Wednesday, July 29, 2015

चलचित्र "कब्बड्डी" उत्कृष्ट चलचित्र ठहरियो


गत वर्षको चर्चित फिल्म ‘कबड्डी’ले उत्कृष्ट चलचित्रको राष्ट्रिय पुरस्कार पाएको छ । मंगलबार राष्ट्रपति कार्यालय सितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामवरण यादवले ८ विधामा उत्कृष्ट भएका चलचित्रकर्मीलाई अवार्ड प्रदान गरे । 

दयाहाङ राई, निश्चल बस्नेत र रिश्मा गुरुङले मुख्य भूमिकामा अभिनय गरेको यो फिल्मले मुस्ताङको थकाली समुदायको एक युवाको प्रेमकथामा बनेको छ । 

चलनचल्तीको भन्दा भिन्न शैलीमा बनाइएको यो फिल्मले राजधानी लगायत ठूला सहरमा निकै राम्रो व्यापार पनि गरेको थियो । ‘कबड्डी’का लागि लेखनमा रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले पनि राष्ट्रिय पुरस्कार पाए । 

अभिनय तर्फ यस वर्ष दयाहाङ राई उत्कृष्ट अभिनेता ठहरिए । उनलाई ‘संवोधन’ चलचित्रका लागि यो पुरस्कार प्रदान गरियो । अभिनेत्रीतर्फ भने ‘टलकजंग भर्सेस टुल्के’का लागि ऋचा शर्मा र ‘लब यु बाबा’का लागि संगम विष्टले पुरस्कार पाए । 

‘टलकजंग भर्सेस टुल्के’का लागि निश्चल बस्नेतले उत्कृष्ट निर्देशकको पुरस्कार पाए । छायाङ्कन र सम्पादनमा ‘झिग्राना’ले बाजी मार्यो । छायाङ्कनमा शैलेन्द्रध्वज कार्की र सम्पादनमा निमेश श्रेष्ठले यो फिल्मबाट पुरस्कार पाए । आदिवासी जनजाति चलचित्र तर्फ ‘मतान’ उत्कृष्ट ठहरियो । 

कार्यक्रममा अभिनेता एवं निर्देशक नीर शाहलाई चलचित्र दीर्घ साधना सम्मान पनि प्रदान गरियो ।

(Ekantipur)

Monday, July 27, 2015

विश्वका सबै भन्दा धनि व्यक्ति बिल गेट्सका अनौठो र रोचक तथ्यहरु

विश्वका सबैभन्दा धनी व्यक्ति बिल गेट्स धेरैका लागि कथा, किम्वदन्ती तथा कल्पनाका पात्र समेत हुन् । जिवनमा उद्यम गर्ने तथा मनग्गे धन कमाउन चाहने युवाहरुका लागि प्रेरणाका श्रोत पनि हुन् भन्दा फरक नपर्ला । २० वर्षको उमेरमा स्थापना गरेको एउटा कम्पनीकै माध्यमबाट विश्वको सबैभन्दा धनी व्यक्ति बन्न सफल बिल गेट्सका विषयमा धेरै कुराहरु हामीलाई थाहा नहुन सक्छ । अझ उनको बारेका केही कुराहरु त यस्ता रोचक तथा अनौठा छन् जसबारेमा धेरैलाई थाहै छैन । बिल गेट्स बारेमा ९ रोचक तथ्य यस्ता छन्-

-बिल गेट्स रंकबाट राजा बनेका होइनन् । अर्थात् उनी सडकबाट उठेर एकाएक विश्वका सबैभन्दा धनी व्यक्ति बनेका होइनन् । उनी धनी परिवारकै सन्तान हुन् । उनका बुवा चर्चित वकिल थिए । उनका जिजुबुवाले एक बैंक खोलेका थिए जुन पछि उनका हजुरबुवाले चलाए । बिल गेट्स बच्चै छँदा उनका हजुरबुवाले बिल गेट्सको नाममा दशौँ लाख डलरको कोष स्थापना गरिदिएका थिए ।

-बिल गेट्सको एउटा अनौठो बानी छ, जुन धेरै धनाढ्य तथा ठूलाबडाको रोजाइमा नपर्न सक्छ । बिल गेट्स आफुले खाना खाएका थाल तथा अन्य भाँडाहरु आफै माझ्न मन पराउँछन् र हरेक बेलुकी खाना खाएपछि सकेसम्म भाँडाकुँडा आफै माझ्ने गर्छन् । ‘हुनत अरु मानिसले भाडा माझ्न सहयोग गर्न चाहन्छन् तर मलाई आफै माझ्न मन पर्छ’, उनी भन्छन् ।

-बिल गेट्सको निजि हवाइ जहाज निकै ठूलो छ र यसको उडान खर्च तथा मर्मत सम्भारमा ठूलै खर्च लाग्छ । त्यसैले बिल गेट्सले आफ्नो निजि जहाजलाई आफ्नो पश्चातापयुक्त मज्जा तथा आफ्नो पैसा उडाउने माध्यम भएको बताउँछन् ।

-बिल गेट्स अश्लील बोल्नका लागि माहिर छन् । माइक्रोसफ्टमा काम गर्दा ताकाका उनका साथीहरु बिल गेट्सको यो बानी व्यहोरा अहिले पनि सम्भिmन्छन् । उनले बैठकका बेला मात्र होइन इमेल सम्वादमा पनि प्रसस्तै फोहोर शव्दहरु समावेश गर्दथे । तर ती अश्लील कुराहरु कुनै व्यक्तिप्रति लक्षित भने हुँदैनथे । उनी कहिलेकाहीँ निकै कठोर तथा अश्लील बन्ने गरेपनि व्यक्तिगत आक्रमणमा भने नउत्रिने गरेको उनका सहकर्मीहरुको अनुभव छ ।

-गाडी चलाउने मामिलामा बिल गेट्स निकै बेहोसी थिए । युवा अवस्थामा उनले निकै तिव्र गतिमा बेहोसी पाराले गाडी कुदाउँथे र धेरै पटक ट्राफिक पुलिसको कारवाहीमा पनि परेका थिए र पटक पटक गाडी दुर्घटना पनि गराए । धेरै पटक ट्राफिकको कानूनी लफडामा परेपछि उनले ट्राफिक वकिल नै राख्नुपरेको थियो । उनले एकपटक कर्मचारीको पार्किङ गरेको गाडिमा आफ्नो गाडी लगेर ठोक्काए अनि कर्मचारीको बिगरिएको  गाडी मर्मत खर्चका लागि आफुलाई सम्पर्क गर्न भन्दै त्यहाँ आफ्नो बिजनेस कार्ड छाडेर गए । अरुको गाडी फोरिदिने अनि मर्मत खर्चको बिल भुक्तानीका लागि मलाई सम्पर्क गर भन्दै कार्ड दिने बिल गेट्सको बानीका कारण कुनैबेला अमेरिकाको सिएटलमा एउटा भनाइ प्रचलनमा थियो । त्यो हो, ‘बिललाई बिल पठाउ ।’

-बिल गेट्स निकै हँसिमजाक गर्ने व्यक्ति हुन् । उनमा सेन्स अफ ह्युमर निकै धेरै छ । उनले निकै हँसाउने खालका जोक भन्ने गर्छन् । एकपटक उनले यु ट्युबमा राखेको जोकको भिडियो निकै चर्चित बनेको थियो । त्यस्तै गतवर्ष उनले जिम्मी फ्यालोनसँग मिलेर बनाएको अर्को जोक भिडियो पनि भाइरल बन्यो । उनले आफ्नो व्यक्तिगत ब्लगमा समेत त्यो भिडियोको लिंक दिने गरेका छन् ।

-धनाढ्य बिल गेट्सले आफ्नो जिवनकालभरमा १ खर्ब डलर कल्याणकारी कामका लागि दान गर्ने प्रण गरेका छन् । बिलले आफ्नी श्रीमतीसँग मिलेर खोलेको संस्थाबाट मात्र उनले दान गरेका छैनन् । उनले विभिन्न कल्याणकारी परियोजनालाई व्यक्तिगत रुपमा पनि सहयोग गर्ने गरेका छन् । पिछडिएका समुदायका लागि स्वच्छ उर्जा कार्यक्रममा उनले ठूलो लगानी गरेका छन् । बिल गेट्सले वर्षेनी अबौँ डलर दान गरिरहेका छन् तर यसबाट उनको सम्पत्ति घटेको छैन, झनै बढिरहेको छ । किनकी उनको व्यवसाय झनै चम्किँदै छ ।

-बिल गेट्सको कमाइको मुख्य श्रोत अब माइक्रोसफ्ट मात्र रहेन । उनले पछिल्लो समयमा माइक्रोसफ्टमा रहेको आफ्नो शेयर लगातार बेचिरहेका छन् र अन्य व्यवसायमा लगानी गरिरहेका छन् । गेट्सको लगानीको प्रमुख गोप्य हतियार उनका बिजनेस म्यानेजर मिचेल लार्सन हुन् ।

-बिल गेट्स अहिले माइक्रोसफ्टका सबैभन्दा ठूलो शेयरधनी होइनन् । उनले हरेक महिना माइक्रोसफ्टको शेयर बेचिरहेका छन् । सन् २०१४ मै बिल गेट्सलाई उछिनेर स्टीभ बाल्मर आधिकारिक रुपमा माइक्रोसफ्टको सबैभन्दा ठूलो शेयरधनी बनेका छन् ।

समाचार एजेन्सी 

Sunday, July 26, 2015

जोमसोमबाट ठिनी हुदै विश्वको सबैभन्दा उच्च स्थानमा अवस्थित तिलिचो ताल जाने मोटरबाटो निर्माण सुरु

 
मुस्ताङ सदरमुकाम जोमसोमबाट विश्वको सबैभन्दा उच्च स्थानमा अवस्थित मनाङको तिलिचो ताललाई जोड्न मोटरबाटो निर्माण सुरु भएको छ।

मुस्ताङबाट तिलिचो ताल जान चाहने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि जिविस र सडक विभागको संयुक्त लगानीमा क्रमागत रुपमा सडक निर्माण सुरु गरिएको जिविसका कार्यक्रम अधिकृत केदारसिंह थापाले जानकारी दिए।

सदरमुकाम जोमसोमदेखि ठिनी हुँदै घनाजङ्गल छिचोलेर मनाङ जिल्लामा सडक सञ्जाल पुर्याउने योजना छ। 'हामीले योजना बनाएका हौँ, अहिलेसम्म तीन किलोमिटर सडकको ट्र्याक खोल्ने  काम भएको छ,' कार्यक्रम अधिकृत थापाले भने, 'यसका लागि सडक विभागले धेरै लगानी गर्नुपर्ने देखिएको छ।'

अहिलेसम्म सडक विभागको सीमित बजेट र जिविसको आन्तरिक स्रोतबाट उक्त सडकको निर्माण सुरु गरिएको जिविसले जनाएको छ। पैदल हिँडेर दुइ दिन लाग्ने घोरेटो  बाटो भए पनि घनाजङ्गल र बीचमा बस्ती नभएका कारण जोमसोमबाट तिलिचो ताल जाने पर्यटकको सङ्ख्यामा वृद्धि हुन सकेको छैन।

जिविसले चालु आवमा मोटरबाटोको विस्तृत अध्ययन र सडक विस्तारका लागि बजेट विनियोजन गर्ने जनाएको छ। 'कागबेनी हुँदै मनाङ जोड्ने बाटो पनि बन्दैछ तर यो बाटो पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छ' कार्यक्रम अधिकृत थापाले भन्नुभयो। 

(नागरिक निउजबाट)

Tuesday, July 21, 2015

"यार्सा अर्थात् हिमालयन भियाग्रा": यार्साको इतिबृत

यति बेला पूर्वको ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्म उच्च हिमाली भेगका घाँसे मैदान (पाटन)हरूमा मानिसहरूको भीड लागिरहेको छ । देशका विभिन्न भागबाट त्यहाँ ओइरिएका मानिसहरूको एउटै उद्देश्य छ, बहुमूल्य हिमाली जडीबुटी यार्साको खोजी गर्नु । १०–१२ वर्षअघिसम्म पनि लुकीछिपी, सानो परिमाणमा संकलन गरिने र कम मूल्यमा किनबेच हुने यार्साको कारोबार अहिले अर्बौंको भइसकेको छ । अध्येताद्वय अंकलाल चलाउने र योगेश राजले गरेको अध्ययन अनुसार गत वर्ष मात्रै नेपालका आठ जिल्लामा नौ अर्ब रुपियाँ बराबरको यार्साको कारोबार भएको थियो ।

के हो यार्सा ?

बोलीचालीको भाषामा भनिने यार्सा, यार्सागुम्बा वा यार्सागुन्बू तिब्बती भाषाको ‘यार्ट स्वा गुन् बू’ बाट अपभ्रंश भएर बनेको शब्द हो । जसको अर्थ, गर्मीयाममा झार, हिउँदमा कीरा हो । यद्यपि, यार्सा कुनै झार भने होइन । यो एक किसिमको झुसिलकीरा र त्यसमा उम्रने परजीवी ढुसीको संयुक्त रूप हो । 


वैज्ञानिक रूपमा कीरा समूहको लेपिडेप्टेरा वर्गमा पर्ने विभिन्न जातका राती उड्ने पुतली (मथ)को फुलबाट बनेका लार्भा अर्थात् झुसिलकीरालाई जमिनमुनि बसेको अवस्थामा ओफिकोर्डेसिप्स साइनेन्सिस जातका ढुसीका बीजाणुहरूले संक्रमण गर्छन् । लार्भाको शरीरभित्र बीजाणु प्रवेश गरिसकेपछि त्यो ढुसीको बीजाणु त्यान्द्रारूपी माइसेलियम (रेशारूपी कोष)मा परिणत भएर लार्भाको शरीरभरि फैलन थाल्छ । उक्त माइसेलियमले लार्भाको शरीरबाट खाना सोसेर त्यसलाई खोक्रो बनाउँदै लान्छ र आफ्नो शरीर लार्भाको शरीरभित्र फैलाउँदै जान्छ । अन्त्यमा, लार्भाको टाउकोमा आक्रमण गरेपछि लार्भा मर्छ । र, मरेको लार्भाको टाउकोबाट ढुसीको डाँठजस्तो भाग (स्टक) पलाउँछ, जुन औषतमा दुईदेखि चार इन्चसम्म लामो, खैरो रंगको हुन्छ । वसन्त ऋतुमा हिउँ पग्लन थालेपछि पलाउने यस्ता डाँठहरू मानिसले संकलन गर्छन् । संकलन गर्दा कुटोले खनेर वा औँलाले कीरासहितको भाग जमिनबाट निकालिन्छ । अनि, सरसफाइपश्चात् केही समय शीतलमा सुकाएर यसलाई बजारमा बेचिन्छ । संकलन नभई प्रकृतिमा छोडिएका यस्ता ढुसीका डाँठहरू छिप्पिएपछि बीजाणु लाग्छ (तस्बिर १ मा देखिएको खैरो थोप्लाहरू) । लाखौँको संख्यामा रहेका बीजाणुहरू माटोमा झरेपछि सुषुप्त अवस्थामा वसिरहन्छ र स्वस्थ लार्भा भेट्टाएमा आक्रमण गरी नयाँ यार्सा बनाउँछ । बीजाणुको आक्रमणमा नपरेका झुसिलकीराहरू प्यूपा हुँदै वयस्क पुतली बन्छन् । त्यसरी बनेको पुतलीले फेरि फुल पार्छ र आफ्नो जीवनचक्र सञ्चालन गर्छ । त्यस कारण यार्सा बन्नका लागि एकातिर ढुसीको बीजाणु चाहिन्छ भने वयस्क पुतलीको जीवनचक्र पनि सुचारु हुन आवश्यक हुन्छ । वैज्ञानिकहरूका अनुसार पूर्ण रूपमा यार्सा बन्न दुईदेखि ६ वर्षसम्म समय लाग्छ । 

यार्सा हिमालय पर्वत शृंखलाको दक्षिणतिरको नेपाल, भारत, भुटान र हिमालपारि तिब्बतमा मात्रै पाइने रैथाने जडीबुटी हो । नेपालका चाहिँ उत्तरी २७ जिल्लामा यार्सा पाइन्छ । तर, संखुवासभा, सोलुखुम्बु, गोरखा, म्याग्दी, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, बझाङ र दार्चुला जिल्लामा धेरै मात्रामा संकलन हुन्छ । नेपालमा संकलन गरिने कुल परिमाणको करिब ४० प्रतिशत यार्सा डोल्पा जिल्लाबाट मात्रै आउँछ । ठाउँ हेरीकन तीनदेखि पाँच हजार मिटरसम्मको उचाइमा रहेका औसत वर्षा चार सय मिलिमिटर हुने पारिलो हिमाली घाँसे मैदानहरू वा बुट्यान क्षेत्रमा यार्सा पाइन्छ ।

सुनभन्दा महँगो:

हाल उच्च गुणस्तरको यार्साको अन्तर्राष्ट्रिय बजार मूल्य सुनभन्दा पनि महँगो छ । त्यस कारण यसलाई जैविक सुन पनि भनिन्छ । चीनमा उच्च गुणस्तरको यार्साको सरदर मूल्य ७० लाख रुपियाँ प्रतिकिलोसम्म पर्छ । सर–सामानहरू किनबेच गरिने वेबसाइट इबेमा यसको मूल्य ५० हजार अमेरिकी डलर अर्थात् ५० लाख रुपियाँ प्रतिकिलो राखिएको छ । गत वर्ष काठमाडौँमा यसको २० देखि ३० लाख रुपियाँ प्रतिकिलोसम्ममा किनबेच भएको थियो । विश्वभरमा बर्सेनि करिब ५ देखि ११ अर्ब अमेरिकी डलर बराबरको यार्साको व्यापार हुने अनुमान छ । 

चीनले विश्वमा उत्पादन हुने यार्साको ९५ प्रतिशतभन्दा बढी बजार ओगटेको छ भने नेपालले दुईदेखि तीन प्रतिशतसम्म । त्यस कारण चीन यसको प्रमुख उत्पादक र बजार दुवै हो । विकिपिडियाका अनुसार सन् २००४ देखि २०१३ सम्ममा चीनमा यसको बजार मूल्य एक हजार प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने नेपालमा विगत १३ वर्षमा यसको बजार मूल्य २ हजार ८ सय प्रतिशतसम्म बढेको छ । 

चीनको आर्थिक उन्नतिसँगै बढिरहेका नवधनाढ्यहरूबीच यार्सा महँगो फ्रेन्च स्याम्पेनजस्तै लोकप्रिय छ । उनीहरूले आफूसँग यार्सा हुनुलाई ‘स्टाटस सिम्बोल’ (प्रतिष्ठाको प्रतीक)का रूपमा लिने हुनाले महँगो मूल्य तिर्न पनि हिचकिचाउँदैनन् । यार्सालाई ठूला सरकारी अधिकारीहरूसँग काम पट्याउन घूसको रूपमा प्रयोग गर्ने गरेका समाचारहरू चिनियाँ अखबारहरूमा आइरहेका हुन्छन् । नेपालबाट विदेश निकास हुने यार्सा चीनलगायत हङकङ, सिंगापुर, जापान र अमेरिकासम्म पुग्छ । चिनियाँ मूलका नागरिक बसोवास गर्ने संसारका सबै जसो सहरमा यार्सा विक्री–वितरण हुन्छ । हिजोआज इन्टरनेटमार्फत पनि ठूलो परिमाणमा यसको खरिद–विक्री हुन्छ ।



जीवनमरणको लडाइँ:-

बहुमूल्य यार्साको बजार र उपयोगिता जति आकर्षक छ, त्यसभन्दा कठिन छ, यसको संकलन कार्य । घाँसे मैदानहरूमा फाट्टफुट्ट देखिने यार्सा खोज्नु भनेको फोहरको थुप्रोमा सियो खोज्नुजत्तिकै कष्टकर हुन्छ । संकलकहरूले पाटनमा एक इन्च ठाउँ पनि खाली नराखी भुइँमा घर्स्रंदै यार्सा खोज्छन् । दिनभरि खोज्दा कहिलेकाहीँ त एउटा पनि पाइँदैन । विकट र अत्यधिक चिसो ठाउँमा पाइने भएकाले यसको खोजी गर्न जाँदा ज्यानको बाजी लगाउनुपर्छ । त्यसकारण यार्सा संकलनका क्रममा कतिपय मान्छेहरू लेक लागेर, बिरामी भएर, हिउँमा चिप्लिएर, पहिरोमा पुरिएर वा नदीमा खसेर ज्यान गुमाउँछन् । यार्सासँग सम्बन्धित घटनाहरूमा गत वर्ष मात्र १७ जनाले ज्यान गुमाएका थिए । यसपालिचाहिँ दार्चुलामा नौ, बझाङमा पाँच, डोल्पामा तीन, संखुवासभामा दुई, मुगुमा दुई गरी २१ जना यार्सा संकलकहरूको ज्यान गइसकेको छ ।

सामाजिक कलह र विकृति:-

यतिखेर यार्सासँग सम्बन्धित द्वन्द्व पनि बढ्दो छ । यार्साकै कारण गाउँ–गाउँबीच प्राकृतिक स्रोतमाथिको अधिकारलाई लिएर द्वन्द्व चलिरहेको छ । २२ असार ०६६ मा मनाङको नार गाउँमा यार्सा संकलन गर्न आएका गोरखाका सात जनाको हत्या सिंगो नारवासी मिलेर गरेका थिए । यार्साकै विषयलाई लिएर गत वर्ष डोल्पाको द्यो गाविसमा प्रहरीको गोलीबाट एक स्थानीय मारिएका थिए । यार्सा संकलनका क्रममा ससाना झडपहरू दिनहँु भइरहेका हुन्छन् । अपराधका घटना निकै कम सुनिने दुर्गम वस्तीहरूमा यार्सासँग सम्बन्धित चोरी, लुटपाट, हत्याजस्ता घटना बढ्न थालेका छन् । जस्तो : गत वर्ष डोल्पाको साल्दाङमा यार्सा व्यापारीको ६ करोड रुपियाँ बराबरको लुटपाट भएको थियो भने यसपालि ८ र १० असारमा डोल्पामा मात्रै यार्साका व्यापारी र संकलकहरूबाट एक करोडबराबरको यार्सा र पैसा लुटिएको छ । 

यार्साकै कारण अपराध मात्रै होइन, सामाजिक विकृति पनि बढेको स्थानीयहरूको ठम्याइ छ । जुवातास, लंगुरबुर्जाको खाल र मदिरा व्यापार यार्सा संकलन समयमा अधिक हुने गर्छ । डोल्पामा ०६८ सालमा अनुसन्धानका क्रममा जाँदा ५० रुपियाँ प्वाइन्ट म्यारिज र लंगुरबुर्जामा आठ हजारसम्म बाजी राखेर खेलेको यो पंक्तिकार स्वयंले देखेको थियो । स्कुले केटाकेटीहरू पनि यार्सा संकलनमा जाने भएकाले सामान्य अवस्थामा समेत कम पढाइ हुने दुर्गम गाउँमा यार्साका कारण दुई महिनासम्म विद्यालय बन्द हुँदा पढाइमा नकारात्मक असर परिरहेको छ । विद्यार्थीहरूसँग सानै उमेरमा धेरै पैसा हुने भएकाले यार्सा सिजनपछि उनीहरूमा पढाइप्रतिको रुचि कम हुने शिक्षकहरूले अन्तरक्रियाका क्रममा बताएका थिए । त्यसै गरी बझाङ, दार्चुलालगायतका ठाउँहरूमा यार्सा संकलन गर्न जाँदा अन्य वन्यजन्तुको चोरी सिकारी गर्ने घटना पनि बढिरहेका छन् । 



यार्सा घट्दै छ :-

एकातिर यार्साको मूल्य र संकलकहरू बढिरहेका छन् भने अर्कातिर प्राकृतिक रूपमा यो कम पाइन थालेको छ । संकलकहरूलाई स्रोत नै मासिने र जीविका नै धरापमा पर्ने पिरले सताएको छ । हाम्रो सर्वेक्षण अनुसार सन् २००६ मा प्रतिव्यक्ति प्रतिसिजन सरदर २ सय ६७ गोटा यार्सा संकलन हुन्थ्यो भने सन् २०१० मा उक्त संख्या घटेर १ सय २५ गोटामा सीमित हुन पुगेको छ । यो पाँच वर्षको प्रतिव्यक्ति संकलनको अवस्था हेर्दा प्रतिसंकलक प्रतिवर्ष ३२ गोटाले कम यार्सागुम्बा संकलन भइरहेको छ । त्यसिपछिका वर्षमा यार्सा टिप्न जाँदा नपाएर रित्तै फर्कने संकलकहरू बढ्न थालेका छन् । यसै पालि पनि दार्चुलाका विभिन्न भेगमा गएका संकलनकर्ताहरूले विगतका वर्षहरूमा भन्दा कम यार्सा पाएको बताएका थिए । त्यस्तै जाजरकोटबाट डोल्पा गएका संकलनकर्ताहरूले पनि विगतमा जस्तो यार्सा भेट्न नसकेपछि यार्सा संकलनका लागि जाँदा लागेको ऋण तिर्न भारतमा मजदुरी गर्न जान परेको बताइरहेका छन् ।

संकलनकर्ता धेरै भएर प्रतिव्यक्ति संकलनमा ह्रास आएको पनि हुन सक्छ । तर, पहिले भन्दा धेरै ठाउँमा संकलन गर्दा पनि समग्र संकलन परिमाण नै कम हुन थालेको छ । व्यापारीहरू पनि माग बढी भएको तर आपूर्ति कम भएको बताउँछन् । अत्यधिक र अव्यवस्थित संकलन, समयअगावै गरिने संकलन, अधिक चरिचरन, यार्सागुम्बाका लागि चाहिने पुतली–झुसिलकीराको कमी, मानिसहरूको बढ्दो हिँडडुलका कारण स्थानीय परिस्थितीय प्रणालीमा हेरफेर र जलवायु एवं भू–उपयोगमा आएको परिवर्तनको असरका कारण यार्साको संकलन घटेको हुन सक्छ । तर, यकिन कारण पत्ता लगाउन विस्तृत वैज्ञानिक अनुसन्धानको जरुरी छ । नेपालमा मात्रै होइन, चीन र भुटानमा पनि यार्साको संकलन घट्न थालेको छ ।

गरिबी निवारणको साधन ?:-

यार्सा उत्पादनमा कमी आउनु भनेको हिमाली भेगका बासिन्दाको जीविकामा प्रत्यक्ष नकारात्मक असर पर्नु हो । किनभने, तुलनात्मक रूपमा आर्थिक उत्पादनका अवसरहरू कम भएका यस क्षेत्रका बासिन्दाका लागि यार्सा यतिखेर वरदान साबित भएको छ । यो पंक्तिकारसमेतले डोल्पामा गरेको अध्ययनले त्यहाँका मानिसहरूको ७० प्रतिशतसम्म आम्दानीको स्रोत नै यार्सा भएको देखिएको थियो । ११ प्रतिशत मानिसले आफ्नो नगद आम्दानीको एक मात्रै स्रोत यार्सा संकलन भएको बताएका थिए । यार्साले स्थानीय रूपमा आर्थिक क्रियाकलाप पनि बढाएको छ । यार्सा संकलकबाट गत वर्ष राज्यले पनि १ करोड २८ लाख रुपियाँ राजस्व संकलन गरेको थियो । 

नेपालमा गरिबीको भौगोलिक वितरण र यार्सा पाइने ठाउँ हेर्ने हो भने हिमाली जिल्लाहरू, जो गरिबीको विभिन्न सूचकांकमा अन्य जिल्लाको तुलनामा तल देखिन्छ, मा बहुमूल्य जडीबुटी यार्सा पाइन्छ । त्यसैले यार्साको दिगो व्यवस्थापन गरेमा हिमाली क्षेत्रको गरिबी निवारण र आर्थिक उत्थानमा ठूलो अवसर बन्न सक्छ । केही वर्षयता यार्साको आम्दानीले स्थानीय जनजीवन केही सहज भएको पनि छ तर त्यस क्षेत्रको समग्र गरिबी घटेको छैन । 

खासमा यार्सा संकलनकर्तामा वित्तीय व्यवस्थापनको सामान्य ज्ञान पनि छैन र समस्य यहीँबाट सुरु भएको छ । यार्सा संकलनबाट आएको पैसा सहज रूपमा प्राप्त हुने तर बचत गर्नुपर्छ भन्ने चेतनाको कमी र वित्तीय संस्थासँगको पहुँच नभएकाले पनि धेरैले यार्साको आम्दानी संकलनको समयमा नै सकाउने गरेका छन् । नगन्य मानिसले मात्र यार्साको आम्दानीबाट घर–घडेरी जोड्न, छोराछोरीलाई महँगो स्कुलमा पढाउन सफल भएका छन् । अधिकांशको कमाइ महँगो जुवातास र मदिरा सेवन आदिमै सकिएको स्थानीयको गुनासो रहिआएको छ । 

त्यसो त यार्साको व्यापार गोप्य साँठगाँठमा हुने भएकाले स्थानीय संकलकहरूले वास्तविक बजार मूल्यभन्दा निकै कम हिस्सा प्राप्त गरिरहेका छन् । कतिपय अवस्थामा बाहिर जिल्लाबाट आएका संकलकहरूलाई स्थानीयले सस्तोमा बेच्न वाध्य बनाएका उदाहरण पनि छन् । वास्तविक संकलकहरूले लाभको कम हिस्सा प्राप्त गर्छन्, जसले गर्दा उनीहरूको आर्थिक अवस्थामा सुधार हुने वातावरण बन्न सकेको छैन ।



प्राकृतिक दोहनको मूल्य :-

यार्साले आर्थिक अवसर मात्रै ल्याएको छैन, प्राकृतिक सम्पदाको दोहन पनि जारी छ । लाखौँ संख्याका संकलकहरूले बर्सेनि पर्यावरणीय हिसाबले अत्यन्त संवेदनशील उच्च हिमाली पाटनहरूमा आउजाउ गर्दा त्यहाँको रैथाने वनस्पतिहरू र परिस्थिकीय प्रणालीमा कस्तो असर परेको होला ? घाँसे मैदानमा पाइने वनस्पतिहरू मान्छेको पदचापले थिचिँदै गएका छन् । संकलकले पकाउन र क्याम्प तताउनका लागि गर्ने दाउराको मनपर्दी प्रयोग र छाप्रा बनाउनका लागि गरिने रूख कटानले त्यहाँका जंगल मासिँदै गएका छन् । संकलकहरूले खुला दिसा–पिसाब गर्नाले र उनीहरूले छाडेका प्लास्टिकको खोल, सिसी बोतल, लत्ताकपडाले सुन्दर पाटनहरू कुरूप बन्दै गएका छन् । त्यहाँ फोहर थुप्रिँदै जान थालेको छ । समग्रमा मानिसहरूको अत्यधिक चापले गर्दा जलवायु परिवर्तनको कारण पहिले नै उच्च जोखिममा परेका हिमाली भेगका वनस्पति र परिस्थिकीय प्रणालीमा नकारात्मक असर परिरहेको सजिलै अनुमान गर्न सकिन्छ । र, यसको मूल्य दीर्घकालीन रूपमा चर्को हुन सक्छ । 

दिगो व्यवस्थापनका चुनौती :-

ठूलो पर्यावरणीय मूल्य चुकाएर संकलन गरिने यार्साको दिगो व्यवस्थापन अत्यावश्यक भइसकेको छ । यार्साको दिगो व्यवस्थापन भन्नाले प्राकृतिक रूपमा दिगो उपलब्धता, आर्थिक रूपमा गरिव संकलकहरूलाई धेरै मुनाफा र सामाजिक रूपमा विकृतिरहित अवस्थालाई मान्न सकिन्छ । यार्साको जीवनचक्र र यसको पुन:उत्थान विधिका बारेमा रहेको वैज्ञानिक जटिलता (दुई जीवको संयुक्त रूप भएकाले अन्य जीवजस्तो सार्ने, उमार्ने, पाल्नेजस्ता संरक्षण विधि यसमा मिल्दैन)ले गर्दा यसको संरक्षण चुनौतीपूर्ण बनेको छ । यार्सा नेपालमा सम्भवत: सबैभन्दा बढी मानिसले संकलन गर्ने जैविक स्रोत हो । लाखाँैको संख्यामा संकलकहरू भएकाले संरक्षण झनै जटिल बनेको छ । यसको आकार पनि निकै सानो भएको र वासस्थान कठिन ठाउँमा भएकाले संरक्षण असहज हुने नै भयो । तुलनात्मक रूपमा सहज ठाउँमा पाइने ठूला आकारका जनावरहरूसमेत संरक्षण गर्न हम्मे परेको अवस्थामा यस्ता विशिष्ट गुणहरू भएको यार्सालाई संरक्षण वा दिगो व्यवस्थापन गर्नु भनेको निकै कठिन कार्य हो । त्यसमाथि यसबारे स्पष्ट विधिको अभाव छ । अहिलेसम्म यार्साको दिगो व्यवस्थापनमा भुटानको उदाहरण अग्रणी मानिन्छ । यद्यपि, त्यो पूर्ण भने होइन (हेर्नूस्, बक्स : भुटानमा यार्साको दिगो व्यवस्थापन) ।

यार्सालाई प्राकृतिक रूपमा जोगाउन र आर्थिक हिसाबले नाफामूलक उपाय यसको कृत्रिम उत्पादन पनि हुन सक्छ । कृत्रिम उत्पादनका लागि वैज्ञानिक अनुसन्धान र प्रयासहरू जारी भए तापनि प्रकृतिमा पाइने जस्तो यार्सा (लार्भा र ढुसीको संयुक्त रूप)को कृत्रिम उत्पादनमा भने अझै सफलता पाउन सकिएको छैन । नेपालमा च्याउ खेती गरे जस्तै चीन, जापान र अमेरिकामा यसको ढुसी अंशको कृत्रिम उत्पादन हुन थालेको छ । यसरी उत्पादित यार्साका ढुसी भागहरू बजारमा किन्न पाइन्छ । विभिन्न सप्लिमेन्ट र भिटामिनहरूमा यसलाई मिसाइएको हुन्छ । 

यार्साको कृत्रिम उत्पादनमा सबैभन्दा चुनौती यसका लागि चाहिने लार्भाको ठूलो संख्यामा उत्पादन गर्नु हो । केही महिना पहिले मात्रै जापानको एक कम्पनीले रेशम कीराको लार्भामा यार्साको च्याउ अंश उमारेर यसको व्यावसायिक उत्पादन सुरु गरेको खबर आएको थियो । चीनमा पनि पुतलीलाई पालेर लार्भा उत्पादन सुरु गरिएको छ । तर, ठूलो मात्रामा यसको कृत्रिम उत्पादन बजारमा आउन थालेपछि यार्साको अहिलेको बजार माग र मूल्य घट्न सक्छ, जसले गर्दा हिमाली भेगका बासिन्दाको यार्सा आश्रित जीविका धरापमा पर्न सक्छ । त्यसकारण ठूलो पर्यावरणीय मूल्य चुकाएर संकलन गरिएको यार्साले ल्याएको आर्थिक अवसरको सदुपयोग गर्न हामी चुक्न हुँदैन । यार्साले स्थानीय क्षेत्रको गरिबी निवारण र जीवनस्तरमा परिवर्तन पनि गर्न सकेन भने वातावरणीय क्षतिसँगै आर्थिक अवसरसमेत गुम्ने खतरा छ । 

के गर्दै छ सरकार ?:-

नेपालको विकासमा जडीबुटीको सम्भावना धेरै उठाइने विषय हो । आर्थिक, सामाजिक र वातावरणीय हिसाबले यार्सालाई सबैभन्दा धेरै सम्भावनाको जडीबुटी मान्न सकिन्छ । तर, धेरै सम्भावना बोकेको यार्साको दिगो व्यवस्थापनमा सरकारी तवरबाट खासै काम भएको छैन । स्थानीय जनताको चेतना अभिवृद्धि गर्ने, अध्ययन–अनुसन्धानलाई सहयोग गर्ने, यार्सासँग सम्बन्धित आवश्यक नीति–नियम र कार्यक्रम बनाएर कार्यान्वयन गर्ने कुरामा सरकारले खासै काम गर्न सकेको छैन । गत जेठमा बेलायतको रूफोर्ड फाउन्डेसनको सहयोगमा अनुसन्धानका लागि छलफल र तालिममा बझाङ र दार्चुला पुग्दा त्यहाँका स्थानीय सरोकारवालाहरूले यार्सासम्बन्धी यस्तो तालिम जिल्लामा पहिलोपटक भएको बताएका थिए । बझाङ र दार्चुला मात्रै होइन, अनुसन्धानका सिलसिलामा डोल्पा, मनाङ, मुस्ताङ, गोरखा, दोलखा पुग्दा पनि सरकारले यार्साबाट राजस्व संकलन गर्ने बाहेक अन्य काम गरेको भेटिएको छैन । 

गत सालको द्यो, डोल्पा घटना राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चाको विषय बनेपछि मात्रै सरकारले यार्सा संकलन, विक्री–वितरणलाई व्यवस्थित गर्न कार्यदल बनाएको थियो । उक्त कार्यदलले ३१ पृष्ठ लामो प्रतिवेदन पनि बुझाएको थियो, जसमा संकलन व्यवस्थापनदेखि ऐन नियममा सुधार गर्ने, राजस्वदरमा पुनरावलोकन गर्ने, अनुसन्धान कार्यक्रम सुरु गर्नुपर्ने सुझावहरू समेटिएका छन् । तर, उक्त कार्यदलले प्रतिवेदन बुझाएको एक वर्ष भइसक्दा पनि सरकारी तवरबाट यार्साको व्यवस्थापनमा खासै केही प्रगति भएको छैन । यो दुर्भाग्यपूर्ण छ ।

(अष्ट्रेलियाकाे युनिभर्सिटी अफ साउथर्न क्वीन्सल्याण्डको ईन्स्टीच्यूट फर एग्रीकल्चर एण्ड द ईन्भायरोन्मेन्टमा भाईस चान्सलर्स रिसर्च फेलो रहेका श्रेष्ठको यार्सासम्वन्धी एक दर्जन जति वैज्ञानिक लेख, थुप्रै समसामयीक लेख र ‘नेपालका प्रमुख गैह्रकाष्ठ वन पैदावार’ नामक पुस्तक प्रकाशित छन् ।)



यार्सा अर्थात् ‘हिमालयन भियग्रा’:-

प्राचीन चिनियाँ उपचार विधिमा यार्साको प्रयोग सयौँ वर्षअघिदेखि गरिँदै आएको छ । यार्साका बारेमा पहिलोपटक सचित्र वर्णन न्याम्नी दोर्जीले सन् १४७५ तिर लेखेको एन ओसन अफ एफ्रोडिजिएकल क्वालिटिज, अ स्पेसल वर्क अन यार्सागुन्बु भन्ने पुस्तकमा भेट्न सकिन्छ । तर, विश्वमा यसको अत्यधिक चर्चा भने सन् १९९३ मा जर्मनीमा भएको विश्व ट्रयाक एन्ड फिल्ड प्रतियोगितापछि मात्रै हुन थालेको हो । उक्त प्रतियोगितामा तीन चिनियाँ महिला खेलाडीले १ हजार ५ सय, ३ हजार र १० हजार मिटरको दौडमा पाँच विश्व रेकर्ड कायम राखे । खेलाडीहरूको उत्कृष्ट प्रदर्शनको रहस्य दैनिक अभ्यासका क्रममा यार्सा सेवन गर्नु हो भनेर प्रशिक्षकले खुलासा गरिदिएपछि यसको चर्चा र खोजी विश्वभरि विषेशत: पश्चिमा सञ्चार माध्यमहरूमा हुन थालेको हो । त्यसपछि यसको चर्चासँगै यसको मूल्य पनि आकाशिएको छ । 

परम्परागत चिनियाँ उपचार विधि अनुसार यसको प्रयोग दम, कलेजो, मुटु र मिर्गाैलाको रोगमा गरिन्छ । नेपालमा स्थानीय रूपमा झाडापखाला, टाउको दुख्ने, हातगोडा दुख्ने उपचारका निम्ति यसलाई प्रयोग गरिन्थ्यो । यद्यपि, अहिले यसको अत्यधिक उपयोग भने यौन शक्तिवर्धक टनिकका रूपमा गरिन्छ । त्यस कारण यसलाई ‘हिमालयन भियाग्रा’ भनेर बजारमा बेचबिखन गरिन्छ । 

यार्साले साँच्चै यौनशक्ति बढाउँछ त ? यो आमजिज्ञासा हो । अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अनुसन्धानले यार्साको नियमित सेवन गर्ने पुरुषको पिसाबमा १७–केटास्टोरोइड भन्ने तत्त्व बढी हुने देखाएको थियो । उक्त तत्त्वले पुरुषमा एन्ड्रोजिनलगायतका सेक्स हर्मोनहरूको उत्पादन बढाउँछ । एउटा सर्वेक्षणमा यार्सा नियमित सेवन गर्ने ६४ प्रतिशत मानिसले आफ्नो यौन शक्ति बढेको बताएका थिए । पछिल्लोपटक सात जना ३० देखि ४० वर्ष उमेरका खेलाडीलाई यार्साबाट बनेका ‘सप्लिमेन्ट’ तीन महिनासम्म खुबाएर परीक्षण गर्दा उनीहरूमा सेक्स हर्मोन, टेस्टस्टेरोन बढेको देखिएको थियो । अर्को अनुसन्धानले यार्साले मानिसको शरीरमा भएको कोषको शक्तिवर्धक एटीपी उत्पादन बढाउने देखाएको छ । 

यार्सागुम्बामा कोर्डिसेपिनलगायत अन्य न्युक्लेओसाइड, कोर्डिसेपिक एसिड, एमिनो एसिड, असन्तृप्त फ्याट्टी एसिड, कार्बोहाइड्ेरट, पोलिसाक्काराइड, भिटामिन, सुगर, प्रोटिन, स्टेरोल, मेलानिनजस्ता रासायनिक पदार्थहरू पाइन्छ । यसमा पाइने केही रासायनिक तत्त्वहरू क्यान्सर र ट्युमर उपचारमा पनि उपयोगी देखिएको हालै भएका वैज्ञानिक अनुसन्धानहरूले पुष्टि गरेका छन् ।
(ई कान्तिपुर बाट साभार)

Saturday, July 18, 2015

शनिबार जर्सीसँग पनि पराजीत भएपछि क्याप्टेन पारस खड्काको प्रतिक्रिया


नेपाल आइसीसी टी–२० विश्वकप छनौट प्रतियोगिताको समूह ए को अन्तिम स्थानमा रहदै बाहिरिएको छ ।
शनिबार जर्सीसँग पराजीत भएपछि नेपालको सम्भावना सकिएको हो । प्लेअफको गणितीय सम्भावना कायम राख्न पनि जर्सीमाथि फराकिलो जित आवश्यक थियो ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रतियोगिताबाट बाहिरिएपछि नेपाली टिमका कप्तान पारस खड्काले यो आइसीसी टी–२० विश्वकप छनौट निकै खराब रावित भएको प्रतिक्रिया दिएका छन् ।
प्रतियोगिता अवधिभर फरक कम्बिनेस गर्न कोसिस गरेपनि त्यसमध्ये कुनै योजना काम नलागेको उनले बताए ।
‘मलाई लाग्छ, यो नै पहिलोपठक हुनुपर्छ योजनाले काम नगरेको । नेपालको खराब प्रदर्शनमा कण्डिसनलाई दोष दिन मिल्दैन,’ उनले भने ।
उनले प्रत्येक खेलमा फरक फरक योजनाका साथ खेल्दा पनि काम नलागेको बताए ।

Friday, July 17, 2015

दक्षिण भारतीय तलेगु फिल्म "बाहुबली" ले बलिवुडका सबै फिल्मको रेकर्ड तोड्दै चमत्कारिक रेकर्ड बनाउदै

दक्षिण भारतीय फिल्म दर्शकका लागि एसएस राजामौली आफैंमा एक बाहुबली निर्देशक हुन् । यतिबेला उनको फिल्म ‘बाहुबली  द बिगिनिङ’ ले पूरा भारत हंगामा मच्चाइरहेको छ । रेकर्डमाथि रेकर्ड थपिरहेको छ । रिलिजको पहिलो दिन नै अहिलेसम्मकै सर्वाधिक ५० करोड भारु कलेक्सन गरेर बलिउडलाई समेत माथ गरिदिएको तेलुगु फिल्मको लागत पनि भारतीय फिल्मकै अहिलेसम्मकै धेरै २ सय ५० करोड भारु रहेको छ ।

जबकि सप्ताहन्तको तीन दिनमै फिल्मले झन्डै डेढ सय करोड भारु उठाइसकेको छ । फिल्म ‘बाहुबली’ को चमत्कारिक सफलतापछि पुन: एकपटक निर्देशक राजामौली चर्चामा आएका छन् । लगातार ब्लकबस्टर्स हिट फिल्म दिंदै आएका उनलाई नै यतिबेला बाहुबली निर्देशक मान्न थालिएको छ । दक्षिण भारतीय कलाकार प्रभास, राणा डग्गुबाती, अनुष्का शेट्टी, तमन्ना भाटिया जस्ता कलाकारलाई लिएर उनले बलिउडको हेजेमोनी तोडिदिएका छन् ।

खान, कपुर वा देवगनहरूको स्टारडमलाई समेत ठाडो चुनौती दिएका छन् । आखिर राजामौली को हुन् त ? राष्ट्रिय अवार्ड विजेता ४१ वर्षीय राजामौली मुख्यत: तेलुगु फिल्ममा सक्रिय छन् । उनले उक्त अवार्ड पाएको फिल्म ‘इगा’ लाई हिन्दीमा ‘मख्खी’ नाममा डब गरिएको थियो । ‘इगा’ मा सेन्सेसनल रिभेन्ज लभस्टोरी देखाएका राजामौली आफूलाई विधा वा श्रेणीमा बाँध्न रुचाउँदैनन् ।

उनै राजामौलीले ‘विक्रमार्कुडु’ र ‘मर्यादा रमन्ना’ जस्ता एक्सन फिल्म पनि बनाएर वाहवाही बटुले । पछि ‘विक्रमार्कुडु’ लाई रिमेड गरेर बनाइएको हिन्दी फिल्म ‘राउडी राठौर’ र ‘मर्यादा रमन्ना’ को रिमेड ‘सन अफ सरदार’ ले बलिउड बक्सअफिसमा समेत तहल्का पिटेका थिए । तेलुगु टेलिभिजनका लागि साबुनको विज्ञापन बनाएर निर्देशनको थालनी गरेका राजामौली नै हुन्, जसले पछि ‘मगधिरा’ जस्तो ब्लकबस्टर्स फिल्म दिए । ‘मगधिरा’ तेलुगु फिल्म इतिहासमै सर्वाधिक कमाइ गर्ने फिल्ममा गनिन्छ ।

यतिबेला भने ‘बाहुबली : द बिगिनिङ’ ले नै राजामौलीका सबै रेकर्डमा सुधार गरिदियो । अझै फिल्मको दोस्रो भाग आउन बाँकी नै छ । तर दर्शकले प्रिक्वेललाई नै अत्यधिक रुचाइसकेका छन् । यतिबेला ‘बाहुबली : द बिगिनिङ’ लाई हलिउड फिल्मसँग दाँज्न थालिएको छ । राजसंस्था प्राप्तिका लागि दुई राजकुमार भाइबीचको कलहलाई विषयवस्तु बनाएको ‘बाहुबली’ ले यतिबेला अनलाइन रेटिङमा हलिउड इपिक ‘३००’ लाई समेत पछारेको रिपोर्ट आइरहेको छ ।

इन्टरनेट मुभी डाटाबेस (आईएमडीबी) ले ‘बाहुबली : द बिगिनिङ’ लाई १० मा ९.४ रेटिङ दिएको छ । ‘बाहुबली’ को बक्सअफिस सक्सेसलाई लिएर बीबीसीले समेत कारणहरू खोतल्दै एउटा रिपोर्ट बनाएको थियो । जसको पहिलो आधार हाइपलाई मानिएको छ । हुन पनि निर्माण पक्षले फिल्मको पोस्टर नै ५१ हजार स्क्वायर फिटको बनाएर विश्वमै अहिलेसम्मकै ठूलो पोस्टर भन्ने रेकर्डसमेत राखेका थिए ।

त्यसबाहेक फिल्मले उठाएको पौराणिक युद्ध कथा सफलताको अर्को पाटो हो । ठूलो क्यानभास, चमत्कारिक स्पेसल इफेक्ट्स, चुस्त पटकथा र जबर्जस्त अभिनय नै फिल्म सफलताको कडी हो । जबर्जस्त ओपनिङ गरेको फिल्मले एक सातापछि नै रिलिज डेट राखेको सलमान खान अभिनित फिल्म ‘बजरंगी भाइजान’ को रिलिजलाई असर गर्ने पक्का भएको छ । ‘बाहुबली : द बिगिनिङ’ को सफलताले गर्दा यतिबेला सलमानलाई पर्याप्त हल नपाउने भएपछि मनमा चिसो पसेको छ ।

फिल्म बजार ठूलो भए तापनि टेक्नोलोजीमा हलिउडभन्दा सधैं पछि पर्ने बलिउडले यतिबेला साउथ फिल्मबाटै भए पनि नाक ठाडो पार्न पाएको छ । ‘बाहुबली’ मा बनाइएको चमत्कारिक साम्राज्य, साँढेसँगको डरलाग्दो भिडन्त र श्वास नै रोक्ने खालका पर्वतका खोंचमा गरिएका महायुद्धका स्पेसल इफेक्ट्स पनि दर्शकलाई हलसम्म तान्ने हतियार त हुन् नै, हलिउडको दाँजोमा पुर्याउने गरी मिहिनेत पनि उत्तिकै गरिएको छ ।

फिल्ममा ४० मिनेट लामो युद्ध राखिए तापनि दर्शकलाई पट्यार नलाग्नु यसैको करामत मान्न सकिन्छ । यी सबैका लागि निर्देशक राजामौली असल भागेदार छन् । रिलमा प्रभासलाई बाहुबली देखाए पनि वास्तविकतामा भने निर्देशक राजामौली बाहुबली देखिएका छन् । फिल्मका बारेमा बलिउड हिरो बरुण धवनले भनेका छन्, ‘बाहुबली केवल दक्षिण भारतीय फिल्म उद्योगको मात्रै सफलता नभई भारतीय फिल्म उद्योगकै सफलता हो ।’

दक्षिणप्रति अनुदार देखिँदै आएको बलिउड पनि यतिबेला भने ‘बाहुबली’ को विश्वव्यापी सफलतासामु झुकेको मात्रै छैन, भारतलाई नै विश्व फिल्म इतिहासमा चिनाउन सफल भएकोमा दंग परेको छ । अमेरिकी बक्सअफिसमा ‘बाहुबली  द बिगिनिङ’ ले विकेन्डमा मात्रै ५० लाख डलर कमाएर यसअघि आमिर खान अभिनित ‘पीके’ ले बनाएको ३१ लाख डलर कमाइको रेकर्डसमेत तोडिदिएको हो ।

(From ekantipur news)

नेपालले अब समूहमा चौथो हुने प्रयास गर्नेछ र आफ्नो क्षमता अनुसार खेल्नेछौं : पारस खडका

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले आगामी वर्ष भारतमा हुने टी-२० विश्वकपमा छनोट हुने नेपालको सम्भावना कायमै रहेको बताएका छन् ।बुधबार राति भएको खेलमा हङकङसँग ५ विकेटले पराजित भएपछि नेपालको विश्वकप यात्रा कठिन भएको छ ।तर, कप्तान खड्काले भने नेपालले अब समूहमा चौथो हुन प्रयास गर्ने बताएका छन् ।

क्रिकइन्फोसँगको कुराकानीमा उनले भने-‘हाम्रो लागि प्रतियोगिता सकिएको छैन । बाँकी दुईखेल जित्न सक्यौं भने चौथो हुन सक्छौं । तर, रनरेट पनि मेन्टन गर्नुपर्छ ।’उनले नेपाली टोलीले अझै पनि राम्रो क्रिकेट खेल्न नसकेको स्वीकार गरेका छन् ।

पछिल्लो खेलहरुमा नेपालको ब्याटिङ चल्न नसकेका भन्दै खड्काले भने-आश छ, बाकीँ खेलहरुमा हामीले आफ्नो क्षमता अनुसार खेल्न सक्छौं ।’पुनरागमन गरेर आफ्नो क्षमता अनुसार खेल्नुको विकल्प नभएको उनले बताए । नेपालले त्यहाँको कण्डिसनमा भिजेर दबावमा पनि खेल्न सक्नु पर्ने उनले बताए ।

चार खेलबाट ३ अंक जोडेको नेपाल समूह एको पाँचौ स्थानमा छ । नेपालले शुक्रबार बलियो टीम पपुवा न्यूगिनीको सामना गर्नेछ भने समूह चररणको अन्तिम खेल शनिबार जर्सीसँग खेल्नेछ ।

समूहको चौथोमा रहन पनि नेपालले बाँकी दुबै खेल जितेर मात्र पुग्दैन, अन्य टोलीको खेलमा भर पर्नु पर्नेहुन्छ |

(From Nepali sports news)

Thursday, July 16, 2015

ढाड दुख्ने कारणहरु र ढाड दुखाई बाट छुटकारा पाउने तरिका

जीवनमा कहिल्यै पनि ढाड नदुखेको मानिस प्रायः कमै हुन्छन् । केही नभएको व्यक्तिलाई पनि एक्कासि निहुरिँदा वा केही काम गर्दा चसक्क भए जस्तो हुने र त्यसपछि ढाडको दुखाइ सुरु हुन्छ । प्राय  ढाड दुख्ने व्यक्तिहरू सुरुको अनुभव यसरी नै सुनाउँछन् ।
हाम्रो जीवनशैली, उठाइ, बसाइको तरिका, कम्प्युटर चलाइ, शरीरको तौल आदि विभिन्न कारणले ढाड दुखाइमा असर पार्छ । एक्कासि ढाडको दुखाइबाट पीडित भइसकेपछि त्यो दुखाइ कहिल्यै पनि बिर्सिन सकिँदैन । ढाडको दुखाइ एक्कासिमात्रै हुँदैन, लामो समयसम्म बिस्तारै पनि हुन्छ । यसरी अलिअलि दुख्ने ढाड दुखाइले हामीलाई पछि हुनसक्ने कठोर दुखाइको संकेत दिइरहेको हुन्छ । तर प्रायः मानिस ढाड दुख्दादुख्दै पनि हिँडिरहेका हुन्छन् र पछि अचानक थला पर्छन् ।

ढाडको दुखाइको मतलब हो, मांसपेशीहरू थकित हुनु, मांसपेशीहरूलाई आराम नपुग्नु । ‘यस्तो बेलामा विशेष गरी एक्कासि हुने दुखाइमा सबैभन्दा ठूलो कुरा हो, आराम’, अमेरिकाका हाडजोर्नी विशेषज्ञ एडवार्ड अब्राहम भन्छन्, ‘धेरैजसो अवस्थामा त वास्तवमा आराममात्रै एउटा औषधी हुन सक्छ र दुखाइबाट मुक्त हुन सकिन्छ ।’ एकदुई दिन पूर्ण आराम गर्नु उत्तम हुन्छ । तर, सातआठ दिनसम्म हलचल नगरी ओछ्यानमा सुत्नुचाहिँ आवश्यक पर्दैन । विभिन्न अनुसन्धानले के देखाएका छन् भने दुईतीन दिन आराम गरेपछि दुखाइ केही कम हुन्छ र हिँडडुल र साधारण काम गर्नु उचित हुन्छ । दुईतीन दिनपछि दुखाइ पूर्णरूपमा हराउनचाहिँ हराउँदैन । पूर्णरूपमा दुखाइ ठिक हुन छ हप्ताजति लाग्न सक्छ ।

डाक्टरकहाँ जानैपर्ने आकस्मिक अवस्था:

ढाड दुख्दा अन्य लक्षण, जस्तो ज्वरो आउने, पेट दुख्ने, छाती दुख्ने र सास फेर्न गाह्रो हुने भयो भने ।
ढाड दुखेपछि दुई दिन आराम गर्दा पनि दुखाइ कम नभएमा ।
औषधि खाएर पनि ढाडको दुखाइ ठिक नभएमा ।
ढाडको दुखाइ खुट्टा र घुँडामा स¥यो भने पनि डाक्टरकहाँ जानुपर्छ । कहिलेकाहीँ मूत्रनलीको संक्रमण वा मृगौलाको समस्या हुँदा पनि ढाड दुख्छ ।

चिसो र तातो सेकाइ:
दुखाइको बारेमा अध्ययन गर्ने क्यानेडेली अनुसन्धानकर्ता रोनाल्ड मेजाल्क भन्छन्, ‘एक्कासि भएको ढाड दुखाइमा चिसो राख्दा केही सन्चो हुन्छ । बरफका टुक्रालाई सूती कपडामा पोको पारेर बिस्तारै दुखेको ठाउँमा सातआठ मिनेटसम्म मसाज गर्नुपर्छ । यसले मांसपेशीमा भएको तनाव केही हट्छ ।’ यो एकदुई दिन गर्न सकिन्छ । त्यसपछि तातो पानीको सेकाइ राम्रो हुन्छ । जर्जियाको एटलान्टामा फ्राइड मेडिकल क्लिनिकका अनुसन्धानकर्ता मिल्टन फ्राइडले तातो पानीको बोतलले पनि सेक्न सकिने बताएका छन् ।

कुनै बाक्लो सूतीको कपडालाई तातो पानीमा भिजाएर निचोरेर ढाडमा फैलाउन पनि सकिन्छ । यसो गर्दा घोप्टो परी सुत्नुपर्छ । अनि तातो रुमालको पट्टी राखेर कसैले केही बेर थिचेर राख्नाले तातोले गर्दा मांसपेशीको तनाव कम हुन्छ ।

व्यायाम:
दुखाइ केही कम भएपछि साधारण व्यायाम गर्नु उचित हुन्छ । जस्तो, कुनै ठाउँमा बसेर घुँडालाई आफूतिर खुम्च्याउने र पुनः तान्ने । यस्तो गर्दा मासंपेशीका तनाव कम हुन जाने
प्रक्रिया छिटो हुन्छ । तर यो व्यायाम दैनिक रूपमा गर्नुपर्छ । ढाड दुख्नबाट बच्न दैनिक जीवनमा गरिने केही साधारण व्यायामहरू उपयुक्त हुन्छन् ।

औषधि:
दुखाइ कम गर्ने औषधिहरू प्रयोग गर्दा दुखाइ कम हुनुको साथै सुन्निने प्रक्रिया पनि कम हुन्छ । यसले दुखाइ छिटो ठिक हुन्छ । तर, यस्ता औषधि प्रयोग गर्दा पेटमा घाउ भएका व्यक्तिहरूले डाक्टरको सल्लाहअनुसार औषधि लिनु राम्रो हुन्छ । दुखाइ कम गर्ने धेरै जसो औषधि प्रायः खाना खाएपछि खानुपर्ने हुन्छ ।
(स्वास्थ्य समाचार साइट बाट)

ट्वान्टी ट्वान्टी विश्वकप छनोटको लागि नेपाली क्रिकेट टिमले शुक्रबार पपुवान्युगिनी संग भिड्ने नेपाललाई उक्त खेल जित्नै पर्ने दबाब

 
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ट्वान्टी ट्वान्टी विश्वकप छनोट प्रतियोगिताअन्तर्गतको पाँचौ खेलमा नेपालले पपुवा न्युगिनीसँग प्रतिस्पर्धा 
गर्नेछ ।
आयरल्यान्डमा जारी उक्त प्रतियोगितामा नेपाली टोलीले शुक्रबार दिउँसो २ः४५ बजे डब्लिनमा पपुवा न्यूगिनीसँग प्रतिस्पर्धा गर्न लागेको हो । दोस्रो पटक विश्वपकप खेल्ने नेपालको सपना भने न्यून हुँदै गएको छ ।

जारी प्रतियोगितामा चार खेल खेलेको नेपालले एक खेलमा मात्र जित हासिल गर्न सकेको छ । नेपालले दुई खेलमा हार भोगेको छ भने बाँकी एक खेल बराबरीमा टुङ्गिएको थियो ।नेपालले पहिलो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । त्यस्तै, दोस्रो नामिबियाविरुद्वको खेल वर्षाका कारण रद्व भई दुवै टोलीले अङ्क बाँडेका थिए । तेस्रो खेल आयोजक आयरल्यान्डसँग ८ विकेटको लज्जास्पद हार बेहोरेको थियो भने चौथो खेलमा नेपाल हङ्कङसँग पाँच विकेटले पराजित थियो ।

पपुवा न्यूगिनी पनि बलियो टोली मानिन्छ । अहिले नेपाली टोली पपुवा न्यूगिनीसँग चौथो पटक भिड्न लागेको हो । जारी प्रतियोगितामा पाँचौ  स्थानमा रहेको नेपालको तीन अङ्क छ भने पपुवा न्यूगिनी पाँच अङ्कका साथ लिगको दोस्रो स्थानमा छ । त्यस्तै ६ अङ्कका साथ आयोजक आयरल्यान्ड पहिलो स्थानमा छ ।
नेपालले अब बाँकी दुई टोली पपुवा न्यूगिनी र जर्सीलाई पराजित गरे पनि समूहको चौथोमा रहन अन्य टोलीको खेलमा भर पर्नुपर्ने हुन्छ । आईसिसीको नियम अनुसार समूहको शीर्ष स्थानमा रहने दुई टोली विश्वकपका लागि छनोट हुनेछन् । दुबै टोलीको दोस्रो र तेस्रो स्थानमा रहनेले क्रस प्ले म्याच खेल्नेछन् र त्यसको विजेता पनि विश्वकपमा पुग्नेछन् I 

प्ले अफमा पराजित भएका दुई टोली र दुबै समूहको चौथो स्थानमा रहने टोलीबीच अर्को प्ले अफ हुनेछ र त्यसको विजेता टोलीले भारतमा सन् २०१६ मा हुने विश्वकप प्रतियोगिताका लागि छनोट हुनेछ ।

(From image khabar)

Wednesday, July 15, 2015

फिटनेश मोडल के डंगोल (कञ्चन डंगोल) ले नेपाललाई संसार सामु चिनाउदै

नेपालकी चेली अर्थात प्रथम नेपाली अन्तराष्ट्रिय फिटनेश मोडल के डंगोल (कञ्चन डंगोल) संसारभरी चर्चित बनेकी छिन् । पछिल्लो पटक गत साता बेलायतमा आयोजित मायामी प्रो युरोपियन च्याम्पियनशिप जितेपछि कञ्चनको चर्चा बढेको छ ।

गत जुलाइमा बेलायतमा आयोजित देशकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिता मध्ये एक मायामी प्रो युरोपियन च्याम्पियनशिपमा अवार्ड जितेकी उनी नेपालकी प्रथम अन्तराष्ट्रिय फिटनेश मोडल हुन् ।
 नुवाकोटमा जन्मिएकी कन्चन विकिनी लगाएर संसारका विभिन्न प्रतियोगितामा सहभागी भैसकेकी छिन् ।
बेलायतको प्रतिष्ठित प्रतियोगितामा ओभरअल विकिनी च्याम्पियन बनेपछि उनले पछिल्लो प्रतियोगिता जितेपछि लेखेको फेसबुक स्ट्याटसमा आफूले भविष्यमा जुनसुकै प्रतियोगिता जित्न सक्ने हिम्मत बढेको लेखेकी छिन् ।

सानै उमेर देखि फिटनेशमा चासो राख्ने कन्चनले प्रतियोगितामा "Ms Bikini Short from Class A "   र Overall bikini champion अवार्ड हात पारेकी थिइन् ।

कञ्चन सन् २०१३ मा बेलायतकै पिटरव्रोगमा मिस विकिनी बनेकी थिइन् । उनले आफ्नो ट्वीटरमा आफूलाई पर्सन ट्रेनर, फिटनेश मोडल र विकिनी प्रतिस्पर्धीकोरुपमा चिनाएकी छिन ।

पिसाब पोल्नुको कारण र यसबाट बच्ने घरेलु उपायहरु जानिराखौं

पिसाब पोल्ने समस्या धेरैलाई हुन्छ र यसलाई मानिसहरुले सामान्य रुपमा लिएर नजरअन्दाज समेत गर्ने गरेको पाइन्छ । प्राय जसो गर्मी महिनामा बढी यो समस्या देखिने गरेको पाईन्छ । किनकी गर्मीमा शरीरलाई आवश्यक पानीको मात्रा पुगेन भने यो समस्याले सताउने गर्छ 

कहिलेकाहीँ यो समस्या केही समयका लागि मात्र रहन्छ भने कहिलेकाही महिनौँसम्म रहन्छ । यो समस्या महिला र पुरुष दुबैमा उत्तिकै मात्रामा पाइन्छ । पिसाब पोल्नुका कारण विभिन्न हुनसक्छन्, जस्तैः मुत्रनलीको संक्रमण, मृगौलामा पत्थरी, शरीरमा पानीको कमी आदि ।

पिसाब पोल्नुका विभिन्न कारण हुने भए पनि कतिपय मानिसलाई यस्ता कारणबारे पत्तो नै हुँदैन। कलेजोमा समस्या, अल्सर, प्रेग्नेन्सीको समयमा स्नायु तथा ढाडको हड्डी क्षतिग्रस्त हुनु, शुक्राणु तथा विर्यकोषको संक्रमण, यौनरोग, प्रोस्टेट ग्रन्थी बढ्नु, मधुमेह, कुपोषण तथा मूत्रनली खुम्चिनु लगायतका कारणले समेत पिसाब पोल्नसक्छ ।

पिसाब पोल्नुका कारणहरु सामान्य देखि निकै जटिल समेत हुने भएकाले यसको गाम्भीयर्ता हेरिकन समाधानका उपायतर्फ लाग्नुपर्छ ।

पिसाब पोल्ने समस्याको केही सामान्य घरेलु उपचार बिधिः

१. प्रसस्त मात्रामा पानी पिउनुहोस् । पानी कम भयो भने पिसाब पहेँलो रंगको बन्न थाल्छ । दिनमा कम्तीमा २/३ लिटर पानी पिउनु आवश्यक छ । शरीरमा पानीको मात्रा कम भयो भने पिसाबमा लवणको मात्रा बढी हुने, यसको गन्ध पनि उच्च हुने र रंग पनि पहेँलो हुने हुँदा यसले पिसाब नलीमा जलन पैदा गर्छ र मूत्रनलीको संक्रमणको खतरा पनि हुन्छ ।

२. अमिलो फलहरु, जस्तै कागती, मौसम, सुन्तला जस्ता फलफूल खानुहोस् । यी फलमा साइट्रस एडिस हुन्छ जसले मूत्र संक्रमण गराउने जिवाणु नष्ट गर्छ । अमलाको रस पिउँदा पनि पिसाब पोल्ने समस्या कम हुन्छ ।

३. नरिवलको पानी पिउँदा पनि शरीरमा पानीको कमी हुने तथा पिसाब पोल्ने समस्या कम हुन्छ ।

४. योनी सुख्खा हुने समस्या भएका महिलाहरुलाई सम्भोगका बेला हुने अधिक घश्रणका कारणले पनि पिसाब पोल्ने समस्या पैदा हुनसक्छ । त्यसैले यस्तो समस्या भएकाहरुले सम्भोगका बेला लुब्रिकेन्टको प्रयोग गर्नु लाभदायक हुन्छ ।

५.यौनांगको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । यौनांगको संक्रमणलाई रोक्नको लागि महिनावारी हुँदा महिलाले विशेष ध्यान दिनुपर्छ ।

६.मृगौलाको पत्थरी हुँदा पनि पिसाबमा जलन हुने भएकाले पत्थरी कम गर्न प्रसस्त पानीका साथै नरिवलको पानी पिउनु समेत लाभदायी हुन्छ ।

Saturday, July 11, 2015

"वि फर अलको हरितालिका तिज महोत्सब २०१५" आगामी सेप्टेम्बर १३ तारिक आईतबार ईकिबुकुरोको तोसिमा कोक्काइदो हलमा मनाइदै


"वी फर अल" जापानमा रहेका सामाजिक संस्थाहरुमध्ये एउटा परिचित नाम हो । यस संस्थाले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको कुरा सर्वविदितै छ । यस  संस्थाको वार्षिक कार्यक्रमहरुमध्ये नेपाली नारीहरुको महान् चाड 'हरितालिका तीज' एउटा महत्वपूर्ण कार्यक्रम हो । यो कार्यक्रम  गएको तीन वर्षबाट लगातार आयोजना गर्दै आएको र हरेक वर्षझैँ यो वर्ष पनि सेप्टेम्बर १३ तारिख आईतबारका दिन टोकियोको ईकेबुकुरोमा रहेको तोसीमा कोक्काईदो हलमा भब्यताकासाथ गर्ने कुरा सम्बन्धित पक्षले सहयात्री जापानलाई बताए  I 
उक्त कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक रामजी खाँड साथै गायिकाद्वय देवी घर्ती र भूमिका गिरीको उपस्थिति रहने कुरा पनि जानकारी गराए। साथमा स्थानीय कलाकार लोक तथा दोहोरी गायकहरु सूर्य खड्का र बिनोद भण्डारीको पनि बेजोड प्रस्तुति रहने छ ।
 यस महोत्सवबाट उठेको रकम नेपालका भूकम्पपिडित बालबालिकाहरूका लागि र भूकम्पले क्षति पुगेका बिद्दालय पुनर्निमाणको लागि सम्बन्धित ठाउँमै पुर्याउने  कुरा क्लबका अधक्ष्य सरोज कुमार खत्रीले बताउनु भयो I साथै उहाँले वर्षकै सबैभन्दा ठूलो, सभ्य र भब्य तीज महोत्सवमा जापानमा रहनुभएका सम्पूर्ण नेपाली महिला दिदीबहिनीहरु, पुरुष दाजुभाईहरु साथै जापानका सबै संघ-संस्थाहरु र त्यसमा आबद्ध सम्पूर्णलाई आफु व्यक्तिगत तर्फ र "वि फर अल क्लब"का तर्फ बाट पनि सादर आमन्त्रण गर्नु भयो । 

"नेपाली नारीहरुको महान् चाड हरितालिका तीज रमाईलो नाचगान गरी हाँसीखुशी सँगै मनाऔँ ।" 

मिति- २०१५/०९/१३ (आईतबार)
समय-अपरान्ह ३ बजेबाट ८ बजेसम्म स्थान- ईकेबुकुरो तोसीमा कोक्काईदो हल, ईकेबुकुरो स्टेशन East Exit बाट हिँडेर ५ मिनेट ।

Friday, July 10, 2015

विश्वकप क्रिकेट प्रतियोगिताको छनोटअन्र्तगतको दोस्रो खेलमा नेपालले आज नामिबियाको सामना गर्दै

एजेन्सी - आगामी वर्ष भारतमा हुने ट्वेन्टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको छनोटअन्र्तगतको दोस्रो खेलमा नेपालले आज नामिबियाको सामना गर्दैछ ।
आयरल्यान्डको बेल्फास्टमा हुने खेल नेपाली समयअनुसर साँझ ७ बजे सुरु हुनेछ ।

पहिलो खेलमा शुक्रबार अमेरिकालाई हराएर प्रतियोगितामा विजयी सुरुआत गरेको नेपालले दोस्रो खेलमा नामिबियालाई हराएर मजबुत स्थितिमा रहन चाहन्छ ।

नामिबिया भने पहिलो खेलमा आयरल्यान्डसँग पराजित भएको थियो । समूह ‘ए’मा आयोजक आयरल्यान्ड शीर्ष स्थानमा रहँदा नेपाल दोस्रो स्थानमा रहेको छ । शनिबारका खेलहरुपछि अंक तालिका फरक हुन सक्छ । 

आइफोन ७ अब चाडैं आउने सम्भावना

स्मार्टफोन पुस्तामाझ आइफोन आकर्षणको केन्द्र मानिन्छ। त्यसै कारण अमेरिकी कम्पनी एप्पलको उत्पादन आइफोन संसारभरि लोकप्रिय छ। पछिल्लो समय एप्पलले पुस्ता सुहाउँदो आइफोन सेरिज उत्पादन गर्दै आएको छ। गत सेप्टेम्बरमा आइफोन ६ र आइफोन ६ प्लस बजारमा ल्याएसँगै अर्को आइफोन कस्तो हुनेबारे चर्चा चल्ने गरेको थियो। त्यो चर्चा अब केही महिनामै साँचो परिणत हुँदैछ।

ब्लुमबर्ग रिपोर्टले आउँदो सेप्टेम्बरमै एप्पलले आइफोन ६ एक्स, आइफोन ६ एक्स प्लस र आइफोन ७ सार्वजनिक हुनसक्ने उल्लेख गरेको छ।

के के हुनेछ त नयाँ आइफोनमा? ब्लुमबर्गले त्यसका सम्भावित फिचरबारे उल्लेख गरेका छन् । आइफोनको क्यामेरा अब १२ मेगापिक्सलको हुनेछ। कम प्रकाशमै राम्रा तस्बिर/भिडियो खिच्न सकिने विशेषता पनि यसमा हुनेछ। अहिले आइफोनमा ८ मेगापिक्सल क्यामेरामात्र छ। यसमा फोर्स टर्चको विशेषता पनि हुनेछ। जुन हालसालै म्याकबुकमा ल्याइएको थियो।

 नयाँ आइफोनमा एलटीइ एमडीएम ९६३५ एम क्वालकम चिप्स पनि राखिएको छ। जसले डाउनलोड स्पिड दुई गुणाले छिटो हुनेछ। यसले ब्याट्री लाइफलाई जोगाउन पनि मद्दत गर्छ।
(Nagarik news)

Thursday, July 9, 2015

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का अन्तरास्ट्रिय ब्याटिङ वरीयतामा ६४ औं स्थानमा


एजेन्सी - नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का ट्वान्टी-२० अन्तर्राष्ट्रिय ब्याटिङ वरीयता क्रममा ६४ औं स्थानमा पुगेका छन् । यो नेपाली खेलाडीको वरीयतामा सवैभन्दा ठुलो फडको हो ।

गत वर्ष विश्व ट्वान्टी-२० मा देखाएको प्रर्दशनको आधारमा शरद भेषावकर वरीयताको शीर्ष सय भित्र छिर्ने नेपालको पहिलो ब्याट्सम्यान बनेका थिए । शरद त्यत्ति खेर ७६ औं स्थानमा थिए । शरदलाई उछिन्दै पारस वरीयताको माथिल्लो स्थानमा पुग्ने नेपाली खेलाडी बनेका हुन् ।

शरद ८१औं स्थानमा झरेका छन् । एक सय वरीयता भित्र पर्ने नेपालका अर्का खेलाडी ज्ञानेन्द्र मल्ल हुन् । उपकप्तान ज्ञानेन्द्र ८६ औं स्थानमा छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषदका अनुसार पारसको ३ सय ३८, शरदको २ सय ५० र ज्ञानेन्द्रको २ सय ३३ रेटिङ अंक छ ।

नेदरल्यान्ड्ससँग अघिल्लो महिना भएको चार ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलापछि पारसको वरीयतामा स्थान माथि उक्लेको हो । नेपालले शृंखला ३-१ ले गुमाए पनि पारसले ११७.०९ को स्ट्राइक रेटमा १ सय ३७ रन बनाएका थिए । शृंखलामा नेपालबाट म्यान अफ द सिरिजमा चुनिएका पारसले अन्तिम खेलमा ५४ रन बनाएका थिए । यो उनको पहिलो र नेपाली खेलाडीको ट्वान्टी-२० अन्तर्राष्ट्रियमा दोस्रो अर्धशतक हो ।

बलिङ वरीयतामा वसन्त रेग्मी शीर्ष सय भित्र पर्ने नेपालको पहिलो खेलाडी बनेका छन् । पछिल्लो वरीयतामा उनी ८३औं स्थानमा समेटिएका छन् । उनको ३ सय ४२ रेटिङ अंक छ । नेदरल्यान्ड्ससँगको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा वसन्तले ५ विकेट लिएका थिए । वसन्तले नेपालबाट सर्वाधिक ८ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल्नेक्रममा १० विकेट लिइसकेका छन् ।

Wednesday, July 8, 2015

अमेरिकी मुक्केबाज फ्लोयड मेवेदर जुनियरले जितेको वेल्टरवेट उपाधि खोसियो

अमेरिकी मुक्केबाज फ्लोयड मेवेदर जुनियरले जितेको वेल्टरवेट उपाधि विश्व बक्सिङ संगठन (डब्लूबीओ)ले फिर्ता लिएको छ। 
 
३८ वर्षीय मेवेदरले दुई महिनाअघि फिलिपिन्सका चर्चित मुक्केबाज मानी पाक्विओलाई हराउँदै सो उपाधि हात पारेका थिए। मेवेदरले निर्धारित समयभित्र डब्लूबीसीलाई तोकिएको शुल्क बुझाउन नसकेपछि उपाधि फिर्ता लिइएको जनाइएको छ।
 
शुल्क बुझाउन मेवेदरलाई गत शुक्रबारसम्मको समय दिइएको थियो। मेवेदरले डब्लूबीओलाई दुई लाख अमेरिकी डलर शुल्क बुझाउनुपर्ने थियो। 
 गत मे २ मा लस भेगासमा भएको मेदर र मानीबीचको भिडन्तलाई विश्व बक्सिङकै इतिहासमा सर्वाधिक धनराशिको भिडन्तको संज्ञा दिइएको थियो।
 
उक्त भिडन्तबाट २२ करोड अमेरिकी डलर कमाइ भएको थियो। मेवेदर जुनियर विभिन्न पाँचवटा तौल समूहका विश्व च्याम्पियन हुन्। 
 उपाधि खोसिएपछि मेवेदरले युवा खेलाडीलाई अवसर दिन आफूले स्थान रिक्त गरिदिएको बताएका छन्। 
 
'नयाँ खेलाडीले पनि अवसर पाउनुपर्छ, त्यसैले मैले युवा पुस्तालाई उपाधि जित्ने मौका दिएको हुँ', उनले भने। मेवेदरको उपाधि खोसिएपछि अब उक्त बेल्ट अर्का अमेरिकी मुक्केबाज टिमोथी ब्राड्लीलाई दिइने भएको छ।
 
ब्राड्लीले गत जुन २७ मा भएको भिडन्तमा आफ्नै राष्ट्रका जेसी भार्गसलाई हराएका थिए।डब्लूबीओको नियमअनुसार कुनै पनि भिडन्तपछि मुक्केबाजले निश्चित रकम शुल्क तिर्नुपर्ने हुन्छ। 
 
यसैगरी डब्लूबीओ च्याम्पियनले अन्य तौलसमूहको उपाधि पनि राख्न नपाउने प्रावधान छ। 
 मेवेदरको नाममा अहिले डब्लूबीसी र डब्लूबीएको जुनियर मिडलवेट तथा वेल्टरवेट उपाधि पनि रहेको छ। 
 'विश्व बक्सिङमा मेवेदर चर्चित नाम हो तर उनले दुई लाख डलर शुल्क बुझाएनन्। 
 त्यसैले अब उनी डब्लूबीओ च्याम्पियन पनि रहेनन्', डब्लूबीओले भनेको छ ।
(Annapurna Post)


Tuesday, July 7, 2015

अब पुरुषहरुको लागि पनि गर्भनिरोधक कंट्रासेप्टिब पिल

कहिले
काही सेक्सको समायवधिमा प्रायः हतार हतारमा उत्तेजित पुरुष कन्डमको प्रयोग गर्न पाउदैन जसको परिणाम यो हुन्छ कि उसको पार्टनरलाईअनचाहा गर्भ बस्न जान्छ । अब हुदैन अनचाही प्रेग्नेन्सी, पुरुषहरुको लागि पनि बन्यो गर्भनिरोधक औषधी कहिलेकहिले सेक्सको समायवधिमा प्रायः हतार हतारमा उत्तेजित पुरुष कन्डमको प्रयोग गर्न पाउदैन जसको परिणाम यो हुन्छ कि उसको पार्टनरलाई अनचाहा गर्भ बस्न जान्छ । जसबाट बच्नको लागि उनले गर्भ खसाल्ने अनेक प्रकारका उपायहरु गर्नुपर्ने हुन्छ, जसमध्ये केही उपायहरु जस्तो गर्भपतन आदि धेरै नै कष्टकारी हुन सक्छ ।
प्रायः सेक्सको समयमा गर्भबाट बच्नको लागि महिलाहरुले नै कंट्रासेप्टिब औषधी लिने गर्छन् । वा पुरुषहरुले कन्डम लगाउने गर्छन् । तर अब पुरुषहरु आफनो पार्टनको साथ सेक्सलाई पुरा मजा लिन सक्छ, किनकी अब गर्भधारणबाट बच्नको लागि कन्डको प्रयोग गर्नु नपर्ने भइसक्यो न त महिलाहरुले गर्भबाट बच्नको लागि कुनै औषधी नै लिनुपर्ने हुन्छ । किनकी अब पुरुषहरुको लागि पनि कंट्रासेप्टिव औषधी तयार गरिसकिएको छ जसले उसको पौरुषत्वलाई कत्ति पनि प्रभावित गर्दैन । 

सेक्सको समयमा अनचाहा गर्भबाट बच्नको लागि न अब महिलाहरुले कंट्रासेप्टिब औषधी लिनुपर्ने आवश्यकता रहयो न त पुरुषहरुको लागि कन्डम नै एकमात्र विकल्प रहयो । किनकी अब पुरुषहरुको लागि पनि कंट्रासेप्टिब पिल तयार भइसकेको छ जसले पुरुषहरुको सेक्स लाइफलाई कुनै प्रभावित पार्दैन् । अँस्टेलियाको मोनाश युनिभर्सिटीका शोधकर्ताहरुले परिवार नियोजनको लागि पुरुषहरुलाई कंट्रासेप्टिव पिल लाई तयार पारेका छन् ।

यसका प्रमुख शोधकर्ता डाक्टर सैबटीनो बेंचुराका अनुसार, यस पिलको सेवन गर्नाले स्खलनको प्रक्रियाको समयमा शरिरमा दुइ वटा प्राटिन गरिदिनछ जसले वीर्य अस्थायी रुपले रोकिदिन्छ । र यसले शरिरमा कुनै हार्मोनल परिवर्तन पनि हुदैन । साथै यसको कुनै साइड इफेक्ट पनि हुदैन। न्यूज २४ बाट

Monday, July 6, 2015

मृगौला जोगाउन के खाने ?

मृगौला हाम्रो शरीरको निक्कै संवेदनशील अंग हो । यो अंगमा खरावी आयो भने ज्यान नै जाने खतरा पनि हुन्छ । कैयौं मानिसले किड्नी फेल अर्थात मृगौलाले काम गर्न छोडेर ज्यान गुमाउँछन् । यहाँ मृगौला स्वस्थ राख्न खानै पर्ने ७ खानाको विषयमा चर्चा गरिएको छ ।

मृगौला जोगाउन के खाने ?

१ रातो खुर्सानी
रातो खुर्सानीमा पोटासियम, फस्फोरस, भिटामिन सी, फाइबर, फोलिक एसिड र भिटामिन बी 6 उच्च मात्रामा हुन्छ । यसले मृगौलालालाई फाइदा गर्छ ।

२ बन्दा गोभी
बन्दा गोभीमा उच्च मात्रामा सोडियम, पोटासियम, फस्पोरसको मात्रा हुन्छ । मृगौलाका लागि यी तत्वको निक्कै जरुरत हुन्छ । यसको सकारात्मक पक्ष भनेको बन्दा गोभीमा फाइवर र भिटामिन सी समेत उच्च मात्रामा हुन्छ ।

३ फूल गोभी 
फूल गोभीमा पनि सोडियम, पोटासियम, फस्पोरसको मात्रा प्रयाप्त हुन्छ । त्यसैगरी यसमा भिटामिन सी, फाइवर पनि हुन्छ यसले मृगौलामा हुने समस्याबाट बचाउँछ ।

४ लसुन 
एक केस्रा लसुनमा १ मिलिग्राम सोडियम, १२ मिलीग्राम पोटासियम र ४ मिलीग्राम फोस्फोरस हुन्छ । यसले मृगौलालाई मात्र फाइदा गर्दैन कोलेस्ट्रोल समेत नियन्त्रण गर्छ । त्यस्तै लसुन क्यान्सरबाट बँच्नका लागि पनि फाइदाजनक हुन्छ ।

५ स्याउ 
सामान्य आकारको स्याउमा पनि १५८ मिलिग्राम पोटासियम, १० मिलिग्राम फस्पोरस हुन्छ । मृगौलालाई त यसले फाइदा गर्छ नै अन्य विभिन्न रोगबाट समेत स्याउ सेवन फाइदाजनक मानिन्छ ।

६ स्ट्रबेरी 
आधा कप स्ट्रबेरीमा १ मिलिग्राम सोडियम, १२० मिलिग्राम पोटासियम र १३ मिलिग्राम फस्पोरस हुन्छ । यसमा उच्च मात्रामा एन्टीअक्सीडेन्ट पनि हुन्छ जसले मृगौलालाई कुनै समस्या हुनबाट बचाउँछ ।

७ अण्डाको सेतो भाग 
अण्डाको सेतो भाग पनि मृगौलाका लागि निक्कै फाइदाजनक मानिन्छ । अण्डाको सेतो भागमा २ ग्राम प्रोटिन, ११० मिलिग्राम पोटासियम र १० मिलिग्राम फस्पोरस हुन्छ । यसमा रहेको एमिनो एसिड मृगौलाको लागि राम्रो हुन्छ भने सामान्य स्वास्थ्यका लागि पनि राम्रो हुन्छ ।

लोकप्रिय समाचार