Friday, May 29, 2015

आफ्ना विरोधीहरुको मुख थुन्दै विश्व फुटबल महासंघ (फिफा) को अध्यक्षमा पुन: सेप ब्लाटर निर्वाचित

 विश्व फुटबल महासंघ (फिफा) को अध्यक्षमा पुन: सेप ब्लाटर निर्वाचित भएका छन् । आफूमाथि लागेका भ्रष्टाचार र अनियमितताका आरोपको खण्डन र आफ्ना विरोधीहरुको मुख थुन्दै उनी पुन: फिफाका अध्यक्ष भएका हुन् ।

स्वीटजरल्यान्डको ज्यूरिचमा शुक्रबार राति भएको वार्षिक बैठकमा प्रतिस्पर्धी जोर्डनका राजकुमार अली बिन हसनले नाम फिर्ता लिएपछि ब्लाटर पाँचौ कार्यकालका लागि निर्विरोध फिफाको अध्यक्षमा चुनिएका हुन् ।

फस्ट राउन्डको भोटिङमा ब्लाटरले १३३ र प्रिन्स अलीले ७३ भोट पाएका थिए । सेकेन्ड राउन्डको भोटिङमा राजकुमार अलीले नाम फिर्ता लिएपछि अझै चार वर्ष विश्व फुटबलमा ब्लाटरको एकछत्र राज हुने भएको हो ।

ब्लाटरले अर्को कार्यकाल निर्वाचित भइरहँदा युरोपियन फुटबलका प्रमुख मिचेल प्लाटिनीबाट कडा धम्की बेहोर्नुपरेको छ । उनले बिहीबारमात्रै युरोपियन राष्ट्रले विश्वकप नै बहिष्कार गर्नेसम्मका चेतावनी दिएका थिए ।

आफू निर्वाचित हुनुअघि अमेरिकासँगको मिलेमतोमा आफूविरुद्ध उभिएका उपाध्यक्षसहित दक्षिण अमेरिकन फुटबलका पदाधिकारी तथा फिफाका सदस्यहरुलार्इ नियोजितरुपमा पक्राउ गरी फसाएको आरोप ब्लाटरमाथि लागेको छ ।

सन् १९९८ देखिन निरन्तर फिफाको नेतृत्वमा रहेका उनले आगामी चार वर्ष फिफाको नेतृत्व गर्ने क्रममा फिफामा बढ्दो पैसाको चलखेल र भ्रष्टाचार तथा चारैतर्फबाट घेराबन्दीमा परेकाले धेरै कठिन यात्रा गर्नुपर्ने खेल विश्लेषकहरुले दाबी गरेका छन् ।
 
यसअघि उनीविरुद्ध उठ्ने घोषणा गरेका पोर्चुगलका चर्चित फुटबलर लुइस फिगो पनि अर्बौं पैसाको चलखेल गरी ब्लाटरले फिफालार्इ आफ्नो पेवा बनाएको भन्दै चुनावी मैदानबाट बाहिरिएका थिए । 

फिफा अध्यक्षमा निर्वाचित भएपछि ब्लाटरले आफूमात्रै सबैथोक नभएको बताउँदै एकआपसको विश्वासले फिफा अझै बलियो हुँदै जाने प्रतिक्रिया दिए । 'म पनि सबै कुरामा सर्वोत्कृष्ट छैन र अरु पनि सबै कुरामा सर्वोत्कृष्ट हुँदैनन्', ब्लाटरले भने, 'एकापसको विश्वास, सहयोग र आत्मविश्वासले हामी फिफालार्इ अझै बलियो बनाउँछौै ।'

No comments:

Post a Comment

लोकप्रिय समाचार