Wednesday, July 9, 2014

ब्राजिल हार्नुका मुख्य कारणहरु

  

स्टार खेलाडी नेमार विना नै २० औं संस्करणको विश्वकपको सेमीफाइनल खेल खेल्न घरेलु मैदानमा ओर्लदासम्म आयोजक ब्राजिल आफ्नो जीत सुनिश्चित भएकोमा ढुक्क थियो । तर उसको त्यो विश्वास प्रतिद्धन्दी जर्मनीले १० मिनेटसम्म पनि कायम रहन दिएन । किनभने खेल सुरु भएको ११ औं मिनेटमा पहिलो गोल गर्दै जर्मनीले आयोजक ब्राजिललाई मानसिक र नैतिक दबाब दियो ।

जर्मनीका लागि उसका भरपर्दा खेलाडी मुलरले गोल पोष्टको नजिकैबाट यस्तो शान्दार प्रहार गरे कि त्यसलाई ब्राजिलियन किपरले रोक्नै सकेनन् । एउटा गोल खाएर दबाबमा परेको ब्राजिलले २३ औं मिनेटमा फेरि अर्को गोल पनि खायो । त्यसपछि भने उसको मनोबल यति गिर्यो कि २३ देखि २९ मिनेटको सिर्फ ६ मिनेट भित्र मात्रै उसले चार गोल खायो । मध्यान्तर अगाडि ५–० गोलले पछि परेको ब्राजिल मध्यान्तरपछि थप दुई गोल खाएर ७–१ को इतिहासकै लज्जास्पद हार स्वीकार्दै जारी विश्वकपबाट बाहिरियो । ब्राजिलका लागि ९० औं मिनेटमा ओस्करले सान्त्वना गोल गरे पनि त्यसले ब्राजिलको हारमा चलेको समर्थकहरुको रुवाइलाई रोक्न सकेन ।

इतिहास र कीर्तिमान पनि खोसियो :

आफ्नै गृह मैदानमा यसरी हार स्वीकारेको ब्राजिलका लागि यो ३९ वर्षपछिको अर्को तीतो अनुभव थियो । यसभन्दा अगाडि उसले ३९ वर्ष अगाडि सन् १९७५ मा पाराग्वेसँग यसरी नै गृह मैदानमा हार भोगेको थियो ।

विश्वकपमा पाँच पटक विजेता बनेको ब्राजिलले एउटै म्याचमा पाँच गोल खाएको ७६ वर्ष पछि हो । यसभन्दा अघि सन् १९३८ को विश्वकपको पहिलो चरणमै ब्राजिलले पोल्याण्डको पाँच गोल खाएको थियो । तर पनि उक्त खेल ब्राजिलले नै ६–५ गोलले जितेको थियो ।

जारी प्रतियोगीताको सेमिफाइनलसम्ममा जर्मनीका मिरास्लोभ क्लोजले विश्वकपमा आफ्नो गोल संख्या १६ पुर्याएका छन् । योसँगै ब्राजिलका क्रिस्टियानो रोनाल्डोको १५ गोलको कीर्तिमान पनि उनले खोसेका छन् ।

ब्राजिल हार्नुका कारणहरु :

बढी आत्मविश्वास : कहिलेकाहीं बढी आत्मविश्वास हुनु पनि घातक हुन्छ भन्ने चरितार्थ भएको छ,ब्राजिलको यसपटकको सेमीफाइनल खेलमा गरेको प्रदर्शन र नतिजा हेर्दा । घरेलु मैदान,घरेलु समर्थक र विश्वव्यापी रहेको आफ्नो क्रेजका कारण ब्राजिल आफू जित्नेमा बढी नै आत्मविश्वासी थियो । त्यसैले उसले स्टार खेलाडी नेयमरको अभावमा टिमको पुनर्संरचना गर्न खासै चासो दिएन । त्यसले गर्दा खेलमा स्ट्राइकरको अभाव खड्किरह्यो ।

नेयमरमा मात्र निर्भर रहनु : विश्वकप शुरु नहुँदै ब्राजिलका प्रशिक्षकले भनेका थिए–यसपाली हामीले जित्नेछौं । किनभने हामीसँग नेयमर छन् । उनको यो अभिव्यक्तिबाटै थाहा हुन्छ कि ब्राजिलियन टिम नितान्त नेयमरसँग निर्भर थियो । त्यसैले उनै टिमको मेरुदण्ड खेल बाहिर रहनु परेपछि टिमको कन्तविजोग हुनु स्वभाविकै थियो ।

सन्तुलन गुमाउँनु: खेलको ११ औं मिनेटमै गोल खाएपछि ब्राजिलले एकाएक सन्तुलन गुमाउँदा इतिहासमै कलंकित पार्ने नतिजा स्वीकार्नुपर्यो । कतिसम्म भने पाँचौं गोल खाँदा ब्राजिलियन गोलकिपरले बललाई रोक्ने कोशिस पनि गरेनन् । मूढा झैं ठिंग उभिरहे उनी ।

स्थानीयको विरोध : मान्नुस् नमान्नुस्,जब घरभित्र नै अशान्ति हुन्छ भने जति राम्रो गर्न खोजे पनि अलच्छिनले छोड्दैन रे । यही धार्मिक अन्धविश्वास ब्राजिलको यो हारमा पनि लागू भएको छ । किनभने ब्राजिलमा विश्वकप आयोजनाको विषयमा स्थानीयहरुमा तीव्र असन्तुष्टि र विरोध जारी नै छ । कतिले त यो विश्वकप नै विथोल्नेसम्मका प्रयास गरेका थिए । तर बलियो सुरक्षा व्यवस्थापछि हच्किएका ती विरोधीहरुले ब्राजिलको हारका लागि कामना गरेका थिए । त्यसको केही मनोवैज्ञानिक असर केही खेलाडीहरुमा पनि नपरेको भन्न सकिन्न ।

यसका अलावा जर्मन खेलाडीहरुका तीख्खर प्रस्तुति,चुस्त प्रदर्शन र सन्तुलित टिम संयोजनका कारण पनि यसपटक आयोजक ब्राजिल जर्मनका अगाडि निरीह सावित भयो ।

No comments:

Post a Comment

लोकप्रिय समाचार