Friday, July 17, 2015

दक्षिण भारतीय तलेगु फिल्म "बाहुबली" ले बलिवुडका सबै फिल्मको रेकर्ड तोड्दै चमत्कारिक रेकर्ड बनाउदै

दक्षिण भारतीय फिल्म दर्शकका लागि एसएस राजामौली आफैंमा एक बाहुबली निर्देशक हुन् । यतिबेला उनको फिल्म ‘बाहुबली  द बिगिनिङ’ ले पूरा भारत हंगामा मच्चाइरहेको छ । रेकर्डमाथि रेकर्ड थपिरहेको छ । रिलिजको पहिलो दिन नै अहिलेसम्मकै सर्वाधिक ५० करोड भारु कलेक्सन गरेर बलिउडलाई समेत माथ गरिदिएको तेलुगु फिल्मको लागत पनि भारतीय फिल्मकै अहिलेसम्मकै धेरै २ सय ५० करोड भारु रहेको छ ।

जबकि सप्ताहन्तको तीन दिनमै फिल्मले झन्डै डेढ सय करोड भारु उठाइसकेको छ । फिल्म ‘बाहुबली’ को चमत्कारिक सफलतापछि पुन: एकपटक निर्देशक राजामौली चर्चामा आएका छन् । लगातार ब्लकबस्टर्स हिट फिल्म दिंदै आएका उनलाई नै यतिबेला बाहुबली निर्देशक मान्न थालिएको छ । दक्षिण भारतीय कलाकार प्रभास, राणा डग्गुबाती, अनुष्का शेट्टी, तमन्ना भाटिया जस्ता कलाकारलाई लिएर उनले बलिउडको हेजेमोनी तोडिदिएका छन् ।

खान, कपुर वा देवगनहरूको स्टारडमलाई समेत ठाडो चुनौती दिएका छन् । आखिर राजामौली को हुन् त ? राष्ट्रिय अवार्ड विजेता ४१ वर्षीय राजामौली मुख्यत: तेलुगु फिल्ममा सक्रिय छन् । उनले उक्त अवार्ड पाएको फिल्म ‘इगा’ लाई हिन्दीमा ‘मख्खी’ नाममा डब गरिएको थियो । ‘इगा’ मा सेन्सेसनल रिभेन्ज लभस्टोरी देखाएका राजामौली आफूलाई विधा वा श्रेणीमा बाँध्न रुचाउँदैनन् ।

उनै राजामौलीले ‘विक्रमार्कुडु’ र ‘मर्यादा रमन्ना’ जस्ता एक्सन फिल्म पनि बनाएर वाहवाही बटुले । पछि ‘विक्रमार्कुडु’ लाई रिमेड गरेर बनाइएको हिन्दी फिल्म ‘राउडी राठौर’ र ‘मर्यादा रमन्ना’ को रिमेड ‘सन अफ सरदार’ ले बलिउड बक्सअफिसमा समेत तहल्का पिटेका थिए । तेलुगु टेलिभिजनका लागि साबुनको विज्ञापन बनाएर निर्देशनको थालनी गरेका राजामौली नै हुन्, जसले पछि ‘मगधिरा’ जस्तो ब्लकबस्टर्स फिल्म दिए । ‘मगधिरा’ तेलुगु फिल्म इतिहासमै सर्वाधिक कमाइ गर्ने फिल्ममा गनिन्छ ।

यतिबेला भने ‘बाहुबली : द बिगिनिङ’ ले नै राजामौलीका सबै रेकर्डमा सुधार गरिदियो । अझै फिल्मको दोस्रो भाग आउन बाँकी नै छ । तर दर्शकले प्रिक्वेललाई नै अत्यधिक रुचाइसकेका छन् । यतिबेला ‘बाहुबली : द बिगिनिङ’ लाई हलिउड फिल्मसँग दाँज्न थालिएको छ । राजसंस्था प्राप्तिका लागि दुई राजकुमार भाइबीचको कलहलाई विषयवस्तु बनाएको ‘बाहुबली’ ले यतिबेला अनलाइन रेटिङमा हलिउड इपिक ‘३००’ लाई समेत पछारेको रिपोर्ट आइरहेको छ ।

इन्टरनेट मुभी डाटाबेस (आईएमडीबी) ले ‘बाहुबली : द बिगिनिङ’ लाई १० मा ९.४ रेटिङ दिएको छ । ‘बाहुबली’ को बक्सअफिस सक्सेसलाई लिएर बीबीसीले समेत कारणहरू खोतल्दै एउटा रिपोर्ट बनाएको थियो । जसको पहिलो आधार हाइपलाई मानिएको छ । हुन पनि निर्माण पक्षले फिल्मको पोस्टर नै ५१ हजार स्क्वायर फिटको बनाएर विश्वमै अहिलेसम्मकै ठूलो पोस्टर भन्ने रेकर्डसमेत राखेका थिए ।

त्यसबाहेक फिल्मले उठाएको पौराणिक युद्ध कथा सफलताको अर्को पाटो हो । ठूलो क्यानभास, चमत्कारिक स्पेसल इफेक्ट्स, चुस्त पटकथा र जबर्जस्त अभिनय नै फिल्म सफलताको कडी हो । जबर्जस्त ओपनिङ गरेको फिल्मले एक सातापछि नै रिलिज डेट राखेको सलमान खान अभिनित फिल्म ‘बजरंगी भाइजान’ को रिलिजलाई असर गर्ने पक्का भएको छ । ‘बाहुबली : द बिगिनिङ’ को सफलताले गर्दा यतिबेला सलमानलाई पर्याप्त हल नपाउने भएपछि मनमा चिसो पसेको छ ।

फिल्म बजार ठूलो भए तापनि टेक्नोलोजीमा हलिउडभन्दा सधैं पछि पर्ने बलिउडले यतिबेला साउथ फिल्मबाटै भए पनि नाक ठाडो पार्न पाएको छ । ‘बाहुबली’ मा बनाइएको चमत्कारिक साम्राज्य, साँढेसँगको डरलाग्दो भिडन्त र श्वास नै रोक्ने खालका पर्वतका खोंचमा गरिएका महायुद्धका स्पेसल इफेक्ट्स पनि दर्शकलाई हलसम्म तान्ने हतियार त हुन् नै, हलिउडको दाँजोमा पुर्याउने गरी मिहिनेत पनि उत्तिकै गरिएको छ ।

फिल्ममा ४० मिनेट लामो युद्ध राखिए तापनि दर्शकलाई पट्यार नलाग्नु यसैको करामत मान्न सकिन्छ । यी सबैका लागि निर्देशक राजामौली असल भागेदार छन् । रिलमा प्रभासलाई बाहुबली देखाए पनि वास्तविकतामा भने निर्देशक राजामौली बाहुबली देखिएका छन् । फिल्मका बारेमा बलिउड हिरो बरुण धवनले भनेका छन्, ‘बाहुबली केवल दक्षिण भारतीय फिल्म उद्योगको मात्रै सफलता नभई भारतीय फिल्म उद्योगकै सफलता हो ।’

दक्षिणप्रति अनुदार देखिँदै आएको बलिउड पनि यतिबेला भने ‘बाहुबली’ को विश्वव्यापी सफलतासामु झुकेको मात्रै छैन, भारतलाई नै विश्व फिल्म इतिहासमा चिनाउन सफल भएकोमा दंग परेको छ । अमेरिकी बक्सअफिसमा ‘बाहुबली  द बिगिनिङ’ ले विकेन्डमा मात्रै ५० लाख डलर कमाएर यसअघि आमिर खान अभिनित ‘पीके’ ले बनाएको ३१ लाख डलर कमाइको रेकर्डसमेत तोडिदिएको हो ।

(From ekantipur news)

No comments:

Post a Comment

लोकप्रिय समाचार