Friday, May 29, 2015

थाइल्यान्डको हुलाकले नेपालका भूकम्पपीडितलाई सहयोग जुटाउन नेपालसम्बन्धि हुलाक टिकट सार्वजनिक

 थाइल्यान्डको हुलाकले नेपालका भूकम्पपीडितलाई सहयोग जुटाउन नेपालसम्बन्धि टिकट सार्वजनिक गरेको छ । त्यहाँको हुलाकले बैंककस्थित फिलाटेलिक म्युजियममा भूकम्प जानुअघि नेपालमा भएका खेलकुद र दैनिक जीवनका तस्बिर समेटिएका २० थरी टिकट सार्बजनिक गरेको गैरआवासिय नेपाली संघ (एनआरएनए) थाइल्यान्डका अध्यक्ष खगेन्द्रराज ढकालले जानकारी दिए । 

ती टिकटमा समाबिस्ट तस्बिर राष्ट्रिय कलाकार चत्चवान्तिपाकोर्न, अवार्ड बिजेता लेखक जिरानान पित्प्रीचा र केही चर्चित स्वतन्त्र फोटोग्राफरले खिचेका हुन् । ती हुलाक टिकट प्रकाशन गर्न चर्चित क्यामेरा उत्पादक क्याननले सहयोग गरेको थियो । 

कार्यक्रमका विशिष्ट अतिथिका रुपमा बोलाइएका थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारी, एनआरएनए अध्यक्ष खगेन्द्रराज ढकाल, क्याननका अध्यक्ष एलेन चाङलगायतले ती हुलाक टिकट सार्बजनिक गरेका थिए । कार्यक्रममा एनआरएनए थाइल्यान्डका पदाधिकारी, क्याननका पदाधिकारी, फोटोग्राफरहरु, कलाकारहरु, लेखक र पत्रकारहरु ठूलो संख्यामा उपस्थित रहेको एनआरएनए अध्यक्ष ढकालले टेलिफोनमा जानकारी दिए । 

फिलाटेलिक बजार विभागका कार्यबाहक उपाध्यक्ष विबून सेरेचाइपोर्नका अनुसार ‘थाइल्यान्ड पोस्ट फर नेपाल’ नाम दिइएको २० वटा टिकटको एक संग्रह १ सय २० थाइ भाट (करिव ३ सय ६३ रुपैयाँ) मा विक्री गरिने छ ।  त्यसबाट उठेको आधा रकम नेपालका भूकम्पपीडितलाई थाइ रेडक्रसमार्फत उपलब्ध गराइने छ । 

त्यही कार्यक्रममा ‘नेपालको सम्झना’ नामक फोटो प्रदर्शनीसमेत आयोजना गरिएको  थियो । प्रदर्शनीमा महाभूकम्पले विनास गर्नु एक महिनाअघि चर्चित थाइ फोटोग्राफर चिरानाम पिट्प्रिचालगायतले खिचेका चस्बिर राखिएका थिए । 

एनआरएनए थाइल्यान्डका अध्यक्ष ढकालले नेपालीको पीडामा मलम लगाउन थाइल्यान्डमा यस प्रकारको ऐतिहासिक घटना भएकामा खुसी ब्यक्ति गरे । उनले कार्यक्रममा नेपाललाई चिनाउने र पीडितलाई सघाउने गरी हुलाक टिकट प्रकाशन गरेर गुन लगाएको भन्दै थाइल्यान्डको हुलाक सेवा र क्यानन मार्केटिङलाई नेपालीकातर्फबाट धन्यवाद दिए ।

No comments:

Post a Comment

लोकप्रिय समाचार