Saturday, May 30, 2015

मेस्सिको दुई गोलको सहायताले बार्सालाई सिजनको दोस्रो उपाधि

 
लियोनेल मेस्सीले जादुयी खेल देखाउँदै दुई गोल गरेपछि स्पेनिस क्लब बार्सिलोनाले सिजनको दोस्रो उपाधि जितेको छ ।

गएराति घरेलु मैदान क्याम्प नोउमा भएको कोपा डेल रेको फाइनल खेलमा बार्साले एट्लेटिको बिल्बाओलाई ३–१ ले पराजित गर्दै सिजनको दोस्रो उपाधि जितेको हो ।

उपाधिको ह्याट्रिक गर्ने दाउमा रहेको बार्साले यसअघि स्पेनिस ला लिगाको उपाधि उचालिसकेको छ । अब उसले जुन ५ मा च्याम्पियन्स लिगको उपाधिका लागि इटालियन क्बल युभेन्ट्ससँग बर्लिनमा भीडन्त गर्नेछ ।
बार्सालाई कोपा डेल रेको उपाधि दिलाउने क्रममा मेस्सीले खेलको २० औं मिनेटमा ड्यानी अल्भेसको पासमा खाता खोले ।

त्यसपछि घाइते भएर २ खेलपछि  मैदान छिरेका लुइस स्वारेजको पासमा ब्राजिलियन स्टार नेइमारले खेलको ३६ औं मिनेटमा अर्को गोल गरे ।

पहिलो हाफ २–० मा सकिएको अवस्थामा दोस्रो हाफको ७६ औं मिनेटमा पुनः अल्भेसकै पासमा मेस्सीले अर्को गोल थप्दै बार्सालाई उपाधिनजिक पुर्याए । बिल्बाओका लागि खेलको ७९ औं मिनेटमा विलियम्सले गोल गरेपनि उसले बार्सालाई उपाधिबाट रोक्न ढिला भइसकेको थियो ।

लुइस इन्रिकेको प्रशिक्षणमा रहेको बार्सा यो सिजन उत्कृष्ट फर्ममा छ । बार्सालाई तेहेरो उपाधि नजिक पुर्याउन मेस्सी एक्लैले निर्णायक भूमिका खेलिरहेका छन् । उनलाई साथ दिइरहेका स्ट्राईकरहरु स्वारेज र नेइमार पनि उत्कृष्ट फर्ममा रहेकाले बार्साले कलात्मक खेल पस्किरहेको छ ।

No comments:

Post a Comment

लोकप्रिय समाचार