको सडक अवरुद्ध गरेकामा स्थानीयले सोमबार डोजर लगाएर हिउँ हटाएका थिए। पर्यटन व्यवसायी बिनोद गुरुङले भ्राताङदेखि हुम्देसम्मको खण्डमा परेको हिउँ र ठाउँठाउँमा झरेको हिमपहिरो हटाउन डोजर लगाउनुपरेको उनले बताए। ‘५/६ ठाउँमा हिमपहिरो झरेको थियो। उपल्लो मनाङ क्षेत्रका विभिन्न ७ वटा गाविसका बासिन्दा मिलेर हिउँ हटाएका हौं,' उनले भने, ‘यसका लागि मात्रै करिब १० लाख रुपैयाँ खर्च भयो।'
(नागरिक निउज बाट साभार)

सरकारले पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि एचपिभी नामक खोप दिन सुरु गर्ने

Cervical_Cancerनेपाल सरकारले महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि एचपिभी (ह्युमन पापिल्लोमा भाइरस) नामक खोप दिन सुरु गर्ने भएको छ ।

नौदेखि १३ वर्ष उमेर समूहका बालिकालाई ६/६ महिनाको अन्तरमा दुई पटक खोप लगाउँदा पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउन सकिने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ ।

दक्षिण एसियामा भारतबाहेक अन्य देशले यो खोपको सुरुवात गरिसकेका छन् भने जापान, अमेरिका, क्यानडा, दक्षिण अफ्रिकालगायत देशले प्रयोगमा ल्याइसकेका छन् । स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालयले चितवन र कास्कीबाट यसैवर्ष सो खोपको सुरुवात गर्ने तयारी गरिरहेको छ ।

खोपका लागि गाभी नामक अन्तर्राष्ट्रिय संस्थाले मन्त्रालयलाई आर्थिक सहयोग गर्ने भएको छ । ती दुई जिल्लाका करिब १५ हजार बालिकामा खोप लगाइसकेपछि यसका आधारमा मन्त्रालयले अन्य जिल्लामा कार्यक्रम विस्तार गर्ने डब्लुएचओका खोपविज्ञ डा सन्तोष गुरुङले जानकारी दिनुभयो ।

स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा करिब दुई हजार ५०० महिला पाठेघरको मुखको क्यान्सरबाट पीडित हुने गर्छन् । यो आँकडा सातवटा क्यान्सर अस्पतालमा आउने बिरामीका आधारमा प्रक्षेपण गरिएको हो ।

यसैबीच, यो खोपबारे जानकारी गराउन डब्लुएचओद्वारा आयोजित चारदिने बैठक काठमाडौँमा जारी छ । बैठकमा नेपालसहित बङ्गलादेश, म्यान्मार, भुटान, कम्बोडिया, श्रीलङ्कासहित विश्व स्वास्थ्य स¬ङ्गठनको मुख्यालय जेनेभा, राष्ट्र सङ्घीय जनसङ्ख्या कोष, राष्ट्र सङ्घीय बालकोषका प्रतिनिधिको सहभागिता रहेको छ ।

चारदिने सो बैठकमा डब्लुएचओका नेपाल प्रतिनिधि डा लिन वाङले पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि एचपिभी खोप सुरक्षित भएको डब्लुएचओले प्रमाणित गरिसकेकाले यसलाई समुदायमा लान आवश्यक छ भन्नुभयो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सेनेन्द्र उप्रेतीले महिलाको स्तनमा भन्दा पाठेघरको मुखमा बढी क्यान्सर हुने गरेको बताउनुभयो ।

(Hamrakura)

Monday, March 30, 2015

एप्पलले यो बर्ष एकसाथ तीनवटा नयाँ मोडलका आइफोन सार्वजनिक गर्दै


एप्पलले यो बर्ष एकसाथ तीनवटा नयाँ मोडलका आइफोन सार्वजनिक गर्दै छ ।गत बर्ष सेप्टेम्बरमा नयाँ मोडलका आइफोन सार्वजनिक गर्दै आएको एप्पलले यो बर्ष एकैपटक तीनवटा नयाँ मोडल सार्वजनिक गर्न लागिएको प्रबिधि अनलाइन डिजी टाईम्स ले जनाएको छ ।

समाचारअनुसार एप्पलले यो बर्ष आइफोन ६ एस, आइफोन सिक्स एस प्लस र आइफोन सिक्स सी मोडल सार्वजनिक गर्दै छ ।

एप्पलले गत बर्ष आइफोन सिक्स र आइफोन सिक्स प्लस सार्वजनिक गरेको थियो । पहिलोपटक ठूलो साइज र नयाँ सुबिधासहित आएको आइफोनको बिक्रि यति धेरै बढ्यो कि एप्पलले अहिलेसम्मकै उच्च अर्थात १८ अर्ब अमेरिकी डलर नाफा कमायो ।

यो बर्ष एप्पलले पोहोर साल सार्वजनिक भएका फोनको अपग्रेडेड भर्सन सार्वजनिक गर्दै छ । त्यसबाहेक ४ इन्च स्क्रिनयुक्त आइफोन सिक्स सी पनि आउन लागेको स्रोतको हवाला दिँदै डिजिटाइम्सले जनाएको छ ।

एप्पलले दुई बर्ष प्लास्टिक कभरयुक्त सस्तो मूल्यको आइफोन फाइभ सी सार्वजनिक गरेको थियो । सोही मोडलको नयाँ भर्सनका रुपमा आइफोन सिक्स सी आउन लागेको छ जुन चार इन्च स्क्रिनयुक्त साइजको हुने छ । एप्पलले चीन र भारतजस्ता कम आय भएका ठूला बजारलाई लक्षित गर्दै आइफोन फाइभ सी बजारमा ल्याएको थियो ।

नयाँ आइफोनमा कस्ता सुबिधा थपिनेछन भन्ने अहिले नै स्पष्ट भएको छैन् । तर, समाचारमा जनाइएअनुसार दुईवटा लेन्सयुक्त क्यामेरा प्रयोग हुने अनुमान गरिएको छ । यसैगरि नयाँ आइफोनमा फोर्स टच प्रबिधि ल्याइने छ जसले हल्का टच र लामो समयको टचवीच अन्तर थाहा पाउने छ । अर्थात तपाईले कुनै आइकनमा हल्का टच गर्नुभयो भने एउटा नतिजा दिने छ भने सोही बटन लामो समयसम्म टच गर्नुभयो अर्कै काम गर्ने छ ।


Sunday, March 29, 2015

विश्वकप क्रिकेटको उपाधिसँगै माईकल क्लार्कद्वारा एक दिवसीय क्रिकेटबाट सन्यासको घोषणा

 

विश्वकप क्रिकेटको उपाधिसँगै अष्ट्रेलियाका कप्तान माईकल क्लार्कले एक दिवसीय क्रिकेटबाट सन्यास लिएका छन् ।

कप्तानको रुपमा पहिलो पटक विश्वकप क्रिकेटमा सहभागि क्लार्कले टोलीलाई उपाधि दिलाँउदै सफल सन्याल लिएका हुन् ।

सन् २००३ मा इंग्लण्ड विरुद्धको खेलबाट एक दिवसिय खेलमा डेब्यु गरेका क्लार्कले त्यसपछि आजको समेत कुल २ सय ४५ एक दिवसीय खेल खेलेका छन् ।

एक दिवसीयबाट सन्यास लिएपनि क्लार्कले टेष्ट क्रिकेटलाई भने निरन्तरता दिने जनाएका छन् ।

क्लार्क यो विश्वकपबाट सन्याल लिने अन्तिम खेलाडी बनेका छन् । यसअघि श्रीलंकाका किर्तीमानी खेलाडीहरु कुमार सांगाकार र माहेला जयवर्दने, पाकिस्तानका मिसवाह उल हक र साहिद अफ्रिदी तथा जिम्बाबेका ब्रेण्डन टेलरले एक दिवसिय क्रिकेटबाट सन्यास घोषणा गरीसकेका छन् ।


Saturday, March 28, 2015

फेसबुक, गुगललाई चुनौती दिने "सगुन डटकम" बनाय नेपालीले

 इन्टरनेट प्रयोगकर्ताहरुमाझ लोकप्रियता हासिल गरेका गुगल, फेसबुक, ट्यूटर, ह्वाट्सएप जस्ता साइट अर्थात सोसियल नेटवर्कलाई नै चुनौति दिन सक्ने सोसियल कम्यूनिकेशन साइट ‘सगुन डटकम’ले एसियाली देशहरुमा आफ्नो उपस्थिति देखाउन थालेको छ ।

अमेरिकामा बस्ने नेपालीहरुले बनाएको सगुन प्रयोग गर्दा अर्थात 
खाता खोल्दा पैसा पाउन सकिने भएपछि प्रयोगकर्ताहरु यसतर्फ आकर्षित भएका हुन् ।

इन्टरनेटमा लत बसेकाहरु वा सोसियल नेटवर्क साइटहरुमा अभ्यस्त बन्न चाहने प्रयोगकर्ताहरुले  सगुनलाई सजिलो र धेरै सुविधायुक्त नेटवर्कका रुपमा स्विकारेका छन् ।

अमेरिकामा बसेर एप्लिकेसन निर्माणमा जुटेका गोबिन्द गिरीको नेतृत्वको इन्जिनियरहरुको समुहले यस्तो एप्लिकेसनको विकास गरेपछि चल्तीमा रहेका सोसियल साइटहरुलाई चुनौती बनेको छ ।

पैसा प्राप्त गर्ने सुविधा, यसमा खाता खोलेपछि सबै नेटवर्कहरुको प्रयोग गर्न सकिने एडभान्स साइटको विकास भएपछि विश्वभर वर्चस्व जमाएर बसेका अन्य एप्लिकेशन कम्पनीहरुलाई चुनौति थपिएको हो ।

सन् २००९ मा सर्च इन्जिनका रुपमा विकास भएको सुगुनलाई थप परिमार्जन गरी सार्वजनिक गरेपछि यसलाई रुचाउनेहरु नेपाल, भारत, अष्टेलिया, अमेरिकालगायतका देशहरुमा धेरै देखिएका छन् ।

सार्वजनिक भएको केही साताममै यसमा खाता खोल्नेहरुको संख्या दुईलाख हाराहारीमा पुगेको छ । लगइन वा एड गरेको आधारमा अन्य साइटहरु स्वयमले पैसा पाउने व्यवस्था हुने  भएपनि सगुनले प्रयोगकर्तालाई पनि साझेदारका रुपमा अघि सारेको संस्थापक गोविन्द गिरी बताउँछन् ।

‘यसलाई ब्राण्डिङ्गका रुपमा विकास गरेर इन्टरनेट प्रयोगकर्ताहरुलाई नयाँ स्वाद दिन खोजेका हौ,’उनले भने–‘हामीले आफू मात्र कमाउन खोजेका होइनौं प्रयोगकर्तालाई पनि साझेदारका रुपमा अघि सारेका छौं ।’

के छ सुविधा

सगुनमा खाता खोलेपछि अन्य सोसियल नेटवर्कहरुको तुलनामा पृथकता पाउन सकिन्छ । फेसबुक, ट्वीटर, ह्वाटसएप, स्न्यापच्याट, इन्स्टागामसहितका मेसेजिङ्गको विशेषता यसमा पाउन सकिन्छ । यसमा रहेको ‘माई सेक्रेट’ नामक फिचरबाट आफनो गोप्य कुरा, फोटोहरु परिवारका सदस्य, साथी र आफ्नो समुदायका व्यक्तिहरुलाई बाँड्न सकिन्छ ।

आफ्नो दैनिकीलाई सेडयूलमा राखेर पोष्ट गर्न सकिन्छ । यसैगरी आफ्नो समुह व्यवस्थित गरेर टेक्स्ट, फोटो र स्टिकरहरु आदन प्रदान पनि गर्न सकिन्छ । सगुनबाट पठाएको फोटो तथा सूुचना सेयर हुनासाथ डिलिट हुन्छ । अर्को नौलो सुविधा भनेको तीनवटा फोटोहरु एउटै फोटो बनाई सेयर गर्न सकिने सुविधा हो ।

अर्को चाहीं अलइनवान पेज महत्वपूर्ण मानिन्छ । ग्रिटिङ, क्यालेन्डर जस्ता अत्यावश्यक फिचर पनि यसमै भएकाले एउटै पेजबाट भेराइटी फिचर बनाउन सकिन्छ । यी बाहेक सुगनडटकम प्रयोग गर्दै गएपछि अन्य धेरै सुविधाहरु उपयोग गर्न सकिन्छ ।

खाता खोल्ने तरिका

अन्य सोसियल साइटहरुजस्तै sagoon.com खोलेपछि यसभित्र गएर सगुनको आधिकारिक सदस्य बन्न सकिन्छ । अन्य सोसियल नेटवर्कमा साथी नबनेको भए ‘साइन अप’मा गएर नयाँ युजर नेम र पासवर्ड राखेर यसको सदस्य बन्न सकिन्छ ।

फेसबुक, टयूटरमा सदस्य बनिसकेको भए फेसबुक, टयूटरमा गएर ‘कनेन्ट विद फेसबुक वा टयूटर’मा गएर क्लिक गरी सदस्य बन्न सकिन्छ । खाता खोलेपछि अन्य नेटवर्कमा भएका साथीहरुलाई रिक्वेस्ट पठाएर साथी बनाउन सकिन्छ । सगुनमा साइनइन गरेर सदस्य बनेर नियमित प्रयोग गर्न थालेपछि धेरै सुविधाहरुको उपयोग गर्न सकिन्छ ।

यसरी प्राप्त हुन्छ पैसा

फेसबुक, ट्वीटर, ह्वाटसएप, स्न्यापच्याट, इन्स्टागामसहितका मेसेजिङ साइटको विशेषता भएको सोसियल कम्युनिकेशन साइट सगुन डटकममा पहिलो पटक खाताखोल्दा ५ डलर प्राप्त हुन्छ । रकम ५ डलरमा मात्र सिमित हुँदैन । क्रमशः यसको रकम बढदै जान्छ ।

त्यसकालागी साइटमा भएका फिचरहरुको प्रयोग गर्दै जाँदा निश्चित रकम पिग्गी बैंकमा जम्मा हुँदै जान्छ । बैकमा जम्मा भएको पैसा क्यास चाहीं लिन पाइदैन । जम्मा भएको रकमबाट निश्चित समय पछि सगुनका सुचिकृत बिक्रेता कहाँ गएर सामान खरिद गर्न सकिन्छ ।

यस साइटलाई सोसल स्मार्ट कार्डको रुपमा पनि प्रयोग गर्न सकिन्छ । विशेष प्रकारले डिजाइन भएको यस कार्डले ग्राहकलाई अनलाइन सपिङ गर्न साथै उपहार पठाउन सहयोग गर्छ ।

सुचिकृत विक्रेताकहाँ गएर सबैभन्दा पहिले यो स्मार्ट कार्डको प्रयोग गर्नेले ५ अमेरिकी डलर बराबरको पुरस्कार पनि प्राप्त गर्न सकिने व्यवस्था छ । स्थानीय स्तरका बस्तुहरु प्राप्त गर्न पनि सगुनले प्रयास जारी राखेको छ । 
भावी योजना

सगुनडटकम टीमले विश्वमा भइरहेको प्रविधिको चामत्कारिक फडकोमा आफूलाई दरिलो स्पर्धीको रुपमा उभ्याएर काम थालेको छ । संस्थापक गोबिन्द गिरीले ‘लङ ट्रम भिजन’ बनाएर तिब्र रुपमा कामहरु अघि बढाइरहेको बताएका छन् । उनले यस्तो अनौठो र ‘विग ड्रिम’ लामो समयको अध्ययन पश्चात तय गरेको जिकीर गरेका छन् ।

विश्वभरका इन्टरनेट प्रयोगकर्ताहरुले उपयोग गरिरहेका चल्तीका सोसियल साइटहरुमाझ केहीबर्षमै दरिलो प्रतिस्पर्धीका रुपमा आफूहरुलाई खडा गर्ने दावी उनको छ ।

सानो देशको नागरिक भएपनि नेपाली पहिचानका रुपमा यसलाई विश्वभर सर्वाधिक प्रयोगकर्ताको मन जित्ने टीमको योजना छ । अन्य साइटहरु प्रयोग गरेवापत प्रयोगकर्ताहरुले पैसा भुक्तान गरिरहेको छन् । तर सगुनले प्रयोगकर्ताहरुमार्फत कमाएको नाफालाई साझेदारी गर्ने काम गरिरहेको छ ।

सगुनको पहिलो भर्सन सार्वजनिक भएपछि प्रयोगकर्ताको मनसाय बुझेर एडभान्स योजनाहरुको काम सुरु भइसकेको टीमले बताएको छ ।

तीन–तीन महिनामा भर्सनहरु चेन्ज हुनेछन् । अबको भर्सनमा ‘कम्यूनिटी इभेन्ट’, ‘मुडवेस कन्भर्सेसन’, सिटी गाइट, मोबाइल एप्लीकेसन जस्ता सुविधाहरु थप गरिनेछ । अमेरिकी, स्पेनिस, अफ्रिकीहरुलाई लक्षित गरि सगुन थप विस्तार गर्ने तयारी गरिरहेको छ । 

(ईमेज खबरबाट साभार)

क्यारेक्टर जन्माउने हाकु काले

 निर्देशकले पात्र जन्माउँछन्, हुलिया र पृष्ठभूमी तयार पार्छन् । कलाकारले त निर्देशकले देखाउन खोजेको पात्रको रूपमा आफूलाई क्यामेरासामु ढाल्ने जमर्को मात्र गर्ने हुन् । निर्देशकको कथामा फिट हुने चरित्र आफैं जन्माउने कल्पनासिल कलाकार अपवाद मानिन्छन् । तीनै अपवादमा पर्छन्, अभिनेता सौगात मल्ल । आफ्ना चरित्र कि आफैं जन्माउँछन् । होइन् भने उनको प्रभावकारी 'इनपुट' रहन्छ नै । लुटको हाकु कालेबाट सुरु भएको उनको यो शैली षड्ङगसम्म आइपुगेको छ ।

सुरज सुनुवार निर्देशित यो फिल्ममा उनी मधेसी मुलको कालु यादवको भूमिकामा देखिदैछन्, जसको ओरिजिल आइडिया सौगातकै हो । निर्देशक सुरज धक नमानी भन्छन्, 'पात्रको नाम मात्र होइन्, पृष्ठभूमि, लुक्स, नक्कली सुनको दाँत, जुंगा घुमाउने सबै आइडिया सौगातकै हो ।' नयाँ प्रयोग गर्न रूचाउने सौगातले यसपटक अवधी र भोजपुरी टोन मिसाएर बोलेका छन् । गुपचुप सुटिङ सकिएपनि फिल्मको ट्रेलर छोटै समयमा यू-ट्युबमा हिट हुनु पछाडिको पहिलो कारण सौगात र उनको संवाद मानिएको छ ।

अनुप बराल, प्रियंका कार्की, विजय लामाजस्ता चिनिएका अनुहारको अभिनय भएपनि ट्रेलरमा सौगात पुरापुर हाबी छन् । सुरजका अनसार सौगातले अहिले निर्वाह गरेको कालु यादव भूमिकाको नाम सुरुमा गाँजले थियो । तर सौगातले स्क्रिप्ट  सुनेपछि पात्रको रूपरेखा पूरा बदलियो । उनले गाँजलेलाई मधेसी मुलको कालु यादव नै बनाउनुको पनि रोचक कारण छ । सौगातको बाल्यकाल नवलपरासीमा बितेको थियो । परासीबजारबाट तीन किलोमिटर भित्र पर्ने नदवा गाउँमा हुर्किएका उनका अधिकांश साथी अवधी, भोजपुरी र हिन्दी भाषा बोल्थे ।

सौगात भन्छन्, 'षड्ङगको स्क्रिप्ट सुन्नासाथ मेरो मनमा रहेको क्यारेक्टर ठ्याक्कै फिट हुन्छ जस्तो लाग्यो । निर्देशकलाई भनें । उहाँ पनि उत्साही हुनुभयो । र, जन्मियो कालु यादव ।' लुटपछि सौगातका ९ फिल्म रिलिज भए । अधिकांश फिल्ममा उनी फरक भूमिकामा देखिए र प्रसंशा पनि पाए तर न कुनै फिल्म व्यावसायिक रूपमा सफल भयो, न हाकु काले नै रिप्लेस भयो । त्यसैले तत्कालका लागि अभिनेताको रुपमा उनको सबैभन्दा ठूलो चुनौती हाकु कालेको ट्रेडमार्क हटाउनु हो ।

(साभार ekantipur)

Wednesday, March 25, 2015

शरीरमा पानिको कमीले हुने पत्थरी रोग बाट जोगिने उपायहरु

मानिसहरुलाई पत्थरीको समस्या आम रुपमा नै हुन्छ । गर्मी मौषममा त पत्थरीका विरामी ४० प्रतिशतले वृद्धी हुने चिकित्सकहरु बताउँछन् । पत्थरी हुनुको मुख्यकारण शरीरमा पानीको कमी, तापक्रम, आद्रता लगायत हुन् । नेपालमा लाखौं मानिस पत्थरीबाट पीडित छन् ।

यहाँ पत्थरीबाट जोगिनका लागि गर्नु पर्ने ७ कामको चर्चा गरिएको छ ।

१ प्रयाप्त पानी पिउनुस्ः गर्मी मौषममा पत्थरी हुने मुख्य कारण पानीको कमी हो । गर्मीमा शरीरमा पानीको माग बढी हुन्छ । कम्तिमा २ घण्टामा बाथरुम जानु हुन्न भने बुझ्नुस् तपाइँले कम पानी खाँदै हुनुहुन्छ । गर्मीमा प्रयाप्त पानी पिउनु पत्थरीबाट मुक्ति पाउने एउटा सरल उपाय हो ।

२ कागतीको शरवतः गर्मी मौषममा कागती हालेर बनाएको शरवत राम्रो हुन्छ । यसले पत्थरीबाट जोगाउँछ । यसले पेटमा हुने समस्याबाट पनि जोगाउँछ ।

३ सोडाबाट टाढै रहनुस्ः आजकल खानामा सोडा मिसाउने चलन आमरुपमा नै छ । तर पत्थरीका लागि भने सोडा घातक मानिन्छ । पत्थरीबाट बँच्नका लागि सोडा हुने खानाबाट बँच्नुस् । गर्मीमा आइस टी, चकलेट, रुबाब र स्ट्रबेरी सेवन नगरेकै राम्रो ।

४ क्याफिन नखानुस्ः गर्मी मौषममा पत्थरीबाट बँच्नका लागि गर्मी महिनामा चिया कफी नखाएको राम्रो मानिन्छ । किन भने चिया कफीमा क्याफिनको मात्रा उच्च हुने हुँदा यो पत्थरीका लागि घातक मानिन्छ । क्याफिनले शरीरमा पानीको कमी हुने अवस्था उत्पनन्न गराइँदिन्छ । चिया कफीको साटो पानी प्रयाप्त मात्रामा पिउनु राम्रो मानिन्छ ।

५ नून कम खानुस्ः गर्मीमा पत्थरीबाट बँच्नका लागि नुनको सेवन कम गर्नु नै राम्रो मानिन्छ । सँधै खाने भन्दा पनि कम नून गर्मी महिनामा खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । नुनले पत्थरी हुने खतरा बढाउँछ ।

६ डाक्टरको सल्लाहः गर्मीमा पत्थरीबाट बँच्नका लागि चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ । निरन्तर चिकित्सकको परामर्श लिनुस् । पत्थरीबाट बँच्नका लागि सेवन गर्न सकिने औषधीबारे जानकारी लिन पनि चिकित्सकसँग सल्लाह लिनु राम्रो मानिन्छ । कतिपय औषधीले पत्थरीको सम्भावना कम गर्न मद्धत गर्छन् ।

६ प्रोटिन ठिक्क खानुस्ः पत्थरीबाट बँच्नका लागि प्रोटिनको मात्रा नियन्त्रित खानु पर्छ । खानमा माछा मासु र अण्डामा जोड गर्नु भन्दा शाकाहारी भोजनमा जोड दिनुस् । प्राकृतिक शाकाहारी भोजनबाट प्रोटिनको मात्रा पुरा गर्नुस् ।

आउँदो मे ५ तारिक टोकियोमा "नेपथ्य लाईभ" हुदै

नेपालका चर्चित ब्याण्ड "नेपथ्य"ले जापानको टोकियो कामता स्थित ओता कुमिन सेन्टर हलमा लाइब कन्सर्ट गर्ने भएको छ I आउँदो मे ५ तारिक मंगलबार साँझ ५ बजे बाट सुरु गरिने उक्त सांगेतिक कार्यक्रम तमु धिं जापान द्वारा आयोजना गर्न लागिएको हो I 
तमु धिं जापानको बार्षिक कार्यक्रम अन्तर्गत पर्ने रोधीं साँझ (२० औं बार्षिक उत्सब)र नेपाली नया बर्षको शुभ अवसर पारेर उक्त कार्यक्रम गर्न लागिएको हो भन्ने कुरा सहयात्री जापानलाई सम्बन्धित पक्षले जानकारी गराए I 
साथै सो समय जापानमा "गोल्डेन विक" को अवसर पनि पर्ने भएकोले "नेपथ्य"को लागि र संगीत प्रेमी जापानबासी नेपाली हरुको लागि तमु धिं जापानले उपयुक्त अवसर जुटाईदिएको छ I 
लोक रक ब्याण्ड "नेपथ्य" नेपालका एक मात्र यस्तो समूह हो जसको चर्चा अन्तराष्ट्रिय स्तरमा पनि हुने गर्दछ I २०१३ अगस्टमा युकेको वेम्ब्ली अरिना स्टेजमा आफ्नो कार्यक्रम प्रस्तुत गरेबाट नेपथ्यको चर्चा झन् विश्व स्तरमै आकाशिएको छ I साथै सन् २००२ देखि "शान्तिको लागि शिक्षा " भन्ने मूल अभियान बोकेर आफ्नो सांगेतिक कार्यक्रम मार्फत नेपाल भर संदेश छर्ने गरेको छ I 

Tuesday, March 24, 2015

विश्व प्रशिद्ध सामसुङ् कम्पनीका रोचक तथ्यहरु

   सामसुङ विश्वको सबैभन्दा ठूलो स्मार्टफोन उत्पादक कम्पनी हो । यसले स्मार्टफोन मात्र होइन टेलिभिजन, क्यामेरा लगायतका ग्याजेट तथा कम्प्युटर चिप्स समेत उत्पादन गर्ने गर्छ । तर, यसको इतिहास निकै रोचक छ ।

सन् १९३८ मा एक व्यापार कम्पनीको रुपमा ली ब्यूंग चुलले ४० जना कर्मचारीको साथमा सामसुङ कम्पनी स्थापना गरेका हुन् । सुरुमा यो कम्पनीको मुख्य काम थियो ड्राइ फिस निर्यात गर्नु । साथै ग्रोसरी तथा आफ्नै चाउचाउ समेत यो कम्पनीले चीनमा बेच्न सुरु गर्यो ।

तपाइँलाई थाहा नहुनसक्छ सामसुङले अहिलेसम्म विभिन्न ४० प्रकारका व्यापारमा हात हालिसकेको छ, जसमा फुड प्रोसेसिङ, टेक्स्टाइल, विमा, खुद्रा व्यापार, सेक्युरिटिज लगायतका छन् । विस्तारै कम्पनीले विद्युतिय उपकरण निर्माण गर्न सुरु गर्यो सन् १९६० को दशकको उत्तरार्द्धतिर ।

त्यो सँगै सामसुङ विश्वव्यापिकृत समेत हुन थाल्यो । अहिले मोबाइल फोन सामसुङको आयआर्जनको मुख्य श्रोतको रुपमा स्थापित बनेको छ । सन् १९८६ मा सामसुङले सबैभन्दा पहिले कारफोन निर्माण गरेको थियो । तर यसको बिक्रि राम्रो हुन नसकेपछि उत्पादन बन्द गर्यो ।

त्यसपछि सन् १९९० सम्म सामसुङले अन्य केही मोडेलका मोबाइल बजारमा उतार्यो, यद्यपि अन्य मोबाइल फोनको दबदबा रहेको अवस्थामा सामसुङका मोबाइलप्रति ग्राहक आकषिर्त भएनन् र निकै कम मात्र बिके ।

सन् १९९२ मा सामसुङ विश्वको सबैभन्दा ठूलो मेमोरी चिप्स निर्माता कम्पनीको रुपमा स्थापित हुनपुग्यो । त्यस्तै सन् १९९५ मा सामसुङले विश्वमै पहिलोपटक एलइडी टेलिभिजन निर्माण गर्यो । सामसुङ ६ वर्षदेखि निरन्तर विश्वमा सबैभन्दा धेरै टेलिभिजन बिक्रि गर्ने कम्पनीको रुपमा रहेको छ । सन् २०१० मा यसले फुल एचडी एलइडी टेलिभिजन सार्वजनिक गरेको थियो ।

सन् १९९५ मा कोरियाली बजारमा आएको वित्तिय संकटपछि सामसुङले आफ्नो मुख्यालय सार्यो । त्यस समयमा सामसुङले आफ्नो लोगो समेत परिवर्तन गर्नुका साथै ग्यालेक्सी स्मार्टफोनको उत्पादन र व्यापार तर्फ कदम चाल्यो ।

मोबाइल डिभाइसको क्षेत्रमा एक अग्रणी कम्पनीको रुपमा स्थापित हुने लक्ष्य सामसुङको थियो । सो लक्ष्य पूरा गर्ने क्रममा सामसुङ फिचर बेस्ड नोकिया तथा एप्पलको आइफोनलाई पछि पार्दै सन् २०११ मा विश्वको नम्बर वान स्मार्टफोन फोन कम्पनी बन्न सफल भयो । इलेक्ट्रोनिक्स बजारमा लोकपि्रय ब्राण्ड सोनीलाई सन् २००४-२००५ मै सामसुङले पछाडि पारेको थियो ।

सामसुङ कोरियाली भाषाको शव्द हो । यसको अर्थ तिनतारा भन्ने हुन्छ । सामसुङले नाफा मात्र कमाउँदैन, लोककल्याणको काम पनि गर्छ । हरेक वर्ष सामसुङले आफ्नो मातहतको गैरनाफामूलक संस्था सामसुङ मेडिकल सेन्टरका लागि १० करोड अमेरिकी डलर दान गर्दछ । यो केन्द्रको मातहतमा दक्षिण कोरियामा विभिन्न सुविधा सम्पन्न अस्पतालहरु संचालनमा छन् । सामसुङ दक्षिण कोरियामा सबैभन्दा बढि राजश्व संकलन गर्ने कम्पनी पनि हो ।

धेरैलाई थाहा नहुन सक्छ- विश्वको सबैभन्दा अग्लो टावरको रुपमा रहेको बुर्ज खालिफा दुबइको निर्माण सामसुङले गरेको हो । सामसुङ ग्रुपको निर्माण विभागले बुर्ज खालिफा दुबइ निर्माणको काम जिम्मा लिएको थियो ।

सामसुङ विश्वमा आफ्नो विज्ञापनका लागि सबैभन्दा बढि खर्च गर्ने कम्पनी हो । गएको वर्ष सामसुङले विज्ञापनमा मात्रै ४ अर्ब डलर खर्च गर्यो भने थप ५ अर्ब डलर बजारीकरणका निम्ति खर्चियो ।

सामसुङले सन् १९९५ मा आफ्ना डेढ लाख फोन तथा फ्याक्स मेसिन नष्ट गरेको थियो । कम्पनीले उत्पादन गरेका सामानहरु गुणस्तरहीन रहेको र उपभोक्तालाई त्यस्ता सामान बेचिएमा उपभोक्ता ठगिने ठहर गर्दै सामसुङका अध्यक्ष ली कुन हीले कर्मचारीलाई गुणस्तरीहन सामान नष्ट गर्न आदेश दिएका थिए ।

सामसुङको मुख्यालय दक्षिण कोरियाको सुओनमा छ जसलाई सामसुङ डिजिटल सिटी भनिन्छ । हेलिकोप्टर पोर्टसहित अत्याधुनिक सुबिधा सम्पन्न मुख्यालयमा करिव ३५ हजार कर्मचारी कार्यरत छन् । ३९० एकड जमिनमा फैलिएको मुख्यालयमा ३८ तले चारवटा टावर छन् ।

-(अनलाईन खबर बाट साभार)


तपाईको घाँटी खस खस गरिरहन्छ ? यस बाट जोगिने उपायहरु :-

के तपाईंको घाटिमा सधै खराश रहन्छ ? यो मौशम परिवर्तनको असर् हो भनेर वा खान पानमा आएको परिवर्तनको असर् भनेर नबस्नुहोस् । गलाको खराश टन्सिल वा गलाको गम्भिर समस्या पनि हुन सक्छ । कसरी बच्ने यसबाट ? यो पढ्नुहोस् |

मौसमको बदलाव संगै गलामा हल्का खसखस हुनु वा गलमा तिखो घोचाइ महसुश हुनु सामान्य कुरा हो । यो अवस्थामा गलामा खिच खिच हुनु र बोल्नमा समस्या हुनु सामान्य हो । भाईरस वा ब्यक्टेरिय को करणले यो समस्या देखिन्छ । 

 कहिले कही एलर्जी र धुमपानको करणले पनि घाटीमा खश खश हुन्छ । यस्ता धेरै समस्याहरु आँफै समाधान हुन्छन तर केही यस्ता जिद्दी समस्या हुन्छन जो सजिलै जादैनन । त्यस्ता समस्यालाई राम्रो उपचारको जरुरी हुन्छ । आमरुपमा मानिशहरू घाटीको खश खस लाई त्यती ध्यान दिदैनन र लापरबाही गर्छन् तर यो समस्या त्यती सजिलो छैन र राम्रो उपचार गरिएन भने गम्भिर समस्या निम्त्याउन सक्छ ।

घाटीमा आउने खश खस घाटीको इन्फेक्सन हो । जसमा गलामा कर्कश आवाज आउने, हल्का कासो लाग्ने र हल्का ज्वरो आउने, टाउको दुख्ने, गला दुख्ने जस्ता लक्षण देखिन्छन ।

हाम्रो गलामा दुबैतर्फ टन्सिल हुन्छ जसले धुलो, ब्यक्टेरिया र भाईरशलाई गलामा जानबाट रोक्ने काम गर्छ । तर कहिले कही यो आँफै इन्फेक्टेड हुन्छ र आफ्नो काम गर्न सक्दैन । जसलाई टॉन्सिलाइटिस भनिन्छ । जसमा घाटी भित्र दुबैतर्फ टॉन्सिल्स गुलाबी वा रातो हुन्छ । इन्फेक्सन हुँदा यिनिहरु अली ठुला र अली बढी राता हुन्छन । कहिले कही यसमा सेतो कत्ला जस्तो पनि देखिन सक्छ । सधरणतया यो समस्या उचित देखभाल र एन्टिबायोटिकले निको हुन्छ तर स्ट्रेप्टोकॉक्कस हिमोलिटीकस नामक भाईरसको करणले यो समस्या देखियो भने अलिक गम्भिर हुन्छ । तव यो संक्रमण ह्रीदय र गुदामा पनि फैलिन्छ र गम्भिर

 हुन्छ ।

यस्तो अवस्थामा नियमित रुपमा नुन हालेको मनतातो पानीले गार्गेलिङ गर्नुपर्छ । गलामा आराम मिल्छ ।
अदुवा, इलायची र मरिचको चियाले गलाको खश खसमा धेरै आराम मिल्छ । यसमा जीवाणुरोधक गुण पनि हुन्छ र यो चिया नियमित रुपमा सेवान गर्नाले गलामा आराम मिल्नुको साथै गलाको खश खस हराएर जान्छ ।

धुमपान र ज्यादा मसालेदार खानादेखी टाढै रहनुहोस्

खानामा बिशेष साबधानी आपनाउनुहोस् ।

फ्रिज को वा अन्य कुनैपनी चिसो चिजको सेवान नगर्नुहोस् ।

सधैं मनतातो पानी पिउने गर्नुहोस् ।

त्यसमा अदुवाको धुलो हल्का मिसाउने र ताजा कागतीको रस १,२ थोपा मिलाउनाले अधिक आरमा मिल्छ ।

सावधानि नै यो समस्याको मुल हल हो ।

सधैं धुलो, धुवा र चिसो बाट बच्नुहोस् , राम्रो मास्कको प्रयोग गर्नुहोस् ।

समस्या देखिनासाथ तुरन्त चिकित्कसको सल्लाह लिनुहोस् ।

 

Sunday, March 22, 2015

जापानमा सुनामी बाट हुने क्षतिलाई कम गर्नको निम्ति अग्लो पर्खाल निर्माण गर्ने

    जापानको उत्तरपूर्वी तटीय क्षेत्रमा अग्लो सुनामी छाल आएको चार वर्षपछि यस मुलुकले करिब पाँच तल्ले भवनको उचाइ भएको करिब ४०० किलोमिटरको सिमेन्टको सामुद्रिक पर्खाल निर्माणमा आफ्नो ध्यान केन्द्रित गरेको छ । 
 
आठ सय २० अर्ब एन ९६।८ अर्ब अमेरिकी डलर० को लागतमा तयार हुने यस परियोजनाका विरोधीहरूले भने यो व्यापक कङ्क्रिट पर्खालले सामुद्रिक पर्यावरण तथा स्थलगत सुन्दरतामा क्षति पु¥याउने, आधारभूत माछापालनमा बाधा उत्पन्न गर्ने तथा यहाँका प्राय बासिन्दा माथिल्लो भागमा बसाइ सराइ गर्ने तयारीमा रहेकाले उनीहरूलाई संरक्षण गर्ने कुरामा खासै फाइदा नहुने बताएका छन् । 
 
यस परियोजनाका समर्थकले यो पर्खाल आवश्यक रहेको र यसले कम्तीमा केही समयका लागि रोजगारी उपलब्ध गराउने बताएका छन् । उत्तरी माछाव्यवसाययुक्त ओसाबेका काजुतोसी माुसासीले १२।५ मिटर ९४१ फिट० अग्लो पर्खालले समुद्रको दृष्य छेकिदिने बताए । 
 
यस्तो सार्वजिनक निर्माण सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टी तथा उसका समर्थकका लागि प्रमुख रणनीतिक परियोजना हो ।  विशेषज्ञहरूले यस परियोजनाले सुनामीले पार्ने प्रभाव कम बनाए पनि यसले जटिलता उत्पन्न गराउने बताएका छन् । सन् २०११ मा आएको सुनामीको समयमा भाग्नका लागि दिइएको चेतावनीलाई ध्यान नदिँदा १८ हजार ५०० व्यक्तिको मृत्युभएको थियो । 
 
नौ रेक्टर स्केलको भूकम्पका कारण आएको सुनामीका कारण सेन्दाइको आधा भाग डुबेको थियो । 
 
वर्षौ अगाडि इवानुमाको तटीय क्षेत्रमा भूक्षय रोक्न बनाइएको २४ फिट अग्लो पर्खाल तथा तटमा लहरै रोपिएका देवदारका रुखले उक्त छाललाई मत्थर बनाउन त सकेका थिए तर त्यहाँका तटभित्रका पाँच किलोमिटरसम्म बाढी आएको थियो । सुनामीको समयमा विमानस्थलका छत तथा ठूला घरको छतमा रहेका यात्री तथा कर्मचारीले गाडी, भवन, विमान बगेको देखेका थिए । 
 
यस नगरले भत्केका पर्खालको मर्मत त गरेको छ तर पर्खाल बढाउने योजना बनाएको छैन । पूर्व प्रधानमन्त्री मोरिहिरो होसोकावाले मानव निर्मित पर्खालपछि विभिन्न रुख रोपी हरित पर्खाल बनाउने योजना बनाएका थिए ।  
 
इवानुमाका पूर्व मेयर त्सुनिकी इगुचीले सामुद्रिक तटमा ठूलो पर्खाल लगाउनुभन्दा सबैजनालाई तत्कालै त्यहाँबाट अन्यत्र लैजाने उपाय गर्नु उचित हुने बताए ।  संयुक्त राष्ट्र सङ्घका विपत्ति जोखिम न्यूनीकरण कार्यालयका प्रमुख मार्गरेता वाल्सट्रमले विकासशील मुलुकमा आधारभूत संरचनाको अभावमा निकै ठूलो क्षति भए पनि यस्तो सुरक्षा व्यवस्थामा भरपर्ने कुराले समुदायलाई असावधान बनाउने बताए ।  
 
सन् २०११ मा सुनामी जाँदा स्टिलनिर्माता नगर कामाइसीमा १००० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । तर सिभिल इन्जिनियरिङका प्राध्यापक तोसिताका कातादाले दिएको तालमिका कारण भने प्रायः विद्यालयका विद्यार्थीलाई तत्कालै सुरक्षित स्थल लगिएको थियो ।

Friday, March 20, 2015

जापानमा पनि बहुप्रतिक्षित चलचित्र रेशम फिलिली प्रदर्शन गरिने ....

कमेडी स्टोरीमा आधारित नेपाली चलचित्र रेशम फिलिली अन्तत जापानमा पनि पर्दशन हुने भएको छ |
एजेन्सी का आनुसर  चलचित्र रिलिज हुनु अघि नै नेपाल बाहेक यु के, न्यूजीलैंड, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, भारत, दक्षिण कोरिया, अष्ट्रेलिया, कतार मा देखाउने अनुबंध भैसकेको र   हालै जापान को लागी देखाउने अनुबंध भैसकेको कुरा श्रोतले जनाएका छन |
श्रोतका अनुसार  जापानमा सो चलचित्र कहाँ,कता,कसरी र कहिले देखाउने भन्ने कुरा को टुंगो नलागेको तर त्यसको निम्ति आयोजक पक्ष्य भने  पुर्वा तयारीमा लागेको श्रोतले जनाएका छन |श्रोतका अनुसार सो चलचित्र टोक्यो र टोक्यो बाहिर को सहरहरु मा पनि प्रदर्शन गरिनेछ |

सो चलचित्र माधव वाग्ले द्वारा निर्मित  र प्रणव जोशी द्वारा लिखित/ निर्देशित चलचित्र हो |
जापानको लागी सम्पर्क नम्बर : ०९०-९४८१-४०१४ (प्रकाश थापा)
चलचित्र को ट्रेलर हेर्नुहोस

Thursday, March 19, 2015

अहिलेका चर्चित गायिका आस्था राउतको प्रेम प्रसंग


झम्के बुलाकी’ र चौबन्दीमा पटुकी’ जस्ता गीत सबैका कान कानमा गुन्जिरहेका छन् । आस्था राउतको पहिलो एल्बम ‘आधार’का यी गीतसँगै आस्थाको माग नेपाली संगीत क्षेत्रमा बढ्दै छ । आस्थाको माग सबैभन्दा बढी स्टेज कार्यक्रममा हुन्छ । स्टेज तताउनका लागि आस्था देश–विदेशमा पुग्छिन् ।

  स्टेजमा धेरै दर्शकले माग गर्ने यी गायिकालाई   सबैले खुब मन पराउछन् । सबैले मन पराउने आस्थालाई कस्ले राख्यो पहिलो प्रेम प्रस्ताव ? आस्था भन्छिन् ‘स्कुल पढ्दा नै प्रेम प्रस्ताव आएको थियो’ । थप्छिन् ‘मसँगै स्कुलमा पढ्ने एउटा साथीले प्रस्ताव गरेको थियो । आस्थालाई ‘भ्यालेन्टाइन्न डे’मा ग्रिटिङ कार्ड पठाएर प्रेम प्रस्ताव स्कुलकै साथीले राखेका थिए । आस्थालाई ‘त्यो केटा’ले पहिलेदेखी नै मनपराएका रहेछन् । ‘वान साईटेड लभ’ थियो’ आस्था भन्छिन्, ‘प्रेम प्रस्ताव गर्ने केटा नजिक आए पनि अरू साथीलाई झैँ सामान्य व्यवहार गर्थेँ ।’

देखासिखि गर्दै त्यो केटाले एउटी राम्री केटी आस्थालई ग्रिटिङ कार्ड दिएको रहेछ । केटाले आस्थालाई आफैँ कार्ड दिने आट गर्न नसकेर साथीको हातमा ग्रिटिङ कार्ड दिएर पठाएको रहेछ । आस्थाले भनिन्, ‘खोलेर हेरेँ, उडिरहेका जोडी चरा भएको र प्रेम सन्देश लेखिएको कार्ड रहेछ । मैले कुनै प्रतिक्रिया दिइनँ । केटो त ! डरले चार दिन स्कुल आएन ।’

अहिले यस्तो केटा मनपर्छ, आस्थालाई

बोल्ड आवाजमा प्रस्तुत हुने आस्थाको स्वभाव पनि बोल्ड नै छ । बाहिर बोल्ड आस्था भित्री रूपमा आफू साह्रै पिन्चे भएको आफैँ स्वीकार गर्छिन् । ‘आँसु त आँखाको डिलैमा छन्, अलिकति दुःख लाग्ने कुरा भयो भने आँसु झरिहाल्छ ।’ जस्तो पायो, त्यस्तो वा लर्तरो मान्छेले आफूलाई झेल्न नसक्ने आस्थाको भनाइ छ । भन्छिन्, ‘मेरो जीवनमा आउने केटा, मेरो जीवनसाथी मात्रै होइन, मेरा बाआमाको छोरा हुन सक्ने हुनुपर्छ । किनभने, म बाआमाकी एक्ली सन्तान हुँ ।’

आस्थालाई हरेक कुरामा पर्फेक्ट मान्छे मन पर्छ तर त्यस्तो मान्छे नहुने सुनेको बताउछिन् । भनिन्, ‘एउटा चाइनिज फिल्ममा भनिएको थियो, ‘मान्छे दुई प्रकारका हुन्छन् । एउटा धोका दिन चाहन्छ, अर्काे धोका दिन्छ ।’ मलाई यी दुई खालेभन्दा भिन्न मान्छे चाहिएको छ ।’  आस्था जीवनसाथीको स्केच यसरी बनाउछिन् ‘इमान्दारहोस्, नारीलाई सम्मान गरोस्, नारीलाई सहयोग गरोस् । ममीले लेखिदिनुभएको गीतमा भनिएजस्तै, ‘म रुँदा सँगै रुने धेरै पाइन्छ, मलाई त आँसु पुछ्ने साथी चाहिन्छ ।’ यसले पनि धेरै बुझाउँछ ।’


Wednesday, March 18, 2015

आगामी अप्रिल १२ तारिक टोकियोमा शान्ति पद यात्रा हुने

आगामी अप्रिल १२ तारिक जापानको राजधानी टोकियोमा शान्ति पद यात्रा हुने भएको छ I जापानमा क्रियाशील युवाहरुको दुइ संस्था 'नेपाल जापान युथ क्लब' र 'वि फर अल'को संयुक्त आयोजनामा "Buddha was born in Nepal"भन्ने मूल नाराका साथ हुन लागेको उक्त शान्ति पद यात्रा 
अप्रिल १२ तारिक आईतबार टोकियो को शिबुया स्टेसन नजिक रहेको मियाशिता पार्क(गत बर्षकै स्थान)बाट दिउसो १ बजे सुरुवात गरिनेछ I  
शान्ति पद यात्राको मूल उदेश्य जापानी समुदाय र जापानमा रहेका अन्य राष्ट्रका नागरिकहरुलाई "भगवान गौतम बुद्ध अन्य देशमा नभई नेपालमा जन्मिनु भएको हो" भन्नि कुराको जानकारी गराउनु रहेको हो भन्नि कुरा सम्बन्धित पक्षले जानकारी गराए I 
साथै उक्त दिन जापानमा रहेका नेपालीहरुलाइ पद यात्रामा सहभागी भई कार्यक्रम सफल बनाइदिनु हुन यसै सूचना मार्फत आयोजक समितिले अनुरोध गर्नु भएको छ I 

Tuesday, March 17, 2015

विश्वकप छनौटको लागि दोस्रो खेल नेपाल र भारत भिड्दै

 

सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबल प्रतियोगिताको छनोट खेलमा आज नेपालले भारतको सामना  गर्दैछ

काठमाडौंको दशरथ रंगशालामा हुने दोस्रो लिगको खेलमा नेपाली खेलाडीहरुले भारतमा भोगेको पहिलो लिगको हारको बदला लिने प्रयास गर्नेछन् ।

अघिल्लो साता भारतको गुवाहिटीमा भएको पहिलो लेगको खेलमा नेपाल २-० ले पराजित भएको थियो ।

आज काठमाडौंमा उक्त नतिजा उल्टाउदै भारतलाई स्तब्ध बनाएर घर फर्काउने नेपालको दाउ छ ।

यसको लागि नेपाली टोली पुर्ण रुपले तयार र सक्षम रहेको मुख्य प्रशिक्षक ज्याक स्टेफानोस्की र कप्तान सागर थापाले बताएका छन् ।

नेपालले विश्वकप छनोट तथा सन् २०१९ को एसिया कप छनौटको दोस्रो चरण प्रवेश गर्नका लागि दोस्रो लेगमा आज भारतलाई कम्तीमा तीन गोलको अन्तरले पराजित गर्नुपर्ने हुन्छ ।

यता, १४ वर्षअघि नेपालको प्रशिक्षण सम्हालिसकेका भारतीय प्रशिक्षक स्टेफेन कन्स्टेन्टाइनले आफ्नो टोली नेपाललाई सजिलै जितेर दोस्रो चरणमा जानेमा ढुक्क नभएको बताएका छन् ।

सन् १९९९ को आठौं दक्षिण एसियाली खेलकुद सागमा नेपाललाई रजत पदक जिताएका स्टेफेनले नेपाली खेलाडीहरु अन्तिम समयसम्म पनि परीणाम उल्टाउन सक्षम रहेकोले यो खेललाई आफुले सहज रुपमा नलिएको प्रतिक्रिया दिए ।

यसैगरी भारतीय टिमका कप्तान सुब्रतो पालले पनि आफुहरु भारतमा हात पारेको २-० को जीत बिर्सीएर आज नयाँ खेलको लागि तयार भएको बताएका छन् ।

Friday, March 13, 2015

गुगलले ल्यायो एभरेष्ट स्ट्रिट भ्यू, घरमै बसेर सगरमाथा भ्रमण

गुगलले घरमै बसीबसी नेपालको सगरमाथा क्षेत्र भ्रमणको व्यवस्था गरेको छ । ‘आर्म चेयर टुरिष्ट’ अर्थात कुर्सीमै बसेर इन्टरनेटमार्फत विभिन्न क्षेत्र भ्रमणको मज्जा लिने पर्यटकहरुका लागि भन्दै इन्टरनेट सम्बन्धी विभिन्न सेवा प्रदान गर्ने बहुराष्ट्रिय कम्पनी गुगलले एभरेष्ट स्ट्रिट भ्यू प्रोजेक्ट तयार पारेको हो । यो योजना अन्तर्गत सगरमाथा राष्ट्रिय निकुञ्ज, बेस क्याम्प लगायत सम्पूर्ण खुम्बु उपत्यकाको भ्रमण ‘भर्चुअल्ली’ गर्न सकिन्छ । सगरमाथा क्षेत्रको ‘स्ट्रिट भ्यू’ तयार पार्ने गुगल म्यापको टोलीलाई २१ पटक सम्म सगरमाथा आरोहण गरेका आप्पा शेर्पाले गाइड गरेका थिए । यो भ्यू तयार पार्नका लागि आप्पा शेर्पा आफैंले समेत पहल गर्दै आएका थिए । स्ट्रिट भ्यूमा आप्पाको गाउँ थामे, खुम्जुङ लगायत त्यहाँ रहेका गुम्बा, विद्यालय, हिमाल र स्थानीय वासिन्दाको रहनसहन समेत देख्न पाइन्छ । सगरमाथा क्षेत्रको सौन्दर्यका साथै त्यहाँको कठिन जीवन शैलीको प्रस्तुतीबाट त्यसक्षेत्रका बालबालिकाको शिक्षाका लागि लगानी जुटाउन सहज हुने आप्पाको विश्वास छ । 

Thursday, March 12, 2015

फेशबुकले नेपाल लगायत अन्य गरिब मुलुकहरुमा सित्तैमा इन्टरनेट सेवा उपलब्ध गराउने

    बिश्वको नम्बर एक सोसल मिडिया फेशबुकले झण्डै एक सय मुलुकका गरिव जनतालाई सित्तैमा इन्टरनेट सेवा दिने तयारी गरिरहेको छ ।
फेशबुकको अगुवाईमा सुरु भइरहेको इन्टरनेट डट ओआरजी अभियान अन्र्तगत यसै बर्षभित्र एक सय वटा मुलुकका जनतालाई सित्तैमा मोबाइल इन्टरनेट उपलब्ध गराउने तयारी भइरहेको फेसबुकले जनाएको छ ।

हालै संचारकर्मीसँग कुरा गर्दै इन्टरनेट डट ओआरजीका उपाध्यक्ष क्रिस ड्यानियल्सले अभियान निकै आक्रामक तरिकाले अगाडी बढ्न लागेको जानकारी दिए ।

‘यो महत्वकांक्षी योजना यो बर्ष तिब्र रुपमा विस्तार हुनेछ, बर्षको अन्त्यसम्म कम्तीमा एक सय मुलुकमा यस्तो सेवा सुरु गर्ने र्छौं’ ड्यानियलले भने ।

हाल फेशबुकले परिक्षणका रुपमा भारत, जाम्बिया, तान्जानिया, केन्या, घाना र कोलम्बियामा त्यहाँका मोबाइल सेवा प्रदायकहरुसँग मिलेर इन्टरनेटसँग नजोडिएका जनतालाई सित्तैमा इन्टरनेट बाँडिरहेको छ ।

यो परिक्षणबाट उत्साहित फेशबुकले सन् २०१५ को अन्तयसम्ममा करिव एक सय मुलुकमा यो सेवा बिस्तार गर्ने तयारी गरिरहेको ड्यानिलले जानकारी दिए ।

यी ६ वटा मुलुकमा फेसबुकले मोबाइल सेवा प्रदायसँग मिलेर करिव ७० लाख मानिसलाई सित्तैमा इन्टरनेट दिइरहेको छ । जसमार्फत् प्रयोगकर्ताहरुले फेसबुकसहित स्वास्थ्य, रोजगारी, स्थानीय सूचना लागयतका निश्चित एप बिना पैसा चलाउन सक्छन् ।

यसले फेशबुकका प्रयोगकर्ता त बढाएको छ नै ग्रामिण भेगका गरिव जनताले इन्टरनेटसँग जोडिएर धेरै सुबिधा पाएका छन् । यस्तो सुबिधाका कारण मोबाइल सेवा प्रदायकको समेत ब्यापार बढेको छ, डाटा प्रयोगकर्ताको संख्या ह्वात्तै बृद्धि भएको छ । 

सन् २०१३ मा फेसबुकको अगुवाईमा सुरु भएको यो अभियानले बिकाशोन्मुख मुलुकका इन्टरनेट पहुँचमा नभएका नयाँ प्रयोगकर्तालाई सित्तैमा इन्टरनेट दिन्छ । मोबाइल सेवा प्रदायकसँगको सहकार्यमा विकिपेडिया, फेसबुक, केही स्वास्थ्य र उपयोगी सूचना सम्बन्धी एप्स खोल्दा पैसा नलाग्ने बनाइएको छ ।

ड्यानियलका अनुसार बजारको आकार भन्दा पनि इन्टरनेटसँग नजोडिएका बहुसंख्यक जनतासम्म पुग्ने गरी देशहरुको छनौट गरिएको छ । यस्तो अभियान ती देशमा सुरु हुने र त्यसले सफलता पाउने कुरा ती देशका मोबाइल सेवा प्रदायकको अग्रसरतामा पनि भर गर्ने उनले बताए ।

यसै हप्ता बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेसमा सहभागी हुन पुगेका फेसबुकका कार्यकारी अधिकृत मार्क जुकरवर्गले इन्टरनेटसँग नजोडिएका बिश्वका दुईतिहाई जनसंख्यासम्म पुग्नका लागि अन्य अभियान पनि संचालन गर्न लागिएको बताएका थिए । यसका लागि ड्रोन र स्याटेलाइटमा समेत लगानी गर्न लागिएको उनले जानकारी दिए ।

फेसबुकका अनुसार बिश्वका अफलाइन जनतामध्ये करिव ९० प्रतिशत बिकाशोन्मुख मुलुकमा बसोबास गर्छन् । झण्डै ६ अर्ब जनसंख्यामध्ये करिव साढे ४ अर्बसँग अझै पनि इन्टरनेट पहुँच पुग्न नसकेको फेसबुकले जनाएको छ ।

बिकाशोन्मुख मुलुकका नयाँ ग्राहकलाई इन्टरनेटसम्म आर्कषिर्त गर्ने तयारीमा गुगल पनि लागिरहेको छ । उसले पनि यस्तै खाले अभियानमार्फत् बिकाशोन्मुख मुलुकका पहिलोपटक स्र्माटफोन प्रयोग गर्नेहरुलाई लक्षित गरिरहेको छ I  गुगलले हालै उत्पादन गरेको एन्ड्रोइड वान स्मार्टफोनको बजार विस्तारका लागि गुगलले यस्तो अभियान सुरु गर्दै छ ।

नेपालमा निजी क्षेत्रको टेलिफोन सेवा प्रदायक एनसेलले विकिपेडिया, ट्वीटर लगायतका केही साइट सित्तैमा खोल्न सकिने सेवा सुरु गरेको छ । फेसबुकका लागि सस्तो मूल्यको प्याकेज उपलब्ध भए पनि अहिलेसम्म सित्तैमा प्रयोग गर्न पाउने सुबिधा भने छ्रैन् ।

इन्टरनेट डट ओरजीका उपाध्यक्ष ड्यानियलको भनाईलाई मान्ने हो सन् २०१५ को अन्त्यसम्ममा नेपालमा पनि सित्तैमा फेसबुक चलाउने सुबिधा सुरु हुन सक्छ । उनले भनेझैं यस्तो सुबिधा कहिले सुरु हुने भन्ने कुरा एनसेल लगायत यहाँका टेलिफोन सेवा प्रदायकको अग्रसरतामा निर्भर रहने छ ।


फिल्मीखबर बर्ष व्यक्तिमा नायिका प्रियंका कार्की र आठ बर्षीय सौगात बिष्ट सम्मानित

     

स्थापनाको पाचौं बर्ष पुरा गरि छैठौ बर्षमा प्रवेश गरेको ‘फिल्मीखबर साप्ताहिक’ले आफ्नो बाषिर्कोत्सव मनाएको छ । काठमाण्डौमा एक कार्यर्क्रमको आयोजना गर्दै यो साप्ताहिक पत्रिकाको जन्मदिन मनाइएको हो । - 

फिल्मीखबर बर्ष व्यक्ति (पुरुष र महिला)’ पनि घोषणा गर्दै सम्मान प्रदान गरियो । ‘बर्ष व्यक्ति पुरुष’का रुपमा ७ बर्ष ३४० दिनको उमेरमा चलचित्र निर्देशन गरेर ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’मा नाम लेखाउन सफल सौगात बिष्टलाई सम्मानित गरियो ।

यस्तै, ‘बर्ष व्यक्ति महिला’तर्फ भने नायिका प्रियंका कार्कीलाई सम्मानित गरियो । पत्रिकाका सम्पादक शान्तिप्रियले सौगातले यती सानो उमेरमै यस्तो रेकर्ड बनाएर नेपाल र नेपालीको नाम राखेको भन्दै  सम्मान गरिएको बताए । 

यस्तै, प्रियंका कार्की बर्ष २०७१ मा स्क्यान्डल, गसिपका साथै सर्वाधिक धेरै चलचित्रमा अभिनय गर्ने नायिका भएकाले सम्मानित गरिएको बताए । उनले अहिलेको समयमा साप्ताहिक पत्रिका प्रकाशन गर्नु आफैमा चुनौती भएपनि आफूहरु सफल भएको बताए । 


Wednesday, March 11, 2015

सन् २०१८ को विश्वकप फुटबलको छनोटका लागि नेपाल र भारत भिड्दै

 
 सन् २०१८ मा रुसमा आयोजना हुने विश्वकप फुटबलको प्रारम्भिक छनोटका लागि नेपालले परिचित प्रतिद्वन्द्वी भारतसँग उसैको मैदानमा बिहीबार प्रतिस्पर्धा गर्दैछ। होम एण्ड अवेका आधारमा हुने छनोट खेलको अवे खेल नेपाल र भारतबीच गुहावटीमा हुन लागेको हो। दोस्रो (होम) खेल नेपालले मार्च १७ तारिखमा दशरथ रंगशालामा खेल्ने छ।

'भारत राम्रो टोली हो। नेपाली खेलाडीको प्रर्दशन पनि कम छैन। हाम्रो प्रयास स्पस्ट जितका लागि हुनेछ, खेलाडी पनि तयार छन्', नेपाली टोलीका प्रशिक्षक ज्याक स्टेफेनोस्कीले भने, 'छनोट खेलका लागि हामीले राम्रो तयारी पनि गरेका छौं।' दुवै टोली उस्तै रहेकाले खेल ५०/५० को हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा ज्याकले बताए।

यसैगरी, भारतका प्रशिक्षक एवं नेपाली टोलीका पूर्वप्रशिक्षक स्टेफन कन्सटेन्टाइनले नेपाल र भारत दुवैको प्रर्दशन उत्कृष्ट हुने बताए। 'मलाई थाहा छ, नेपाली खेलाडीको प्रर्दशन चुस्त छ। नेपाल र भारत नै छनोट हुनुपर्थ्यो तर दुर्भाग्य नै भन्नुपर्छ प्रारम्भिक छनोटमै हामीबीच प्रतिस्पर्धा हुने भयो', उनले भने। छनोटका लागि भारतले राम्रो तयारी गरिरहको उनले बताए।


नेपालका लागि भारत बलियो प्रतिद्वन्द्वी हो। अहिलेसम्म भारतसँग खेलेका १५ मध्ये नेपाल दुईवटा खेलमा मात्र विजयी भएको छ। नेपाल १२ खेलमा पराजित भएको छ भने एक खेल बराबरीमा सकिएको छ। नेपाली टोलीमा अधिकांश पुरानै खेलाडी छन्।

पछिल्लो समय सन् २०१३ मा काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसीपमा नेपालले भारतलाई २-१ गोलले हराएको थियो। त्यसपछि सन् २०१४ मा भारतमा भएको मैत्री खेलमा नेपाल भारतसँग २-० गोलले पराजित भयो। साफ च्याम्पियनसीपको पछिल्लो संस्करणमा नेपालले भारतलाई २० वर्षपछि हराउन सकेको थियो।

सन् १९८५ देखि भारतविरुद्ध अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएको नेपालले भारतलाई हराएको त्यो दोस्रोपटक थियो। त्यसअघि सन् १९९३ को साग गेममा नेपालले भारतलाई टाइब्रेकरमा हराउँदै उपाधि जितेको थियो। उक्त उपाधि नै नेपाली फुटबलको ऐतिहासिक सफलता हो। 

Monday, March 9, 2015

मेस्सिको ह्याट्रिक किर्तिमान

   
रायो भालेकानोलार्इ बार्सिलोनाले ६-१ गोल अन्तरले हराउने क्रममा लियोनेल मेसीले स्पेनिस ला लिगामा ह्याट्रिकको नयाँ कीर्तिमान बनाएका छन् । उनले १२ मिनेटभित्र ह्याट्रिक पूरा गरेर ला लिगमा सबैभन्दा चाँडो ह्याट्रिक पूरा गर्ने अर्को कीर्तिमान पनि बनाउन भ्याए ।

उनले रायो भालेकानोविरुद्द खेलको दोस्रो हाफको ५६ औं, ६३ औं र ६८ औं मिनेटमा गोल गर्दै सर्वाधिक छिटो ह्याट्रिकको कीर्तिमान बनाएका हुन् ।

आइतबार साँझ बार्सिलोनाको जीतमा ह्याट्रिक गरेका मेसीले स्पेनिस ला लिगामा सर्वाधिक २४ ह्याट्रिकको नयाँ कीर्तिमान बनाएका हुन् । उनले रियल मड्रिडका क्रिस्टियानो रोनाल्डोलार्इ पछि पार्दै ला लिगामा सर्वाधिक ह्याट्रिकको रेकर्ड बनाए । रोनाल्डोले हालसम्म ला लिगामा २३ ह्याट्रिक लगाएका छन् ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको यो खेलमा मेस्सीले दोस्रो हाफको ११ मिनेटभित्र ह्याट्रिक पूरा गरेका हुन् । यो खेलमा लुइस स्वारेजले २ र जेर्राड पिकेले १ गोल गरे । यो सँगै मेस्सीले सबै प्रतिस्पर्धामा बार्सिलोनाका लागि ३२ ह्याट्रिक लगाइसकेका छन् ।

उनले स्पेनिस ला लिगामा २४, च्याम्पियन्स लिगमा ५,  स्पेनिस कपमा २ र स्पेनिस सुपर कपमा १ एक ह्याट्रिक गरिसकेका छन् ।

मेसीपछि सबै प्रतिस्पर्धामा स्पेनिस क्लब एथ्लेटिक बिल्बओका लागि तेल्मो जाराले यसअघि ३१ ह्याट्रिक गरेको रेकर्ड थियो । उनीपछि अल्फ्रेडो डि स्टेफनोले २८ ह्याट्रिक र क्रिस्टियानो रोनाल्डोले २७ ह्याट्रिक लगाइसकेका छन् ।

बार्साको यो जितसँगै स्पेनिस लिगको तालिकाको शीर्ष स्थानमा उक्लेको छ । उसको ६२ अंक भएको छ भने रियल मड्रिड भने एथ्लेटिको बिल्बाओसँगको शनिबारको खेलमा हारेपछि ६१ अंकका दोस्रो स्थानमा धकेलिएको छ। - 

Sunday, March 8, 2015

विश्वको सबै भन्दा महँगो शहर सिंगापुर

  सिंगापुर फेरि पनि विश्वको सबैभन्दा महंगो शहर बनेको छ ।इकोनोमिस्ट इन्टेलिजेन्स युनिट ईआईयू ले गरेको अनुसन्धान अनुसार यस वर्ष पनि सिंगापुर महंगो शहरमा दरिन पुगेको हो ।

   सिंगापुर पछि पेरिस,ओस्लो, जुरिच र सिड्नी महंगो शहर बनेको छ । यी शहरहरु अघिल्लो वर्ष पनि यही स्थानमा रहेका थिए ।

ईआईयूले न्यूयोर्कलाई आधार मानेर अनुसन्धानका लागि १ सय ३३ शहर छानेको थियो ।सिंगापुर न्यूयोर्क भन्दा ११ प्रतिशत बढी महंगो शहर पाइएको छ I 

शहरमा उपलब्ध हुने खाद्यान्न , लत्ता कपडा लगायत १ सय ६० विभिन्न सेवाको मुल्यलाई महंगी छनौटको मापक मानिएको थियो ।

सिंगापुरले सन् २०१३ मा टोकियोलाई उछिनेको थियो । टोकियो अहिले ११ औं महंगो शहरमा परेको छ ।

यस्तै विश्व कै सबैभन्दा सस्तो शहरमा पाकिस्तानको करांची, भारतको बैंग्लोर, भनेजुयलाको काराकास ,भारतको मुम्बई,चेन्नाई परेका छन् ।


आउँदो मार्च १६ तारिक सोमबार तोचिगी केनमा "जेरी" प्रदर्शन हुने


तोचिगी नेपाली समाजले यहि आउदो मिति २०१५.३.१६ तारिक सोमबारको दिन १८.००
 बजे बाट नेपाली कथानक चलचित्र "जेरी" तोचिगीकेनको तोचिगी -शि मा प्रदर्शन गरिने  जानकारी मा आएको छ I "जेरी" टिनएज रोमान्स ड्रामा जेनरमा बनेको र पछिल्लो समयमा नेपाली चलचित्र उद्दोगमा ब्लकबष्टर हुन सफल भएको नेपाली कथानक चलचित्र हो I 
"नेपाल र नेपालीको लागि" भन्ने आवाज सहित जापानको तोचिगिमा बस्नुहुने सम्पूर्ण नेपाली दाजु-भाई तथा दिदि- बहिनिहरुलाई उक्त दिन चलचित्र हेर्न आई सहयोग गरिदिनु हुन तोचिगी नेपाली समाजको अध्यक्ष बिजय श्रेष्ठले यसै सूचना मार्फत अनुरोध गर्नु भएको छ | उक्त चलचित्र साँझ ६ बजे बाट प्रदर्शन गरिने र दर्शकहरुलाई हल सम्म पुग्न सजिलोको निम्ति  रेल स्टेशन देखि हल सम्म ठाउँ-ठाउँमा स्वयंसेवकहरु परिचालन गरिने पनि सचिब सरद गिरिले जानकारी दिनु भएको छ I तोचिगी केन हाल आएर नेपालीहरुको उल्लेखीय  बसोबास भएको ठाउँ हो I
तोचिगी नेपाली समाजले उक्त फिल्मबाट भएको मुनाफा नेपालमा असहायहरुलाई सहयोग गर्ने पनि जनाएको छ I समाजले आउदो दिनहरुमा विभिन्न कार्यक्रम गर्ने पनि अध्यक्ष  बिजय श्रेष्ठले बताउनु भएको छ |
"जेरी" बिश्वका उत्कृष्ट गन्तब्य मध्य एक मुस्तांङ् जिल्लामा छायांकन गरिएको चलचित्र हो I छायाँकारले मुस्तांङ्का प्राकृतिक  सम्पदाहरुलाई उत्कृष्ट तवरले पर्दामा उतारेका छन् साथै मुस्तांगका सस्कृति लाई पनि केहि हद सम्म समेटेका छन् I 
निर्देशक हेमराज बिसी,निर्माता मनोज शेरचन र सहनिर्माता सम्राट प्रसाद गौचन रहेको जेरिको छायांकन शैलेन्द्र डी कार्कीले गरेका हुन् चलचित्रको मुख्य भूमिकामा अनमोल केसी र आना शर्मा तथा सहनायक नायिकामा क्रमश अभिषेक मान शेरचन र अमालिया शर्माले अभिनय गरेका छन् I 

Note:-बृस्तृत जानकारीका तलका नम्बरहरुमा सम्पर्क गर्नुहोला :-
Bijay Shrestha >08043828925
Sarad>08064970740

लोकप्रिय समाचार