Thursday, July 9, 2015

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का अन्तरास्ट्रिय ब्याटिङ वरीयतामा ६४ औं स्थानमा


एजेन्सी - नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का ट्वान्टी-२० अन्तर्राष्ट्रिय ब्याटिङ वरीयता क्रममा ६४ औं स्थानमा पुगेका छन् । यो नेपाली खेलाडीको वरीयतामा सवैभन्दा ठुलो फडको हो ।

गत वर्ष विश्व ट्वान्टी-२० मा देखाएको प्रर्दशनको आधारमा शरद भेषावकर वरीयताको शीर्ष सय भित्र छिर्ने नेपालको पहिलो ब्याट्सम्यान बनेका थिए । शरद त्यत्ति खेर ७६ औं स्थानमा थिए । शरदलाई उछिन्दै पारस वरीयताको माथिल्लो स्थानमा पुग्ने नेपाली खेलाडी बनेका हुन् ।

शरद ८१औं स्थानमा झरेका छन् । एक सय वरीयता भित्र पर्ने नेपालका अर्का खेलाडी ज्ञानेन्द्र मल्ल हुन् । उपकप्तान ज्ञानेन्द्र ८६ औं स्थानमा छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषदका अनुसार पारसको ३ सय ३८, शरदको २ सय ५० र ज्ञानेन्द्रको २ सय ३३ रेटिङ अंक छ ।

नेदरल्यान्ड्ससँग अघिल्लो महिना भएको चार ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलापछि पारसको वरीयतामा स्थान माथि उक्लेको हो । नेपालले शृंखला ३-१ ले गुमाए पनि पारसले ११७.०९ को स्ट्राइक रेटमा १ सय ३७ रन बनाएका थिए । शृंखलामा नेपालबाट म्यान अफ द सिरिजमा चुनिएका पारसले अन्तिम खेलमा ५४ रन बनाएका थिए । यो उनको पहिलो र नेपाली खेलाडीको ट्वान्टी-२० अन्तर्राष्ट्रियमा दोस्रो अर्धशतक हो ।

बलिङ वरीयतामा वसन्त रेग्मी शीर्ष सय भित्र पर्ने नेपालको पहिलो खेलाडी बनेका छन् । पछिल्लो वरीयतामा उनी ८३औं स्थानमा समेटिएका छन् । उनको ३ सय ४२ रेटिङ अंक छ । नेदरल्यान्ड्ससँगको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा वसन्तले ५ विकेट लिएका थिए । वसन्तले नेपालबाट सर्वाधिक ८ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल्नेक्रममा १० विकेट लिइसकेका छन् ।

No comments:

Post a Comment

लोकप्रिय समाचार