Sunday, May 31, 2015

तपाईलाई गर्दन र घुँडा दुख्ने समस्या छ ? यदि छ भने तलका पंक्तिहरु पढ्नुहोस र यस्ता समस्या बाट छुटकारा पाउनुहोस

१) कुनै पनि सामान बोक्ने र उचाल्ने गर्दा गर्दनमा क्षति नहुने गरेर उचाल्ने गर्नुहोस् र टाउकोमा सामान राख्ने नगर्नुहोस् ।

२) लामो समय सम्म कम्प्युटरमा काम गर्ने/गाडी चलाउने/जस्ता काम नगरौ र नियमित विश्राम लिने गर्नुहोस् ।

३) मनतातो तोरीको तेलमा दुखाई कम गर्ने (pain 0il) तेल २-३ थोपा मिसाएर हलुका बिहान र बेलुका मालिस गर्नुहोस् ।

४) यात्रा गर्नै पर्दा पछिल्ला सिटहरुमा नबस्नुहोस् र खाल्टाखुल्टीमा ध्यान पुर्याउनुहोस् (cervical collar) को प्रयोग गर्न सक्नुहुन्छ ।

५) नियमित शारिरिक व्यायाम गर्ने बानी बसालौ तर गर्दनमा असर गर्ने गरी कुनै पनि व्यायाम नगरौ । सम्बन्धीत डाक्टरले दिएको सल्लाह र (Exercise) लाई नियमित रुपमा गर्ने गर्नुहोस् ।

६) गर्दन दुख्नेहरुले धैरे ठूलो तकियामा सुत्नु हुदैन, घोप्टो पनि नसुत्ने र तकियाले गर्दनलाई सजिलो हुने गरी सुत्ने गर्नुपर्दछ ।

७) बढी लच्केको वा धेरै कमलो खाले तकिया र बिछ्यौनाको प्रयोग नगरौं ।


घुँडा दुखाईमा ध्यान दिनुपर्ने कुराहरु :


१) नियमित व्यायाम गर्ने बानी बसालौं जस्तैः- जोर्नीहरु चलाउने, सामान्य हिडाई, आदी ।

२) टुक्रुक्क हथवा पलेटी मारेर नबस्ने ।

३) मनतातो तोरीको तेलमा ३-४ थोपा (pain oil) दुखाई कम गर्ने तेल मिसाएर बिहान र बेलुकी हलुका मसाज गर्ने ।

४) तोल घटाउने वा नियन्त्रण गर्ने ।

५) तातो पानीको झोला (Hot water bag) ले सेक्ने तर सुनिएको छ भने बरफ (Ice) ले २- मिनेट सम्म हलुका मसाज गर्ने ।

६) भर्याङ्ग वा सिडी धेरै पल्ट तल माथि नगर्ने ।

७) (Knee support) को प्रयोग गर्ने ।


(Exercise):-

१) भित्तामा अढेस लगाएर खुट्टा लामो गरेर बस्ने, तिघ्राको मासु कस्न – १० गन्ने र १० पटक गर्ने ।

२) घुँडा मुनि रुमाल राखेर थिच्ने, कुर्कुचालाई उठाउने – १० गन्ने र १० पटक गर्ने ।

३) ढाड सिधा गरी कर्सीमा अढेस लगाएर बस्ने, पालै पालो खुट्टा सिधा माथि उठाउने – १० गन्ने र १० पटक गर्ने ।

४) दुवै घुँडाको बीच रुमाल राखेर च्याप्ने – १० गन्ने र १० पटक गर्ने ।

५) खुट्टा सिधा तन्काएर बस्ने, दुवै हातले खुट्टाको औंला छुने कोसिस गर्ने – १० गन्ने र १० पटक गर्ने ।

६) खुट्टा झुन्डाएर एक अर्का माथि राख्ने, तलको खुट्टाले माथि र माथिल्लो खुट्टाले तल
बराबरी ठेल्ने ।


Saturday, May 30, 2015

मेस्सिको दुई गोलको सहायताले बार्सालाई सिजनको दोस्रो उपाधि

 
लियोनेल मेस्सीले जादुयी खेल देखाउँदै दुई गोल गरेपछि स्पेनिस क्लब बार्सिलोनाले सिजनको दोस्रो उपाधि जितेको छ ।

गएराति घरेलु मैदान क्याम्प नोउमा भएको कोपा डेल रेको फाइनल खेलमा बार्साले एट्लेटिको बिल्बाओलाई ३–१ ले पराजित गर्दै सिजनको दोस्रो उपाधि जितेको हो ।

उपाधिको ह्याट्रिक गर्ने दाउमा रहेको बार्साले यसअघि स्पेनिस ला लिगाको उपाधि उचालिसकेको छ । अब उसले जुन ५ मा च्याम्पियन्स लिगको उपाधिका लागि इटालियन क्बल युभेन्ट्ससँग बर्लिनमा भीडन्त गर्नेछ ।
बार्सालाई कोपा डेल रेको उपाधि दिलाउने क्रममा मेस्सीले खेलको २० औं मिनेटमा ड्यानी अल्भेसको पासमा खाता खोले ।

त्यसपछि घाइते भएर २ खेलपछि  मैदान छिरेका लुइस स्वारेजको पासमा ब्राजिलियन स्टार नेइमारले खेलको ३६ औं मिनेटमा अर्को गोल गरे ।

पहिलो हाफ २–० मा सकिएको अवस्थामा दोस्रो हाफको ७६ औं मिनेटमा पुनः अल्भेसकै पासमा मेस्सीले अर्को गोल थप्दै बार्सालाई उपाधिनजिक पुर्याए । बिल्बाओका लागि खेलको ७९ औं मिनेटमा विलियम्सले गोल गरेपनि उसले बार्सालाई उपाधिबाट रोक्न ढिला भइसकेको थियो ।

लुइस इन्रिकेको प्रशिक्षणमा रहेको बार्सा यो सिजन उत्कृष्ट फर्ममा छ । बार्सालाई तेहेरो उपाधि नजिक पुर्याउन मेस्सी एक्लैले निर्णायक भूमिका खेलिरहेका छन् । उनलाई साथ दिइरहेका स्ट्राईकरहरु स्वारेज र नेइमार पनि उत्कृष्ट फर्ममा रहेकाले बार्साले कलात्मक खेल पस्किरहेको छ ।

Friday, May 29, 2015

आफ्ना विरोधीहरुको मुख थुन्दै विश्व फुटबल महासंघ (फिफा) को अध्यक्षमा पुन: सेप ब्लाटर निर्वाचित

 विश्व फुटबल महासंघ (फिफा) को अध्यक्षमा पुन: सेप ब्लाटर निर्वाचित भएका छन् । आफूमाथि लागेका भ्रष्टाचार र अनियमितताका आरोपको खण्डन र आफ्ना विरोधीहरुको मुख थुन्दै उनी पुन: फिफाका अध्यक्ष भएका हुन् ।

स्वीटजरल्यान्डको ज्यूरिचमा शुक्रबार राति भएको वार्षिक बैठकमा प्रतिस्पर्धी जोर्डनका राजकुमार अली बिन हसनले नाम फिर्ता लिएपछि ब्लाटर पाँचौ कार्यकालका लागि निर्विरोध फिफाको अध्यक्षमा चुनिएका हुन् ।

फस्ट राउन्डको भोटिङमा ब्लाटरले १३३ र प्रिन्स अलीले ७३ भोट पाएका थिए । सेकेन्ड राउन्डको भोटिङमा राजकुमार अलीले नाम फिर्ता लिएपछि अझै चार वर्ष विश्व फुटबलमा ब्लाटरको एकछत्र राज हुने भएको हो ।

ब्लाटरले अर्को कार्यकाल निर्वाचित भइरहँदा युरोपियन फुटबलका प्रमुख मिचेल प्लाटिनीबाट कडा धम्की बेहोर्नुपरेको छ । उनले बिहीबारमात्रै युरोपियन राष्ट्रले विश्वकप नै बहिष्कार गर्नेसम्मका चेतावनी दिएका थिए ।

आफू निर्वाचित हुनुअघि अमेरिकासँगको मिलेमतोमा आफूविरुद्ध उभिएका उपाध्यक्षसहित दक्षिण अमेरिकन फुटबलका पदाधिकारी तथा फिफाका सदस्यहरुलार्इ नियोजितरुपमा पक्राउ गरी फसाएको आरोप ब्लाटरमाथि लागेको छ ।

सन् १९९८ देखिन निरन्तर फिफाको नेतृत्वमा रहेका उनले आगामी चार वर्ष फिफाको नेतृत्व गर्ने क्रममा फिफामा बढ्दो पैसाको चलखेल र भ्रष्टाचार तथा चारैतर्फबाट घेराबन्दीमा परेकाले धेरै कठिन यात्रा गर्नुपर्ने खेल विश्लेषकहरुले दाबी गरेका छन् ।
 
यसअघि उनीविरुद्ध उठ्ने घोषणा गरेका पोर्चुगलका चर्चित फुटबलर लुइस फिगो पनि अर्बौं पैसाको चलखेल गरी ब्लाटरले फिफालार्इ आफ्नो पेवा बनाएको भन्दै चुनावी मैदानबाट बाहिरिएका थिए । 

फिफा अध्यक्षमा निर्वाचित भएपछि ब्लाटरले आफूमात्रै सबैथोक नभएको बताउँदै एकआपसको विश्वासले फिफा अझै बलियो हुँदै जाने प्रतिक्रिया दिए । 'म पनि सबै कुरामा सर्वोत्कृष्ट छैन र अरु पनि सबै कुरामा सर्वोत्कृष्ट हुँदैनन्', ब्लाटरले भने, 'एकापसको विश्वास, सहयोग र आत्मविश्वासले हामी फिफालार्इ अझै बलियो बनाउँछौै ।'

थाइल्यान्डको हुलाकले नेपालका भूकम्पपीडितलाई सहयोग जुटाउन नेपालसम्बन्धि हुलाक टिकट सार्वजनिक

 थाइल्यान्डको हुलाकले नेपालका भूकम्पपीडितलाई सहयोग जुटाउन नेपालसम्बन्धि टिकट सार्वजनिक गरेको छ । त्यहाँको हुलाकले बैंककस्थित फिलाटेलिक म्युजियममा भूकम्प जानुअघि नेपालमा भएका खेलकुद र दैनिक जीवनका तस्बिर समेटिएका २० थरी टिकट सार्बजनिक गरेको गैरआवासिय नेपाली संघ (एनआरएनए) थाइल्यान्डका अध्यक्ष खगेन्द्रराज ढकालले जानकारी दिए । 

ती टिकटमा समाबिस्ट तस्बिर राष्ट्रिय कलाकार चत्चवान्तिपाकोर्न, अवार्ड बिजेता लेखक जिरानान पित्प्रीचा र केही चर्चित स्वतन्त्र फोटोग्राफरले खिचेका हुन् । ती हुलाक टिकट प्रकाशन गर्न चर्चित क्यामेरा उत्पादक क्याननले सहयोग गरेको थियो । 

कार्यक्रमका विशिष्ट अतिथिका रुपमा बोलाइएका थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारी, एनआरएनए अध्यक्ष खगेन्द्रराज ढकाल, क्याननका अध्यक्ष एलेन चाङलगायतले ती हुलाक टिकट सार्बजनिक गरेका थिए । कार्यक्रममा एनआरएनए थाइल्यान्डका पदाधिकारी, क्याननका पदाधिकारी, फोटोग्राफरहरु, कलाकारहरु, लेखक र पत्रकारहरु ठूलो संख्यामा उपस्थित रहेको एनआरएनए अध्यक्ष ढकालले टेलिफोनमा जानकारी दिए । 

फिलाटेलिक बजार विभागका कार्यबाहक उपाध्यक्ष विबून सेरेचाइपोर्नका अनुसार ‘थाइल्यान्ड पोस्ट फर नेपाल’ नाम दिइएको २० वटा टिकटको एक संग्रह १ सय २० थाइ भाट (करिव ३ सय ६३ रुपैयाँ) मा विक्री गरिने छ ।  त्यसबाट उठेको आधा रकम नेपालका भूकम्पपीडितलाई थाइ रेडक्रसमार्फत उपलब्ध गराइने छ । 

त्यही कार्यक्रममा ‘नेपालको सम्झना’ नामक फोटो प्रदर्शनीसमेत आयोजना गरिएको  थियो । प्रदर्शनीमा महाभूकम्पले विनास गर्नु एक महिनाअघि चर्चित थाइ फोटोग्राफर चिरानाम पिट्प्रिचालगायतले खिचेका चस्बिर राखिएका थिए । 

एनआरएनए थाइल्यान्डका अध्यक्ष ढकालले नेपालीको पीडामा मलम लगाउन थाइल्यान्डमा यस प्रकारको ऐतिहासिक घटना भएकामा खुसी ब्यक्ति गरे । उनले कार्यक्रममा नेपाललाई चिनाउने र पीडितलाई सघाउने गरी हुलाक टिकट प्रकाशन गरेर गुन लगाएको भन्दै थाइल्यान्डको हुलाक सेवा र क्यानन मार्केटिङलाई नेपालीकातर्फबाट धन्यवाद दिए ।

Friday, May 22, 2015

राजबल्लभ कोइरालाको अभिनय रहेको फिल्म ‘हाइवे टु धम्पुस’लाई न्युयोर्कको सोहो फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको उपाधि

राजबल्लभ कोइरालाको अभिनय रहेको फिल्म ‘हाइवे टु धम्पुस’ले न्युयोर्कको सोहो फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको उपाधि हात पारेको छ । फिल्मले ‘वल्र्ड सोकेस’ क्याटोगोरीमा जुरी अवार्ड हात पारेको हो ।कोइरालाले सामाजिक सन्जालमा स्ट्याटस पोस्ट गर्दै फिल्मले पाएको उपलब्धि सेयर गरेका हुन् ।
‘नराम्रा समाचार बीचमा सुखद खबर छ । फिल्म हाइवे टु धम्पुसले सोहो फिल्म फेस्टिबेलमा ‘बेस्ट फिचर वल्र्ड सो केस’अवार्ड जितेको छ,’कोइरालाले लेखेका छन् । गत मंगलबार फिल्म सो फेस्टिभलमा देखाईएको थियो । फिल्मले सोही अवसरमा नेपालका भूकम्म पीडितका लागि च्यारिटी पनि गरेको थियो । फिल्मको टिकट बिक्रिबाट उठेको सम्पूर्ण रकम  नेपालका भूकम्प प्रभावितका लागि प्रदान गर्ने गरी गरिएको सोमा करिब तीन हजार डलर अर्थात तीन लाख संकलन भएको थियो ।

हाइवे टु धम्पुसले फरक फरक दुनियाँका थुप्रै चरित्रहरुको यात्राको कथा पेश गर्छ । अन्नपूर्ण हिमालको यात्रामा आएकी ब्रिटिश युवतीले नेपालको बाल आश्रममा लक्ष्मी नामकी युवतीलाई भेटेपछि विदेशी युवतीमा आउने परिवर्तन र उसले त्यहाँका चरित्रमा ल्याउने परिवर्तनलाई फिल्मले विषय बनाएको छ । राजबल्लभ कोइरालाले फिल्ममा पाइलटको भूमिका निभाएका छन् ।

Thursday, May 21, 2015

हातका औंला हेरेर मानिसको स्वभाव पत्ता लगाउने तरिका

तपाईको औँलाको लम्वाइले तपाईको व्यक्तित्व झलकाउँछ ।


सायद थाहा थिएन होला कि तपाईको औँलाको लम्वाइले तपाईको व्यक्तित्व झल्काउँछ ? चोर औँला र औँठी लाउने आँँलाको लम्वाई तुलना गर्नुहोस् र आफ्नो स्वभाव मेल खान्छ कि खाँदैन हेर्नुहोस् ।

उल्लेखित औँलाको आकृतिमा तीन प्रकारका औँलाहरुको लम्वाईका बारेमा जानकारी गराइएको छ । अव आफ्नो औलाको परिक्षण गर्नुहोस् र अर्थ तथा स्वभाव पत्ता लगाउँनुहोस् ।


A.  चोर औला भन्दा औँठी लाउने औँला ठूलो भएका मानिसहरु हेर्दा अति सुन्दर देखिने हुन्छन् । यस्ता मानिसहरुको सुन्दरता प्रति जोकोही पनि आकर्शित हुने गर्छन् । त्यस्ता मानिसहरु आक्रमक स्वभावका हुने गर्छन् र यिनीहरु रिस्क मोल्न पनि पछि पर्दैनन् । यस्ता मानिसहरु सेना, सिपाही, इन्जिनियर, चेस खेलाडी र क्रसवर्ड समस्या समाधानगर्न पनि सिपालु हुन्छन् । बैज्ञानिकहरका अनुसार, औँठी लगाउने औँला ठूलो हुने मानिसहरुको आर्थिक आर्जन औँठी लगाउने औँला स्यानो हुनेहरुको भन्दा बढी हुन्छ ।

B.  चोर औँला भन्दा औँठी लाउने औँला सानो हुने मानिसहरुमा आत्मविश्वास बलियो हुन्छ र उनीहरु आफूमा केन्द्रीत हुन्छन र आक्रमक पनि हुन्छन् । उनीहरु एक्लै बस्न मन पराउँछन् र उनीहरुको फुर्सदको समयमा अरुले बाधा नपुर्याओस भन्ने चाहना हुन्छ । नातासंबन्ध कायम गरि राख्नुपर्छ भन्ने अवस्था आएको खण्डमा उनीहरु अगाडी बढी हाल्दैनन् । तर आफूलाई भने अरुले प्रसंसा, सम्मान र आदर गरोस भन्ने चाहना उनीहरुमा हुन्छ ।

C.  चोर औँला र औठी लाउने औँला बराबर हुने मानिसहरु शान्त स्वभावका हुन्छन् र उनीहरुलाई शान्त वातावरण मनपर्छ । झैझगडा तथा बिबाद सामना गर्नुपर्यो भने यस्ता मानिसहरु आफू असुरक्षित महशुस गर्छन् । यस्ता मानिसहरु पूर्ण संगठित हुन्छन् र अरहरुपनि त्यस्तै होस भन्ने चाहना राख्दछन् । यस्ता मानिसहरु आफ्ना श्रीमान वा श्रीमति प्रति बफादार तथा विश्वासिला हुन्छन् र संबन्ध कायम राख्न कटिबद्ध हुन्छन् ।  

Monday, May 18, 2015

भ्यालेन्सियाका खेलाडीहरुले नेपाली अक्षरमा नाम लेखिएको जर्सी लगाए

 स्पेनी क्लब भ्यालेन्सियाका खेलाडीले नेपाली भूकम्प पीडितको लागि आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले आइतबार सेल्टा भिगोविरुद्धको खेलमा नेपाली अक्षरमा नाम लेखिएको जर्सी लगाएर खेले । 

भ्यालेन्सियाको आधिकारीक  वेवसाइटमा उल्लेख गरिए अनुसार ती जर्सी लिलामीमा राखिनेछ । लिलामीबाट उठेको रकम अन्तर्राष्ट्रिय रेडक्रसमार्फत नेपालमा पठाइने क्लबले जनाएको छ ।

ला लिगाको चौथो स्थानमा रहेको क्लब भ्यालेन्सियाले सेल्टा भिगोसँग बराबरी खेल्यो । खेलमा भ्यालेन्सियाको लागि निकोलास ओतामेन्दी र सेल्टा भिगोको लागि पाब्लो हर्नान्डेजले गोल गरे । 

यसअघि, इबरसँग भएको खेलको टिकट बिक्रीबाट प्राप्त रकमको २ प्रतिशत रकम यूनिसेफमार्फत नेपाली भूकम्प पीडितको लागि खर्च गर्न उपलब्ध गराउने भ्यालेन्सियाले बताएको थियो ।

 

Monday, May 11, 2015

महानायक राजेश हमालले एक अर्ब ६० करोड रुपैयाँ बराबरको राहत सामाग्री जुटाए

अभिनेता राजेश हमालको पहलमा एक अर्ब ६० करोड रुपैयाँ बराबरको राहत सामाग्री गएराति अमेरिकाबाट नेपाल आइपुगेको छ ।
अमेरिकी संस्था डाइरेक्ट रिफिलले ६० टन औषधी एवं मेडिकल उपकरण फेडएक्स कार्गो जहाजबाट त्रिभुवन विमानस्थल ल्याएको हो । गएराति हमालले ती सामान बुझे । 

नेपालको सामाजिक संस्था पोसिबलको संयोजनमा शनिबार र आइतबार ती सामाग्री नेपाल ल्याइएको हो । राहत बुझ्न हमाल स्वयम विमानस्थल पुगेका थिए । 

डाइरेक्ट रिफिलका अध्यक्ष एवं अध्यक्ष थोमस तिघे आफै नेपाल आएका छन् । पोसिबलका एसके कलौनीका अनुसार दुबै उडानका लागि लागेको सात करोड रुपैयाँ भाडा फेडएक्स नेपालका भुकम्प पीडितका लागि निःशुल्क गरिदिएको हो । 

Thursday, May 7, 2015

नेपाल टेलिकम र एनसेललाई नि:शुल्क रूपमा चारचार मेगाहर्ज फ्रिक्वेन्सी

दूरसञ्चार प्राधिकरणले महाभूकम्पबाट धेरै टावरहरूमा क्षति पुगेकोले तत्कालका लागि नेपाल टेलिकम र एनसेललाई नि:शुल्क रूपमा चारचार मेगाहर्ज फ्रिक्वेन्सी नि:शुल्क उपलब्ध गराउने निर्णय गरेको छ।
 
महाभूकम्पबाट ग्रामीण र दुर्गम क्षेत्रका दूरसञ्चार पूर्वाधारमा धेरै क्षति भएपछि राहत तथा पुनस्र्थापनाका लागि गुणस्तरीय र सर्वसुलभ दूरसञ्चार सेवा पु:याउन फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय प्राधिकरणले बुधबार गरेको हो।
 
विपद्को समयमा मोबाइल प्रयोगकर्ताको संख्यासमेत पहिलेभन्दा धेरै हुने भएका कारण हाल प्रयोगमा नरहेको नौ सय मेगाहर्जमा थप फ्रिक्वेन्सी उपलब्ध गराउन सकेमा हाल भएकै टावरबाट पनि गुणस्तर वृद्धि हुने भएकोले सो फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय भएको जानकारी प्राधिकरणले दिएको छ।
 
त्यस्तै भूकम्पपीडितलाई दूरसञ्चार सेवा प्रदायक संस्थाहरूले दिन सक्ने सेवासुविधा र राहतका लागि सहयोगी भूमिका र निर्णय गर्नसमेत प्राधिकरण तयार रहेको जनाएको छ। यसका लागि सेवा प्रदायकसँग ठोस योजना माग्ने निर्णय गरेको जानकारी प्रवक्ता अच्युतानन्द मिश्रले दिए।

Wednesday, May 6, 2015

नेपाली आकाशमा बिना अनुमति ड्रोन (मानवरहित विमान) उडान गर्नेलाई कारवाही गरिने

 

भूकम्पले विपत निम्तिएको मौका छोपेर नेपाली आकाशमा बिना अनुमति ड्रोन (मानवरहित विमान) उडान गर्नेलाई कारवाही गरिने भएको छ ।

मानवरहित विमानले नेपालको बहुमूल्य सम्पदाको तस्वीर लिने तथा गलत सन्देश प्रभावित गर्ने गर्ने काम भइरहेको सूचना प्राप्त भएको भन्दै नागरिक उड्डयन प्राधिकरणले ड्रोन उडानमा रोक लगाएको हो ।

भूकम्पले विपत निम्तिएको अवस्थामा केही दिनदेखि नेपाली आकाशमा अनधिकृत रुपमा ड्रोन उडान गराई निषेधित क्षेत्रको सूचना तथा तथ्याङ्क संकलन गर्ने काम गरेको भन्दै नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक सूचनामार्फत ध्यानाकर्षण गराएको छ ।

अध्ययन अनुसन्धान प्रयोजनको लागि नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृतिमा प्राधिकरणबाट उडान अनुमति लिई राज्य राज्यले निषेधित भने तोकेका क्षेत्रबाहेक प्राधिकरणले तोकेको हवाइ क्षेत्र र शर्तहरुका अधीनमा रहेर मात्रै ड्रोन उडान गर्न प्राधिकरणले आग्रह गरेको छ ।

बिनाअनुमति ड्रोन उडान गरे नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा २५ को उपदफा ३ बमोजिम कारबाही हुने प्राधिकरणले जनाएको छ ।


Saturday, May 2, 2015

फुकुओकामा आज भुकम्प पिडितको निमित्त नेपाली चलचित्र "रेशम फिलिली"को च्यारिटी शो हुदै

आज मे 
३ तारिकमा फुकुओकाको चिओ सिमिन सेन्टर हलमा बहुप्रतिक्षित नेपाली चलचित्र "रेशम फिलिली"को प्रदशन हुने भएको छ I  प्रर्दशनको सम्पूर्ण कार्य तयारी भैसकेको कुरा आयोजक पक्षले सहयात्री जापानलाई जानकारी गराए I 
देश शोकमा डुबिरहेको बेला आफुहरुको फिल्म प्रदशन गर्ने रहर नभए पनि नेपालको भुकम्प पिडितहरुको निम्ति सानो भए पनि सहयोग पुर्याउने उदेश्यले आज नेपाली चलचित्र "रेशम फिलिलि"को च्यारिटी शो गर्न लागिएको भन्नि कुरा सम्बन्धित पक्षले जानकारी गराए I 
यस्तो परिस्थिमा हामी नेपाली सबैले आ-आफ्नो ठाउँ बाट सहयोग गर्नु पर्छ भन्दै "तपाइले चलचित्र हेर्न गर्नु भएको खर्च नेपालमा भुकम्प पिडित हरुको लागि सहयोग हुनेछ" I त्यसैले आज सिमिन सेन्टर हलमा साँझ ६:३० बजे चलचित्र हेर्न आइ सहयोग गरिदिन फुकुओका बासी नेपालीहरुलाई कार्यक्रम संयोजक चन्द्रमान थकाली अनुरोध गर्नुभयो I 
थप जानकारीको लागि सम्पर्क नम्बरहरु :-
Chandra 08042804467
Manoj 080 9101 4454
Vikash 090 3417 4315

Friday, May 1, 2015

गत शनिबारको भुकम्पमा परि विश्व सम्पदामा सूचीकृत ९० प्रतिशत सम्पदा ध्वस्त

 महाभूकम्पमा परी विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदामध्ये ९० प्रतिशत ध्वस्त भएका छन्। पुरातत्त्व विभागले गरेको प्रारम्भिक सर्वेक्षणले काठमाडौं उपत्यकाभित्रका यस्ता पुरातात्त्विक सम्पदाहरू ध्वस्त भएको देखाएको हो। विभागका महानिर्देशक भेषनारायण दाहालले शनिबार आएको महाभूकम्पबाट अधिकांश पुरातात्त्विक सम्पदाहरूमा ठूलो असर परेको बताए। 
उनले बिहीबार अन्नपूर्णसँग भने, 'विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा र स्मारकहरू ९० प्रतिशत ध्वस्त भएको प्रारम्भिक सर्वेक्षणले देखाएको छ। सर्वेक्षणले दिएको चर्किएकादेखि पूर्णध्वस्त भएका सबैको विवरण हेर्दा विगतमा गरिएको कल्पनाभन्दा धेरै गुणा बढी क्षति भएको छ।'
 
विश्वकै आकर्षणका रूपमा रहेको नौ तले धरहरा, काष्ठमण्डप, दसैं घरको शिव मन्दिर, बुङमति ललितपुरको रातो मच्छिन्द्रनाथ लगायत छन्। 
हनुमान ढोका दरबार संरक्षित स्मारक क्षेत्रभित्र पूर्णरूपमा भत्किएर ध्वस्त भएका सम्पदाहरूमा नौ तले दरबारको माथिल्लो चार तला, काष्ठमण्डप, माजुदेवल, कृष्ण मन्दिर (च्यासिंगदेग), दस अवतार नाच देखाउने त्रैलोक्यमोहन नारायण मन्दिर, प्रताप मल्लको सालिक (प्रतापध्वज), लक्ष्मीनारायण मन्दिर, विश्वम्भरेश्वर मन्दिर, कागेश्वर मन्दिरको माथिल्लो तला, तलेजु प्रवेशद्धारको शिव मन्दिर, देगुतलेजुको कौसीभन्दा मुनिको भाग, विष्णु मन्दिर, भगवती मन्दिर (वसन्तपुर कालिका मन्दिर), महादेव मन्दिर, दसैंघरको शिव मन्दिर (जसबाट नागपोखरीमा समेत क्षति), ढुकुटीको चारवटा सेन्ट्री, लौहचोकको भक्तपुर टावर रहेका छन्। 
महाभूकम्पमा परी ललितपुरमा हरिशंकर मन्दिर, चारनारायण मन्दिर, मणिमण्डप सोह्रखुट्टे पाटी, योगनरेन्द्र मल्लको सालिक, सोठ टोलमा रहेको राधाकृष्ण मन्दिर र गाबहालको कृष्ण मन्दिर पनि पूर्ण रूपमा ध्वस्त भएका छन्। 
 
भक्तपुरमा भने लौह चोकको भक्तपुर टावर, चाँगुनारायण मन्दिरको किलेश्वर महादेव मन्दिर, सोही स्थानको अमात्य सत्तल र चारैतिरका सत्तल पूर्ण रूपमा ध्वस्त भएका छन्।
 
ऐतिहासिक चाँगुनारायण मन्दिरको चारैतिर चर्केकर भत्कने अवस्थामा पुगेको छ भने वरपरका सबै सत्तल अधिकांश भत्किएका छन्। सत्तल भत्केर छिन्नमस्ता मन्दिरका पुजारी प्रचण्ड कर्माचार्यकी आमा पुरिएर मृत्यु भएको थियो। 'कुनै पनि निकायले मन्दिर र सत्तल भत्केकोबारे चासो देखाएका छैनन्' चाँगुनारायणका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले अन्नपूर्णसित भने।
काठमाडौंमा गद्दी बैठक, नगरा घर, हनुमान ढोका दरबारको पूर्वी र दक्षिण लङ, नौतले दरबारसँगैको भवन, सुन्दरी चोक, मोहनकाली चोकका अधिकांश भागहरू, नासल चोकको पश्चिम दक्षिणको लङ, त्रिभुवन संग्रहालय भवन, पञ्चमुखी हनुमान, आगांछे मन्दिर, मूलचोकको दक्षिणी लङमा आंशिक क्षति भएको छ भने तलेजु मन्दिरको गजुर खसेको छ।
 
पशुपति क्षेत्रका विश्वरूप मन्दिर, सोको पूर्वतिरका पार्टी र उत्तरतर्फका सत्तलहरू, गुहेश्वरी मन्दिर, जयबागेश्वरी मन्दिर, किँरातेश्वर सत्तल, आर्यघाटको सेतो शिवालय, पञ्चदेवल, जितजंग प्रकाशेञ्चरको मन्दिर र सत्तल, शंकराचार्य मन्दिर र आश्रम, महास्नान घर, शंखनारायण सत्तल, मृत्युञ्जय महादेव मन्दिर, ताम्रेश्वर महादेव मन्दिर, गोरखनाथ मन्दिर, भण्डार घर, चन्द्रेश्वर सत्तल, राम मन्दिर, लक्ष्मीनारायण मन्दिर, पुलपारीको घाट पसल भएको सत्तल, अनन्तनारायण मन्दिर र मूर्ति, पञ्चगणेश, भष्मेश्वर चोकका तीन शिवालय र उदासी अखडा आंशिक रूपमा क्षतिग्रस्त भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। 
स्वयम्भूको अनन्तपुर, शान्तिपुर, प्रतापपुरको जग, देवधर्म महाविहार र मुख्य चैत्य चर्किएका छन् भने आसपासका थुप्रै निजी घर ध्वस्त भएका छन्। यसैगरी काठमाडौंकै तलेजु मन्दिर, कुमारी घर, महाविष्णु मन्दिर, शिवपार्वती मन्दिर र कविन्द्रपुर सत्तल पनि चर्किएका छन्।
 
भक्तपुरको चाँगुनारायण मन्दिर चर्किएको छ भने छेउको सेतो गुम्बा ध्वस्त भएको छ। भक्तपुर दरबार क्षेत्रका न्यातपोल मन्दिर, केदारनाथ मन्दिर, बत्सला मन्दिर, केदारनाथ मन्दिर, लालबैठक, हरिशंकर सत्तल र फसिदेग पनि चर्किएका छन्। 
 
ललितपुरस्थित चर्किएका मन्दिर, मठ र सत्तलहरूमा चारनारायण मन्दिर, शंकरनारायण मन्दिर, मूलचोकको तलेजु मन्दिर, सुन्दरी चोक, शंखमूलस्थित जगतनारायण मन्दिर, बागमती किनाराका मन्दिर र सत्तलहरू र थापाथलीस्थित हेमहिरण्य मन्दिर रहेका छन्। 
 
विभागका महानिर्देशक दाहालले विश्व सम्पदामा सूचीकृत भएर पूर्णरूपमा ध्वस्त भएकादेखि चर्किएका सम्मका सबै सम्पदाबारे जानकारी गराइसकिएको बताए। उनले भने, 'युनेस्कोले आवश्यक दक्ष जनशक्तिका साथै आपतकालीन सहयोग सहयोग गर्ने जानकारी दिएको छ।'
 
हनुमानढोका दरबार हेरचाह अड्डाकी प्रमुख सरस्वती सिंहले हनुमानढोका क्षेत्रका सम्पदाहरू कतिपय चिराचिरा परेर पल्टिन लागेको बताइन्।
पल्टिन लागेका र अन्य धराप सम्पदाहरूलाई ढाल्नु पर्ने बताउँदै उनले भनिन्, 'पृथ्वीनारायण शाहले उपत्यका विजय गरिसकेपछि नौ तले दरबार बनाएका थिए, ९० सालको महाभूकम्पमा भत्किएर जुद्ध शमशेरले पुननिर्माण गरेको माथिल्लो चार तला यसपटक खसेको हो।
 
'उनले नासल चोकभित्र जान सकिने अवस्था नरहेको पनि जानकारी दिइन्। विभागले यी सबै संरचना पुन: निर्माण गर्न सातदेखि १० वर्षसम्म लाग्ने जनाएको 
छ I 
(अन्नपुर्ण पोष्टबाट साभार)

लोकप्रिय समाचार