Thursday, February 26, 2015

"'मेरो योगदानको उचित मूल्याङ्कन भएको छ" :संगीना वैद्य

   
   सरकारले तेक्वान्दो खेलाडी  संगीना  वैद्य
लाई  
१५ लाख रुपैयाँ दिने  निर्णय गरेको छ । बिहीबार  बसेको मन्त्रिपरिषद्को बैठकले संगीनालाई  सो रकम दिने निर्णय गरेको हो।सरकारको निर्णयको स्वागत  गर्दै  संगीनाले आफ्नो योगदानको मूल्यांकन  भएको प्रतिक्रिया दिएकी छन् । 

'मेरो योगदानको उचित मूल्याङ्कन भएको छ, यसले नयाँ खेलाडीलाई थप हौसला दिनेछ,' सरकारले सम्मानस्वरुप १५ लाख दिन गरेको निर्णयबाट खुसीको कुनै सीमा नरहेको बताउँदै चर्चित तेक्वान्दो खेलाडी सङ्गीनाले भनिन् । 
 
करिव डेढ दशक खेलाडीको रुपमा देशको सेवा गरेकी सङ्गीनाले सरकारको यो कदमले सबै खेलाडीलाई हौसला प्रदान गरेको बताइन् ।  ३६ वर्षीया सङ्गीनाले दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको प्रतिनिधित्व गर्दै दुईवटा स्वर्ण पदक जितेकी थिइन् ।  
 
उनको नाममा एसियाली च्याम्पियनसीपमा स्वर्ण जित्ने एकमात्र नेपाली खेलाडीको रेकर्ड पनि छ । 
 
१६ वर्षको उमेरदेखि देशको प्रतिनिधित्व गरेकी सङ्गीनाले पाँच वर्ष अघि खेलाडीको रुपमा सन्न्यास लिएकी थिइन् । हाल राष्ट्रिय प्रशिक्षकको रुपमा उनी कार्यरत छिन् । सङ्गीनाले प्राप्त रकमलाई सही सदुपयोग गर्दै व्यक्तिगत आवश्यकता परिपूर्ति गरी तेक्वान्दोकै योगदानमा लगाउने बताइन् ।

'साँच्चै भन्नुपर्दा तेक्वान्दो बाहेकको पेशा गर्ने कुरा म सोच्न पनि सक्तिनँ,' उनले खेलप्रतिको लगाव देखाउँदै भनिन् । 
 
ओलम्पिक प्रतियोगितामा प्रतिस्पर्धाबाट छनोट हुनेमध्ये थोरै नेपाली खेलाडीमा पर्ने सङ्गीनाले पछिल्लो समयमा खुट्टामा भएको समस्याका कारण महत्वपूर्ण प्रतियोगिताहरु गुमाउनुपरेको थियो ।

No comments:

Post a Comment

लोकप्रिय समाचार