Thursday, October 30, 2014

नेपालले जित्यो डिभिजन ३ क्रिकेटको उपाधि III युगान्डा ६२ रनले पराजित


    आइसीसी विश्व क्रिकेट लिग डिभिजन ‘थ्री’को उपाधि नेपालले जितेको छ । मलेसियामा भएको प्रतियोगिताको फाइनलमा अफ्रिकी प्रतिद्धन्द्धी युगान्डालाई ६२ रनले हराउँदै नेपालले दोस्रो पटक उपाधि जितेको हो ।

किन्रारा एकेडेमी ओभल मैदानमा विहीबार सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले अन्तिम ओभरमा अलआउट हुनुपूर्व  
२ सय २३ रन जोड्यो ।नेपालका तीन खेलाडिले अर्धशतक बनाए । सागर पुनले ६४, नरेश बुढाऐरले ५१ तथा ज्ञानेन्द्र मल्लले ५६ रन जोडेको इनिङमा पुछारका ब्याट्सम्यानहरुले भने खुलेर ब्याटिङ गर्न सकेनन् ।

पारस खड्काले १३ रन बनाए भने अन्य सबै खेलाडी दोहोरो अंक जोड्न नपाउँदै पभेलियन फर्किए । बलिङतर्फ युगान्डाका रोजर मुकासा एक्लैले ६ विकेट लिए ।

जवाफमा २ सय २४ रनको लक्ष्य पछ्याएको युगान्डा ४५औं ओभरमा १ सय ६१ रनमै समेटियो । नेपालका भुवन कार्कीले ४ विकेट लिए भने सोमपाल कामीले २ विकेट झारे ।


यो जितसँगै नेपालले डिभिजन ‘थ्री’को पहिलो खेलमा युगान्डासँग भोगेको हारको बदला समेत लिएको छ । नेपालले आइसीसी विश्व क्रिकेट लिग डिभिजन ‘थ्री’को उपाधि जितेको यो दोस्रो अवसर हो ।

यसअघि सन् २०१३ मा बर्मुडामा भएको फाइनलमा युगान्डालाई नै ५ विकेटले हराउँदै नेपाल पहिलो पटक डिभिजन ‘थ्री’ च्याम्पियन बन्दै डिभिजन ‘टु’मा उक्लिएको थियो ।

तर, डिभिजन ‘टु’को प्रतियोगिता हुन नपाउँदै सन् २०१५ मा हुने विश्वकपको लागि न्यूजिल्यान्डमा सम्पन्न छनोट प्रतियोगिता विश्व क्रिकेट लिग च्याम्पियनसिपमा पुछारको दुई स्थानमा रहेपछि नेपाल र युगान्डा डिभिजन ‘थ्री’मा झरेका थिए । यो पटक दुबै टोलीलाई डिभिजन ‘टु’मै रहने वा त्योभन्दा माथि उक्लने अवसर मिलेको छ ।

डिभिजन ‘टु’ प्रतियोगिता आगामी जनवरी १७ तारीखबाट नामिबियामा हुनेछ । उक्त प्रतियोगितामा नेपाल र युगान्डासहित केन्या, नामिबिया, नेदरल्यान्ड्स र क्यानडा सहभागी हुनेछन् । 

No comments:

Post a Comment

लोकप्रिय समाचार