Friday, September 5, 2014

नेपाल टेलिकमद्वारा 'फाईबर टु दि होम' सेवाको शुरुवात

नेपाल टेलिकमद्वारा आज शुक्रबार देखि उच्च क्षमताको ब्रोडव्यान्ड ‘फाइबर टु दी होम’ (एफटिटिएच) सेवा शुरु गरेको छ । यस सेवाको सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले उद्घाटन गर्नुभयो ।

सो अवसरमा सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले देशभरका सेवाग्राहीलाई गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

टेलिकमले आफ्नो प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्दै मुलुकका अन्य दूरसञ्चार सेवा प्रदायकहरूसँग खरो स्पर्धामा उत्रनु आजको आवश्यकता भएको मन्त्री रिजालले बताउनुभयो । सरकारले टेलिकमलाई अझ प्रतिस्पर्धी बनाउन चाहेको उहाँको कथन थियो ।

दूरसञ्चारका सबैखाले सेवालाई सर्वसुलभ, सस्तो र गुणस्तरीय तुल्याउन सूचना तथा सञ्चार मन्त्रालय लागिपरेको स्पष्ट गर्दै उहाँले नेपाल टेलिकमलाई अझ सबल र सुदृढ बनाउन उक्त संस्थानमा कार्यरत कर्मचारी पनि गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

टेलिकमका कर्मचारी आफ्नो दायित्वबाट विमुख हुन नहुने भन्दै उहाँले त्यस्ता कर्मचारीलाई कारबाही गर्न पनि आफू पछि नपर्ने चेतावनी दिनुभयो । इन्जिनियर नै सञ्चार सचिव र टेलिकमका प्रबन्ध निर्देशक भएका बेला टेलिकमको चौतर्फी उन्नयन र अत्याधुनिक प्रविधिको प्रयोगमा उक्त संस्था पछि पर्न नहुने उहाँको आशय थियो ।

सभापतिको आसनबाट नेपाल टेलिकमका अध्यक्ष समेत रहनु भएका सूचना तथा सञ्चारमन्त्रालयका कायममुकायम सचिव सुनिलबहादुर मल्लले नवीनतम प्रविधिको उपयोग गर्दै धेरैभन्दा धेरै जनतासामु सेवा पु¥याउन टेलिकमलाई आग्रह गर्नुभयो ।

अत्याधुनिक प्रविधि समयमै भित्र्याउन नसके पछि आइपर्ने अप्ठारालाई हृदयङ्गम गरी आफ्नो क्षमता बढाउन टेलिकमलाई अनुरोध गर्दै उहाँले पूर्वाधारयुक्त कम्पनी भएकाले उपलब्ध अवसरको उपयोग गर्न सुझाव दिनुभयो ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले सेवाग्राहीलाई स्तरीय सेवा प्रवाह गर्न कम्पनी लागिपरेको बताउँदै सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएका नवीनतम विकासलाई पछ्याउँदै अघि बढ्ने प्रण गर्नुभयो ।

परम्परागत तामाको तारको सट्टामा ग्राहकहरुको घरसम्म अप्टिकल फाइबर तानेर सेवा पुर्याइने यस फाइबर टु द होम सेवा मुलत सहरी क्षेत्रका ग्राहकलाई लक्षित गरी शुरु गरिएको टेलिकमले बताएको छ । पहिलो चरणमा दरबारमार्ग, कमललादी, काठमाडौं प्लाजा तथा जमल क्षेत्रमा सेवा सञ्चालन गर्ने र त्यसपछि उपत्यकाको ३१ स्थानमा सेवा सुरु हुने र उपत्यकापछि भरतपुर, पोखरा, वीरगंज, विराटनगर, बुटवलमा पनि यो सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको अनुसार यस फाइबर सेवामा भ्वाइस साथसाथै डाटा र अन्य भ्यालु एडेड सेवा समेत उपलब्ध हुनेछ र ग्राहकहरुले डाटा सेवाको सबैभन्दा उच्च क्षमताको सेवा प्रयोग गर्न सक्नेछन् ।१ देखि १ सय एमबिपिएससँगै आइपीमा आधारित भ्वाइस यस प्रविदी साथसाथै निकट भविष्यमा मल्टिमिडिया सेवा पनि प्रदान गर्ने कम्पनीले जनाएको छ।

विभिन्न प्याकेज र अवधिको आधारमा सेवा शुल्क तोकिएको यो सेवा सुन्धारा काउन्टरबाट प्रदान हुने टेलिकमले जनाएको छ।


No comments:

Post a Comment

लोकप्रिय समाचार