Thursday, July 16, 2015

ढाड दुख्ने कारणहरु र ढाड दुखाई बाट छुटकारा पाउने तरिका

जीवनमा कहिल्यै पनि ढाड नदुखेको मानिस प्रायः कमै हुन्छन् । केही नभएको व्यक्तिलाई पनि एक्कासि निहुरिँदा वा केही काम गर्दा चसक्क भए जस्तो हुने र त्यसपछि ढाडको दुखाइ सुरु हुन्छ । प्राय  ढाड दुख्ने व्यक्तिहरू सुरुको अनुभव यसरी नै सुनाउँछन् ।
हाम्रो जीवनशैली, उठाइ, बसाइको तरिका, कम्प्युटर चलाइ, शरीरको तौल आदि विभिन्न कारणले ढाड दुखाइमा असर पार्छ । एक्कासि ढाडको दुखाइबाट पीडित भइसकेपछि त्यो दुखाइ कहिल्यै पनि बिर्सिन सकिँदैन । ढाडको दुखाइ एक्कासिमात्रै हुँदैन, लामो समयसम्म बिस्तारै पनि हुन्छ । यसरी अलिअलि दुख्ने ढाड दुखाइले हामीलाई पछि हुनसक्ने कठोर दुखाइको संकेत दिइरहेको हुन्छ । तर प्रायः मानिस ढाड दुख्दादुख्दै पनि हिँडिरहेका हुन्छन् र पछि अचानक थला पर्छन् ।

ढाडको दुखाइको मतलब हो, मांसपेशीहरू थकित हुनु, मांसपेशीहरूलाई आराम नपुग्नु । ‘यस्तो बेलामा विशेष गरी एक्कासि हुने दुखाइमा सबैभन्दा ठूलो कुरा हो, आराम’, अमेरिकाका हाडजोर्नी विशेषज्ञ एडवार्ड अब्राहम भन्छन्, ‘धेरैजसो अवस्थामा त वास्तवमा आराममात्रै एउटा औषधी हुन सक्छ र दुखाइबाट मुक्त हुन सकिन्छ ।’ एकदुई दिन पूर्ण आराम गर्नु उत्तम हुन्छ । तर, सातआठ दिनसम्म हलचल नगरी ओछ्यानमा सुत्नुचाहिँ आवश्यक पर्दैन । विभिन्न अनुसन्धानले के देखाएका छन् भने दुईतीन दिन आराम गरेपछि दुखाइ केही कम हुन्छ र हिँडडुल र साधारण काम गर्नु उचित हुन्छ । दुईतीन दिनपछि दुखाइ पूर्णरूपमा हराउनचाहिँ हराउँदैन । पूर्णरूपमा दुखाइ ठिक हुन छ हप्ताजति लाग्न सक्छ ।

डाक्टरकहाँ जानैपर्ने आकस्मिक अवस्था:

ढाड दुख्दा अन्य लक्षण, जस्तो ज्वरो आउने, पेट दुख्ने, छाती दुख्ने र सास फेर्न गाह्रो हुने भयो भने ।
ढाड दुखेपछि दुई दिन आराम गर्दा पनि दुखाइ कम नभएमा ।
औषधि खाएर पनि ढाडको दुखाइ ठिक नभएमा ।
ढाडको दुखाइ खुट्टा र घुँडामा स¥यो भने पनि डाक्टरकहाँ जानुपर्छ । कहिलेकाहीँ मूत्रनलीको संक्रमण वा मृगौलाको समस्या हुँदा पनि ढाड दुख्छ ।

चिसो र तातो सेकाइ:
दुखाइको बारेमा अध्ययन गर्ने क्यानेडेली अनुसन्धानकर्ता रोनाल्ड मेजाल्क भन्छन्, ‘एक्कासि भएको ढाड दुखाइमा चिसो राख्दा केही सन्चो हुन्छ । बरफका टुक्रालाई सूती कपडामा पोको पारेर बिस्तारै दुखेको ठाउँमा सातआठ मिनेटसम्म मसाज गर्नुपर्छ । यसले मांसपेशीमा भएको तनाव केही हट्छ ।’ यो एकदुई दिन गर्न सकिन्छ । त्यसपछि तातो पानीको सेकाइ राम्रो हुन्छ । जर्जियाको एटलान्टामा फ्राइड मेडिकल क्लिनिकका अनुसन्धानकर्ता मिल्टन फ्राइडले तातो पानीको बोतलले पनि सेक्न सकिने बताएका छन् ।

कुनै बाक्लो सूतीको कपडालाई तातो पानीमा भिजाएर निचोरेर ढाडमा फैलाउन पनि सकिन्छ । यसो गर्दा घोप्टो परी सुत्नुपर्छ । अनि तातो रुमालको पट्टी राखेर कसैले केही बेर थिचेर राख्नाले तातोले गर्दा मांसपेशीको तनाव कम हुन्छ ।

व्यायाम:
दुखाइ केही कम भएपछि साधारण व्यायाम गर्नु उचित हुन्छ । जस्तो, कुनै ठाउँमा बसेर घुँडालाई आफूतिर खुम्च्याउने र पुनः तान्ने । यस्तो गर्दा मासंपेशीका तनाव कम हुन जाने
प्रक्रिया छिटो हुन्छ । तर यो व्यायाम दैनिक रूपमा गर्नुपर्छ । ढाड दुख्नबाट बच्न दैनिक जीवनमा गरिने केही साधारण व्यायामहरू उपयुक्त हुन्छन् ।

औषधि:
दुखाइ कम गर्ने औषधिहरू प्रयोग गर्दा दुखाइ कम हुनुको साथै सुन्निने प्रक्रिया पनि कम हुन्छ । यसले दुखाइ छिटो ठिक हुन्छ । तर, यस्ता औषधि प्रयोग गर्दा पेटमा घाउ भएका व्यक्तिहरूले डाक्टरको सल्लाहअनुसार औषधि लिनु राम्रो हुन्छ । दुखाइ कम गर्ने धेरै जसो औषधि प्रायः खाना खाएपछि खानुपर्ने हुन्छ ।
(स्वास्थ्य समाचार साइट बाट)

No comments:

Post a Comment

लोकप्रिय समाचार